सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सन् २०२३ लाई फर्केर हेर्दा

सन् २०२३ : विश्व खेलकुदमा के–के भयो ?

शनिबार, १४ पुस २०८०, १९ : ४६
शनिबार, १४ पुस २०८०

काठमाडौँ । विश्व खेलकुदमा विभिन्न अमिट छाप छोड्दै सन् २०२३ हामीबाट बिदा हुने तयारीमा छ । यो एक वर्षको अवधिमा विश्व खेलकुदमा थुप्रै महत्त्वपूर्ण घटना भएका छन् । पुरुष एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता यही वर्ष सम्पन्न भएको छ भने महिला विश्वकप फुटबल पनि यही वर्ष सम्पन्न भएको छ ।

यो वर्ष विश्व खेलकुदका केही चर्चित अनुहारले हामीलाई छाडेर गएका छन् । विश्व फुटबलमा सधैँ युरोपियन क्लबहरुको वर्चस्व रहँदै आएकोमा यो वर्ष केही प्रभावशाली खेलाडीलाई भित्र्याएर अमेरिकी र साउदी व्यावसायिक लिगले पनि आफ्नो छुट्टै छाप छोडेको छ । यी र यस्तै अन्य केही चर्चित सन्दर्भमा केन्द्रित रहेर सन् २०२३ मा भएका विश्व खेलकुदका गतिविधिलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ । 

 

एक दिवसीय क्रिकेट विश्वकप : अस्ट्रेलियाले भारतलाई जिल्यायो

पुरुषतर्फ एक दिवसीय विश्वकप क्रिकेटको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना भएको थियो । भारतका विभिन्न १० सहरमा खेलाइएको प्रतियोगितामा १० वटा राष्ट्रले सहभागिता जनाएका थिए । 

प्रतियोगितामा भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान, इङ्ल्यान्ड, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्सले सहभागिता जनाएका थिए । प्रारम्भिक चरणमा सहभागी सबै टोलीले एक अर्कासँग एक–एक खेल खेलेका थिए । 

लिग चरणको अंक तालिकामा भारत पहिलो, दक्षिण अफ्रिका दोस्रो, अस्ट्रेलिया तेस्रो र न्युजिल्यान्ड चौथो हुँदै सेमिफाइनलमा पुगेका थिए । प्रारम्भिक चरणमा आयोजक राष्ट्र भारतले मात्र आफूले खेलेको नौवटै खेल जितेको थियो । प्रारम्भिक चरणमा दक्षिण अफ्रिका र अस्ट्रेलियाले सात–सात तथा न्युजिल्यान्डले पाँच खेल जितेका थिए ।

प्रतियोगिताको सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएका थिए । प्रतियोगिताको प्रारम्भदेखि नै भारतले उत्कृष्ट प्रदर्शन गरेकाले अधिकांश समर्थकले भारतले नै विश्वकपको उपाधि चुम्ने अनुमान गरेका थिए । तर, धेरैको अनुमान विपरीत फाइनलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराएको थियो । 

अस्ट्रेलियाले कीर्तिमानी रुपमा छैटौँ पटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमेको हो । अहमदाबादमा खेलिएको फाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो । 

१३औँ विश्वकपमा म्यान अफ दि सिरिजको पुरस्कार भारतका विराट कोहलीले पाएका थिए । उनले उक्त विश्वकपमा सर्वाधिक सात सय ६५ रन बनाएका थिए । उक्त विश्वकपमा अस्ट्रेलियाका ट्राभिस हेड र भारतका मोहम्मद शमी सबैभन्दा बढी म्यान अफ दि म्याचको पुरस्कार पाउने खेलाडी बनेका थिए । उनीहरूले तीन—तीन खेलमा म्यान अफ दि म्याचको पुरस्कार पाएका थिए । 

उक्त विश्वकपको एउटै पालीमा सर्वाधिक रन बनाउने टोली दक्षिण अफ्रिका बनेको थियो । दक्षिण अफ्रिकाले प्रारम्भिक चरणमा श्रीलंकाविरुद्धको खेलमा ५० ओभरमा पाँच विकेट गुमाएर चार सय २८ रन बनाएको थियो । एउटै पालीमा सबैभन्दा कम रन बनाउने टोली भने श्रीलंका बनेको थियो । श्रीलंकाले प्रारम्भिक चरणमा भारतविरुद्धको खेलमा १९.४ ओभरमा अलआउट हुनुअघि ५५ रनमात्र बनाउन सकेको थियो । 

उक्त विश्वकपमा रनका आधारमा सबैभन्दा ठुलो जित हासिल गर्ने राष्ट्र अस्ट्रेलिया थियो । अस्ट्रेलियाले प्रारम्भिक चरणको खेलमा नेदरल्यान्ड्सलाई तीन सय नौ रनको विशालअन्तरले हराएको थियो । विकेटका आधारमा सबैभन्दा ठुलो अन्तरको जित भने न्युजिल्यान्डले हासिल गरेको थियो । उदघाटन खेलमा साविक उपविजेता न्युजिल्यान्डले साविक विजेता इङ्ल्यान्डलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो । 

सबैभन्दा कम रनको जित भने अस्ट्रेलियाले हासिल गरेको थियो । अस्ट्रेलियाले न्युजिल्यान्डलाई केवल पाँच रनले हराएको थियो । विकेटका आधारमा सबैभन्दा कम अन्तरको जित दक्षिण अफ्रिकाले हासिल गरेको थियो । दक्षिण अफ्रिकाले प्रारम्भिक चरणको खेलमा पाकिस्तानलाई केवल एक विकेटले हराएको थियो । 

१३औँ विश्वकपमा सबैभन्दा ठुलो विजयलक्ष्य पूरा गर्दै आफ्नो प्रतिद्वन्द्वीलाई हराउने टोली भने पाकिस्तान थियो । पाकिस्तानले प्रारम्भिक चरणको खेलमा श्रीलंकाले दिएको तीन सय ४५ रनको लक्ष्य पूरा गरेको थियो । उक्त विश्वकपमा एकै पालीमा सबैभन्दा बढी अतिरिक्त रन दिने टोली नेदरल्यान्ड्स थियो । नेदरल्यान्ड्सले प्रारम्भिक चरणमा श्रीलंकाविरुद्धको खेलमा ४९.४ ओभर बलिङ गर्दै अतिरिक्त रूपमा ३३ रन दिएको थियो । 

यसैगरी सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान भारतका विराट कोहली थिए । उनले यो विश्वकपमा ११ खेल खेल्दै ९५.६२ को औसतले कुल सात सय ६५ रन बनाएका थिए । यसका क्रममा उनले तीन शतक र ६ वटा अर्धशतक पनि बनाए । उनले नौ छक्का र ६८ वटा चौका प्रहार गरेका थिए । 

उक्त विश्वकपको एउटै खेलमा सर्वाधिक एकल रन बनाउने ब्याट्सम्यान भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल थिए । उनले अफगानिस्तानविरुद्धको खेलमा अविजित दुई सय एक रन बनाएका थिए । यसक्रममा उनले एक सय २८ बलको सामना गरी १० छक्का र २१ चौका प्रहार गरेका थिए । त्यो खेलमा उनको स्ट्राइक रेट १५७.०३ थियो । 

१३औँ विश्वकपमा कुल ६ सय ४४ वटा छक्का प्रहार भएको थियो । सर्वाधिक छक्का प्रहार गर्ने ब्याट्सम्यान भारतका कप्तान रोहित शर्मा थिए । उनले ११ पालीमा कुल ३१ वटा छक्का प्रहार गरेका थिए । उक्त विश्वकपमा कुल दुई हजार दुई सय ३९ वटा चौका प्रहार भएको थियो । सर्वाधिक चौका प्रहार गर्ने ब्याट्सम्यान भारतका विराट कोहली थिए । उनले ११ पाली खेल्दै ६८ वटा चौका हिर्काएका थिए ।

यसैगरी उक्त विश्वकपमा सबैभन्दा कम बलमा अर्धशतक बनाउने ब्याट्सम्यान श्रीलंकाका कुशल परेरा थिए । उनले प्रारम्भिक चरणको खेलमा न्युजिल्यान्डविरुद्ध केवल २२ बलमा अर्धशतक बनाएका थिए । कम बलमा शतक बनाउने ब्याट्सम्यान भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल थिए । उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा केवल ४० बलमा शतक बनाएका थिए । 

उक्त विश्वकपमा सबैभन्दा कम बलमा दोहोरो शतक बनाउने खेलाडी अस्ट्रेलियाका ग्लेन म्याक्सवेल थिए । उनले अफगानिस्तानविरुद्धको खेलमा केवल एक सय २८ बलमा दोहोरो शतक पूरा गरेका थिए । उनी उक्त विश्वकपमा दोहोरो शतक प्रहार गर्ने एकमात्र खेलाडी पनि थिए । 

यसैगरी उक्त विश्वकपमा सबैभन्दा बढी शतक बनाउने खेलाडी दक्षिण अफ्रिकाका क्विन्टन डी कक थिए । उनले चारवटा शतक बनाएका थिए । न्युजिल्यान्डका रचिन रविन्द्र र भारतका विराट कोहलीले भने तीन—तीन शतक बनाएका थिए । सबैभन्दा बढी अर्धशतक बनाउने ब्याट्सम्यान भने भारतका विराट कोहली थिए । उनले ६ वटा अर्धशतक बनाएका थिए । 

१३औँ विश्वकपमा सबैभन्दा बढी विकेट लिने बलर भारतका मोहम्मद शमी थिए । उनले सात पालीमा २४ विकेट लिएका थिए । उनले तीन खेलमा पाँच वा त्योभन्दा बढी विकेट लिएका थिए । एउटै पालीमा उत्कृष्ट बलिङ गर्ने बलर पनि भारतका मोहम्मद शमी नै थिए । उनले न्युजिल्यान्डविरुद्धको खेलमा ९.५ ओभर बलिङ गर्दै ५७ रन खर्चिएर सात विकेट लिएका थिए । 

यसैगरी उक्त विश्वकपमा सबैभन्दा सफल विकेटकिपर दक्षिण अफ्रिकाका क्विन्टन डी कक थिए । उनले विश्वकपको १० पालीमा विपक्षी टोलीका २० ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । यसक्रममा उनले १९ वटा क्याच लिएका थिए भने एउटा स्टम्पिङ गरेका थिए ।

यसैगरी सबैभन्दा बढी क्याच लिने फिल्डर न्युजिल्यान्डका ड्यारेल मिचेल थिए । उनले विश्वकपको १० पालीमा ११ वटा क्याच लिएका थिए । एकदिवसीय विश्वकपको १४औँ संस्करण भने सन् २०२७ मा दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

 

स्पेनले उपाधि चुमेको महिला विश्वकप फुटबल

महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा आयोजना भएको थियो । जुलाई २० देखि अगस्त २० तारिखसम्म सञ्चालन भएको प्रतियोगितामा ३२ वटा राष्ट्रले सहभागिता जनाएका थिए । विभिन्न १२ वटा सहरमा कुल ६४ खेल खेलिएको थियो । प्रतियोगिता अवधिभर कुल एक सय ६४ गोल भएको थियो । प्रतियोगिताको उपाधि भने स्पेनले उचालेको थियो । 

स्पेन आफ्नो तेस्रो सहभागितामै महिला विश्वकपको उपाधि उचाल्न सफल भएको थियो । स्पेनले फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई १–० गोलले हराउँदै उपाधि चुमेको थियो । खेलको प्रारम्भमै लिएको अग्रतालाई जोगाउँदै स्पेनले उपाधि आफ्नो नाममा लेखाएको थियो । 

खेल सुरु भएको २९औँ मिनेटमा स्पेनका लागि ओल्गा कार्मोनाले निर्णायक गोल गरेकी थिइन् । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेको थिएन । स्पेन समूह ‘सी’ मा दोस्रो हुँदै नवौँ विश्वकपको नकआउट चरणमा पुगेको थियो । 

SCOMRHWS55P3NEJ56JJCVLPZCU

समूहगत चरणमा स्पेनले कोस्टा रिका र जाम्बियालाई हराएको थियो । जापानसँग भने स्पेन पराजित भएको थियो । प्रिक्वार्टरफाइनलमा स्पेनले स्विट्जरल्यान्डलाई ५–१ गोलले हराएको थियो । स्पेनले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हराएको थियो । प्रतियोगिताको सेमिफाइनलमा स्पेनले स्विडेनलाई २–१ गोलले हराएको थियो । 

स्पेनले सन् २०१५ मा आयोजना भएको महिला विश्वकपको सातौँ संस्करणमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला स्पेन पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २०१९ मा आयोजना भएको आठौँ संस्करणमा प्रिक्वार्टरफाइनल चरणको खेलमा अमेरिकाले स्पेनलाई २–१ गोलले हराएको थियो ।

इङ्ल्यान्डले भने महिला विश्वकपमा सन् २०१५ मा तेस्रो स्थान हासिल गरेको थियो । इङ्ल्यान्ड सन् २०१९ मा चौथो भएको थियो । सन् १९९१ मा भएको महिला विश्वकपको पहिलो संस्करणमा भने इङ्ल्यान्ड सहभागी थिएन । 

इङ्ल्यान्डले सन् १९९५ मा भएको महिला विश्वकपको दोस्रो संस्करणमा पहिलो पटक सहभागिता जनाएको थियो । समग्रमा महिला विश्वकपमा इङ्ल्यान्डको यो छैटौँ सहभागिता थियो । यसअघि इङ्ल्यान्डले दोस्रो, पाँचौँ, छैटौँ, सातौँ र आठौँ संस्करणमा भाग लिएको थियो ।

नवौँ महिला विश्वकपमा स्विडेन तेस्रो र अस्ट्रेलिया चौथो भएको थियो । तेस्रो स्थानका लागि खेलिएको खेलमा स्विडेनले अस्ट्रेलियालाई २–० गोलले हराएको थियो । नवौँ विश्वकपमा स्पेनकी आइतान बोनमतीले ‘गोल्डेन बल’, स्पेनकै जेनिफर हार्मोसोले ‘सिल्भर बल’ र स्विडेनकी अमान्डा ईलेस्टेडले ‘ब्रोन्ज बल’ जितेका थिए । 

यसैगरी जापानकी हिनाता मियाजावाले ‘गोल्डेन बुट’, फ्रान्सकी काडिडियाटु डियानीले ‘सिल्भर बुट’ र जर्मनीकी एलेक्जेन्ड्रा पोपले ‘ब्रोन्ज बुट’ पुरस्कार जितेका थिए । मियाजावाले प्रतियोगिता अवधिभरमा पाँच गोल गरेकी थिइन् । डियानी र पोपले चार–चार गोल गरेका थिए । 

इङ्ल्यान्डकी मेरी ईर्पसले ‘गोल्डेन ग्लोभ्स’ पुरस्कार पाएकी थिइन् । यसका अतिरिक्त स्पेनकी सलमा पारालुएलो उत्कृष्ट युवा खेलाडी घोषित भएकी थिइन् । फिफा फेयर प्ले टोलीको पुरस्कार जापानले पाएको थियो । 

GettyImages-1627088933

कुनै पनि दुई राष्ट्रले संयुक्त रुपमा महिला विश्वकप आयोजना गरेको यो पहिलो पटक थियो । दुई छुट्टाछुट्टै क्षेत्रीय महासंघले विश्वकप फुटबल आयोजना गरेको पनि यो पहिलो पटक थियो । यसअघि पुरुष विश्वकप पनि दुई छुट्टाछुट्टै क्षेत्रीय फुटबल महासंघले आयोजना गरेका थिएनन् । अस्ट्रेलिया एसियाली फुटबल महासंघको सदस्य हो भने न्युजिल्यान्ड ओसेनिया फुटबल महासंघको सदस्य हो । 

यसैगरी महिला विश्वकपको नवौँ संस्करणमा सहभागी टोलीको संख्या पनि बढाइएको थियो । अघिल्लो महिला विश्वकपमा २४ वटा राष्ट्रले भाग लिएका थिए । नवौँ संस्करणमा भने सहभागी टोलीको संख्या बढाएर ३२ पु¥याइएको थियो । 

महिला विश्वकपको नवौँ संस्करणमा एसियाबाट ६ राष्ट्र, अफ्रिकाबाट चार राष्ट्र छनोट भएका थिए । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट चार राष्ट्र सहभागी भएका थिए । दक्षिण अमेरिकाबाट तीन, ओसेनियाबाट एक र युरोपबाट ११ राष्ट्र सहभागी भएका थिए । थप तीन राष्ट्रको टुङ्गो भने इन्टर कन्फिड्रेसन प्ले अफ प्रतियोगिताबाट लगाइएको थियो । 

नवौँ विश्वकपको समूह ‘ए’ मा न्युजिल्यान्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्यान्ड थिए । समूह ‘बी’ मा अस्ट्रेलिया, आयरल्यान्ड, नाइजेरिया र क्यानडा थिए । समूह ‘सी’ मा स्पेन, कोस्टारिका, जाम्बिया र जापान परेका थिए । समूह ‘डी’ मा इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन थिए । 

यसैगरी समूह ‘ई’ मा अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल थिए । समूह ‘एफ’ मा फ्रान्स, जमैका, ब्राजिल र पानामा थिए । समूह ‘जी’ मा स्विडेन, दक्षिण अफ्रिका, इटाली र अर्जेन्टिना थिए । समूह ‘एच’ मा जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया थिए । 

पहिलो चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका थिए । प्रिक्वार्टर चरणबाट आठ टोली क्वार्टरफाइनलमा प्रवेश गरेका थिए । त्यसपछि क्रमशः सेमिफाइनल र फाइनल खेल भएको थियो । 

महिला विश्वकपको नवौँ संस्करणका खेल अस्ट्रेलिया र न्युजिल्यान्डका विभिन्न १२ वटा सहरमा खेलाइएको थियो । यसअघि महिला विश्वकपका खेलहरु यति धेरै सहरमा खेलाइएको थिएन । नवौँ महिला विश्वकपका लागि विश्व फुटबल महासंघ (फिफा) ले पुरस्कार राशीमा पनि उल्लेख्य बृद्धि गरेको थियो । 

यस पटक रुसलाई भने छनोट प्रतियोगिता नै खेल्न दिइएको थिएन । सन् २०२२ को डिसेम्बरमा रुसमाथि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने गरी लगाइएको प्रतिबन्ध हटाइएको थियो । त्यसअघि प्रतिबन्धित औषधि प्रयोग गरेका कारण रुसमाथि प्रतिबन्ध लगाइएको थियो । 

तर, प्रतिबन्ध हटाइएपछि पनि रुसलाई महिला विश्वकपको छनोट खेल्न दिइएन । युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपेली फुटबल महासंघ (यूईएफए) ले रुसलाई विश्वकप छनोट खेल्न नदिएको हो । 

 

अमेरिकी खेलाडी जब राष्ट्रिय गान विवादमा मुछिए

महिला विश्वकप फुटबलको इतिहासमा अमेरिकाको दबदबा रहँदै आएको छ । हालसम्म नौ पटक महिला विश्वकपको आयोजना भइसकेको छ । त्यसमध्ये अमेरिकाले मात्र चार पटक महिला विश्वकपको उपाधि चुमिसकेको छ । 

अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजित महिला विश्वकपको नवौँ संस्करणमा अमेरिकाले उत्कृष्ट प्रदर्शन पनि गरेको थियो । यद्यपि, अमेरिका प्रतियोगिताको उपाधि चुम्न असफल भएको थियो । 

तर, त्यो विश्वकपमा अमेरिका आफ्ना खेलाडीको प्रदर्शनभन्दा पनि अन्य कारणले नै बढी चर्चामा आयो । ठुला प्रतियोगिताहरुमा खेल सुरु हुनुभन्दा अगाडि सम्बन्धित राष्ट्रको राष्ट्रिय गान बजाइने प्रचलन हुन्छ । राष्ट्रिय गान बज्दा मैदानमा रहेका सम्बन्धित राष्ट्रका खेलाडीहरुले पनि सँगसँगै गाउने गर्छन् ।

महिला विश्वकपमा पनि यो परम्परा छ । तर, नवौँ विश्वकपका क्रममा आफ्नो राष्ट्रको राष्ट्रिय गान बज्दा अमेरिकी खेलाडीहरुले राष्ट्रिय गान गाउन अस्वीकार गरेपछि त्यसले ब्यापक चर्चा पाएको थियो । आफ्नै देशभित्र पनि अमेरिकी खेलाडीहरुको आलोचना भएको थियो । तर, केही पूर्वखेलाडीहरुले भने राष्ट्रिय गान नगाउने खेलाडीको पक्षमा पनि वकालत गरेका थिए । 

US-women-soccer

अमेरिकाले आफ्नो पहिलो खेल भियतनामसँग खेलेको थियो । उक्त खेलअघि आफ्नो देशको राष्ट्रिय गान बज्दा भियतनामका खेलाडीले सम्मान प्रकट गर्दै छातीमा हात राखेर राष्ट्रिय गान गाएका थिए । तर, अधिकांश अमेरिकी खेलाडीले भने न आफ्नो देशको राष्ट्रिय गान गाए, न त राष्ट्रिय गान बज्दा छातीमा हात राखेर सम्मान नै प्रकट गरे । 

भियतनामविरुद्धको खेलअघि केवल तीन जना अमेरिकी खेलाडीहरु जुली एर्टज, एलिसा नाहेर र लिन्ड्से होरानले मात्र राष्ट्रिय गान गाएका थिए । अन्य खेलाडी मौन रहेका थिए । 

यसैगरी अमेरिकाले नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्यो । उक्त खेलअघि पनि अधिकांश अमेरिकी खेलाडीले राष्ट्रिय गान गाएनन् । उनीहरुले राष्ट्रिय गान बज्दा सम्मान प्रकट गर्दै छातीमा हातसम्म राख्न मानेनन् । त्यसपछिका खेलहरुमा पनि अवस्था त्यस्तै रह्यो । त्यो घटनापछि आफ्नै देशभित्र अमेरिकी खेलाडीको व्यापक आलोचना भएको थियो । 

राष्ट्रिय गान नगाउनेमध्येकी एक अमेरिकी खेलाडी नाओमी गिरमाले खेलअघि राष्ट्रिय गान गाउनु वा नगाउनु खेलाडीको आफ्नो स्वविवेकमा भर पर्ने कुरा भएको बताएकी थिइन् । ‘म केवल यति भन्छु, राष्ट्रिय गान गाउनु वा नगाउनु खेलाडीको स्वविवेकको कुरा हो,’ उनले भनेकी थिइन् ।

आफ्नो देशभित्र सामाजिक भेद्भाव, रङ्गभेदी व्यवहार र अश्वेत जातीमाथि हुने दुर्व्यवहारजस्ता कुराको विरोध गर्दै अमेरिकी खेलाडीहरुले खेल मैदानमा राष्ट्रिय गान नगाएको बताइएको थियो । अमेरिकी टोलीकी सबैभन्दा अनुभवी खेलाडीमध्येकी एक मेगन रापिनोएले पनि यो अभियानमा समर्थन जनाएकी थिइन् । साउथ क्यारोलिनाकी पूर्वगभर्नर निक्की हेलीले पनि विश्वकपमा महिला खेलाडीहरुको व्यवहारलाई लिएर चर्को आलोचना गरेकी थिइन् । उनले महिला राष्ट्रिय टोलीका खेलाडीहरुमा राष्ट्रभक्तिको भावना नरहेको आरोप पनि लगाएकी थिइन् । 

‘उनीहरु (अमेरिकी महिला फुटबल खेलाडी) अमेरिकामा जन्मिए, अमेरिकामै हुर्किए र उनीहरुले अमेरिकाबाटै धेरै कुरा पनि पाए । तर, उनीहरुमा राष्ट्रभक्तिको भावना भने रत्तिभर देखिएन,’ निक्की हेलीले सामाजिक सञ्जाल ट्वीटर (अहिले एक्स)मा ट्वीट गरेकी थिइन् ।  

तर, अमेरिकाकी चर्चित टेनिस स्टार मार्टिना नाभ्रातिलोभा भने महिला फुटबल खेलाडीहरुको समर्थनमा ओर्लिएकी थिइन् । उनले महिला फुटबल खेलाडीको बचाउ गर्दै सबैको ध्यान खेलमा केन्द्रित हुनुपर्ने सुझाव दिएकी थिइन् । 

‘उनीहरु राष्ट्रिय गान गाएर विश्वकपको मैदानसम्म पुगेका होइनन् । बरु उनीहरु कडा परिश्रम गरेर राष्ट्रिय टोलीमा स्थान बनाउँदै अमेरिकालाई विजयी बनाउन त्यहाँ (विश्वकपमा) पुगेका हुन् । त्यसैले यतिबेला सबैको ध्यान खेलमै केन्द्रित हुनुपर्छ,’ त्यतिबेला नाभ्रातिलोभाले ट्वीट गरेकी थिइन्, ‘आखिर यसअघि चार पटक उनीहरुले देशकै लागि विश्वकप जितेका होइनन् र ?’

 

महिला खेलाडीलाई ओठमा चुम्बन गरेपछि जागिर चैट !

अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधि स्पेनले जितेको थियो । प्रतियोगिताको फाइनलमा इङ्ल्यान्डलाई १–० गोल अन्तरले हराउँदै स्पेनले उपाधि चुमेको थियो ।

त्यो खेल हेर्न स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबिलेस पनि अस्ट्रेलियाको सिड्नीस्थित रङ्गशालामा उपस्थित भएका थिए । खेलको २९औँ मिनेटमा कप्तान ओल्गा कार्मोना गार्सियाले गरेको गोलको मद्दतमा स्पेनले पहिलो पटक महिला विश्वकपको उपाधि उचाल्यो । 

खेल सकिएपछि उपाधि जितेको खुसीयाली मनाउन स्पेनिस फुटबल महासंघका पदाधिकारीहरु पनि खेलाडीसँग मिसिएका थिए । त्यसमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस पनि थिए । तर, खेलाडीसँग खुसीयाली मनाउने क्रममा अध्यक्ष लुइसले देखाएको व्यवहारका कारण उनले आफ्नो पद नै गुमाउनु परेको थियो ।

download

अध्यक्ष लुइसले गरेको अप्रिय व्यवहारका लागि उनको व्यापक आलोचना पनि भएको थियो । खासमा उनले महिला खेलाडीसँग खुसी साटासाट गर्ने क्रममा स्पेनिस टोलीकी अनुभवी मिडफिल्डर जेनिफर हर्मोसोलाई ओठमा चुम्बन गरेका थिए । जेनिफरको अनुमति बिना नै उनको ओठमा चुम्बन गरेपछि अध्यक्ष लुइस विवादमा तानिएका थिए । 

त्यतिबेला स्पेनिस टोलीले खुसीयाली मनाइरहेको क्षणको विश्वभर प्रत्यक्ष प्रसारण भइरहेको थियो । पछि सञ्चारकर्मीहरुले मिडफिल्डर जेनिफरलाई उक्त घटनाको विषयमा प्रश्न गरेका थिए । त्यसको जवाफ जेनिफरले हाँसेर दिएकी थिइन् । ३३ वर्षीया जेनिफरले भनेकी थिइन्, ‘ए त्यो ! तर, मलाई मन परेन ।’ 

मिडफिल्डर जेनिफर र टोलीका अन्य खेलाडीहरुले त्यो घटनाको प्रत्यक्ष प्रसारण भइरहेको र चुम्बनको घटना पनि भिडियोमा रेकर्ड भएको जानकारी पछिमात्र पाएका थिए । सञ्चारकर्मीहरुले जेनिफर र अन्य खेलाडीलाई त्यो भिडियो देखाएका थिए । समाचारमा जनाइए अनुसार, त्यो भिडियो हेरेपछि खेलाडीहरु आश्चर्यचकित भएका थिए ।

त्यो घटना सार्वजनिक भएपछि फुटबल समर्थकहरु पनि आश्चर्यचकित भएका थिए । यस विषयमा थुप्रै समर्थकले सामाजिक सञ्जालमा विभिन्न धारणा व्यक्त गरेका थिए । कतिपय समर्थकले महासंघका अध्यक्ष लुइस र मिडफिल्डर जेनिफरबिच प्रेम सम्बन्ध रहेको आशंका पनि व्यक्त गरेका थिए । कतिपयले त्यो घटनालाई स्पेनिस संस्कृतिविरुद्धको क्रियाकलापका रुपमा पनि चित्रण गरेका थिए । 

एल पाइसकी सम्पादक नाडिया ट्रोनचोनीले यो घटनालाई जितको खुसीयाली मनाइरहेका सम्पूर्ण महिलामाथि गरिएको दुर्व्यवहारको रुपमा व्याख्या गरेकी थिइन् । ‘यो जितको खुसीयाली मनाइरहेका सम्पूर्ण महिलामाथि गरिएको आक्रमण हो । एउटा व्यक्तिको व्यवहारका कारण सिङ्गो देशले खुसीयाली मनाइरहेको क्षण विवादित बन्न पुग्यो,’ उनले भनेकी थिइन् । 

अध्यक्ष लुइसले भने मुर्खहरुले अनावश्यक कुराको विषयमा चर्चा गरिरहेको प्रतिक्रिया दिएका थिए । ‘यहाँ जताततै मुर्खहरु छन् । त्यो सामान्य घटना हो । त्यसलाई मुर्खतापूर्ण तरिकाले बढाइचढाइ गरिएको छ,’ उनले भनेका थिए । 

त्यसपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि रुबिलेसको व्यवहारको आलोचना गरेका थिए । प्रधानमन्त्री सान्चेजले भनेका थिए, ‘स्पेनिस टोलीले नवौँ महिला विश्वकपको उपाधि जितेपछि सार्वजनिक स्थलमा रुबिलेसले जुन व्यवहार देखाए, त्यो अशोभनीय र निन्दनीय छ ।’

केही समयपछि आफ्नो उक्त कार्यका लागि रुबिलेसले सार्वजनिक रूपमै माफी मागेका थिए । तर, स्पेनका प्रधानमन्त्रीले त्यो घटनाका लागि माफीमात्र पर्याप्त नरहेको बताएका थिए । ‘त्यो घोर आपत्तिजनक व्यवहार थियो । अध्यक्ष रुबिलेसले माफी त मागेका छन् । तर, त्यो अशोभनीय घटनाका लागि माफीमात्र पर्याप्त हुन सक्दैन,’ प्रधानमन्त्रीले भनेका थिए । 

स्पेनकी उपप्रधानमन्त्री योलान्डा डियाजले त रुबिलेसले स्पेनिस फुटबल महासंघको अध्यक्ष पदबाटै राजीनामा दिनुपर्ने मागसमेत गरेकी थिइन् । ‘त्यो अशोभनीय घटनाका लागि माफी निकै नै सानो शब्द हो । रुबिलेसले पदबाट राजीनामा दिनुपर्छ,’ उनले भनेकी थिइन् । त्यसपछि विश्व फुटबल महासंघ (फिफा) पनि रुबिलेसमाथि खनिएको थियो । अन्ततः उनले आफ्नो पदसम्म गुमाउन प¥यो ।

 

क्यानडाकी ‘क्वीन’ को नाममा लेखिएको फरक इतिहास

महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणमा फरक खाले कथा बोकेकी एक खेलाडी थिइन् क्यानडाकी मिडफिल्डर ‘क्वीन’ । २७ वर्षीय क्वीन फरक यौनिक पहिचान बोकेकी (पारलैङ्गिक महिला) खेलाडी हुन् । उनी फिफा विश्वकप खेल्ने फरक यौनिक पहिचान बोकेकी पहिलो खेलाडी पनि बनेकी छन् । 

क्वीनले विश्वकपमा नाइजेरियाविरुद्ध पहिलो खेल खेलेकी थिइन् भने आयरल्यान्डविरुद्ध दोस्रो खेल खेलेकी थिइन् । उनी क्यानेडियन टोलीकी प्रभावशाली मिडफिल्डर हुन् । यसअघि पनि थुप्रै प्रतियोगितामा उनले राष्ट्रिय टोलीका लागि उत्कृष्ट प्रदर्शन गरिसकेकी थिइन् । 

210802-canada-quinn-jm-1252-4b946a

विश्वकप खेल्नुअघि उनले क्यानडाका लागि यू–१७, यू–२० र यू–२३ राष्ट्रिय टोलीबाट पनि विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेकी थिइन् । सन् २०२० मा जापानमा भएको ओलम्पिक खेलकुदमा महिला फुटबलको उपाधि क्यानडाले जितेको थियो । त्यतिबेला पनि ‘क्वीन’ क्यानेडियन टोलीकी महत्त्वपूर्ण सदस्य थिइन् । 

तर, विश्वकपमा भने क्वीनको यो पहिलो सहभागिता थियो । यसअघि फरक यौनिक पहिचान बोकेका कुनै पनि खेलाडीले विश्वकप खेलेका थिएनन् । क्यानडालाई ओलम्पिकमा स्वर्ण पदक चुमाएपछि क्वीनले आफ्नो राष्ट्रलाई विश्वकप च्याम्पियन बनाउने सपना बुनेकी थिइन् । तर, उनको त्यो सपना भने पूरा हुन सकेन । 

क्वीनले टोकियो ओलम्पिकमा पनि इतिहास रचेकी थिइन् । उनी ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्ने पहिलो फरक यौनिक पहिचान बोकेकी खेलाडी पनि बनेकी थिइन् । त्यसमाथि उनीसहितको टोलीले टोकियो ओलम्पिकमा स्वर्ण पदक नै जितेको थियो ।

नवौँ विश्वकपको पहिलो खेलमा क्यानडालाई नाइजेरियाले गोलरहित बराबरीमा रोकेको थियो । उक्त खेलमा पनि पाँच नम्बर जर्सी लगाएर मैदानमा नयाँ इतिहास रचिरहेकी क्वीनमाथि नै अधिकांश सञ्चारकर्मीको ध्यान केन्द्रित भएको थियो । 

उमेर समूहको प्रतियोगिता हुँदै क्वीनले सन् २०१४ मा क्यानडाको सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएकी थिइन् । सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेदेखि नै उनले एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् । 

सन् १९९५ को अगस्त ११ तारिखमा क्यानडाको टोरन्टोमा जन्मिएकी क्वीनको वास्तविक नाम भने रेबेका क्वीन हो । तर, सन् २०२० को सेप्टेम्बरमा आफ्नो नामबाट रेबेका शब्द हटाएर केवल ‘क्वीन’ का रुपमा उनले परिचय अगाडि सारेकी थिइन् । सोही समयदेखि उनको फरक परिचय (पारलैङ्गिक महिला) पनि सार्वजनिक भएको थियो । 

फरक यौनिक पहिचान बोकेका खेलाडीहरुले भने विश्व खेलवृत्तमा केही असहज अवस्थाको सामना गर्नुपर्ने अनुभव पनि उनले सुनाएकी थिइन् । ‘खासगरी, ट्रान्सजेन्डर खेलाडीहरुको बारेमा बेलाबखत चल्ने र अभिव्यक्त गरिने विचारहरुलाई हामीले चाहेर पनि बेवास्ता गर्न सक्दैनौँ,’ उनले भनेकी थिइन् । 

‘खेल मैदानमा पनि फरक इतिहास कोरिने गर्छन् । क्वीन पनि खेल मैदानमा इतिहास कोर्ने खेलाडी हुन् । एउटा ट्रान्सजेन्डर खेलाडीले खेल मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रच्न सक्छ भन्ने ज्वलन्त उदाहरण पनि हुन् क्वीन,’ विश्वकप चलिरहँदा क्यानडाकी स्वतन्त्र पत्रकार हर जोहालले भनेकी थिइन्, ‘क्वीनसँग फुटबल खेल्ने उत्कृष्ट र अद्भूत कला छ । उनी फरक यौनिक पहिचान बोकेका खेलाडीहरुको लागि रोल मोडेल पनि हुन् ।’ 

सानो हुँदा उनले फुटबलका अतिरिक्त हक्की, भलिबल र बास्केटबल पनि खेलेकी थिइन् । तर, अरु खेलले उनलाई लामो समयसम्म बाँधेर राख्न सकेनन् । फुटबल नै उनको मुख्य रोजाइमा प¥यो र यही खेलले नै उनलाई अन्तर्राष्ट्रियस्तरमा फरक परिचय पनि दियो । 

 

मोरक्को र मोरक्कन खेलाडीको नाममा कुँदिएको इतिहास 

नवौँ महिला विश्वकप फुटबलका क्रममा अर्को एउटा इतिहास पनि रचिएको थियो । उक्त इतिहास दक्षिण कोरिया र मोरक्को बिचको खेलका क्रममा लेखिएको थियो । उक्त खेलमा मोरक्कोकी नोहाइला बेन्जिनाले ‘हिजाब’ लगाएर विश्वकप खेलेकी थिइन् । यसअघि कुनै पनि खेलाडीले ‘हिजाब’ लगाएर विश्वकप खेलेका थिएनन् । 

मोरक्कोकी २५ वर्षीय डिफेन्डर बेन्जिनाले निकै अघि नै आफू ‘हिजाब’ लगाएर विश्वकप मैदानमा ओर्लने बताइसकेकी थिइन् । उनी ‘हिजाब’ लगाएर विश्वकप खेल्ने पहिलो खेलाडी बनेकी हुन् । दक्षिण कोरियाविरुद्धको उक्त खेलमा मोरक्कोले तीन वटा इतिहास रचेको थियो । 

उक्त खेलमा मोरक्कोले एसियाली राष्ट्र दक्षिण कोरियालाई १–० गोलले हराएको थियो । मोरक्को पहिलो पटक महिला विश्वकपमा सहभागी भएको हो । त्यसैले महिला विश्वकपमा मोरक्कोले हासिल गरेको यो नै पहिलो जित थियो । 

epfkrj5bkwr1iu4rp2ug

यसैगरी दक्षिण कोरियाविरुद्धको खेलमा मोरक्कोका लागि इबतिसाम जराइदीले गोल गरेकी थिइन् । उनी मोरक्कोका लागि विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेकी थिइन् ।

सन्  २०१४ मा विश्व फुटबल महासंघ (फिफा) ले खेलाडीले चाहेमा ‘हिजाब’ लगाएर खेल्न पाउने अनुमति दिएको थियो । फिफाले अनुमति दिए पनि यसअघि कुनै खेलाडी ‘हिजाब’ लगाएर विश्वकप खेल्न मैदानमा ओर्लिएका थिएनन् । त्यसअघि फिफाले ‘हिजाब’ लगाएर खेल्न प्रतिबन्ध लगाएको थियो । 

बेन्जिनाले विश्वकप सुरु भएलगत्तै ‘हिजाब’ लगाएर खेल्ने घोषणा गरेकी थिइन् । तर, जर्मनी र मोरक्को बिचको पहिलो खेलमा डिफेन्डर बेन्जिनाले मैदानमा प्रवेश गर्ने अवसर नै पाइनन् । खेल अवधिभर उनी बेञ्चमै बसेकी थिइन् । 

 

चेन्नईले पाँचौँ पटक उपाधि जितेको आईपीएल

विश्वको सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १६औँ संस्करण मार्च ३१ देखि मे २९ तारिखसम्म आयोजना भएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) अन्तर्गत सञ्चालित टी–२० ढाँचाको उक्त प्रतियोगितामा १० वटा टोलीले सहभागिता जनाएका थिए । 

प्रतियोगिताको उपाधि महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किङ्सले जितेको थियो । चेन्नईले फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी गुजरात टाइटन्सलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो ।

वर्षाका कारण आईपीएलको फाइनल खेल निर्धारित समयभन्दा एक दिनपछि खेलाइएको थियो । दोस्रो दिनको खेल पनि वर्षाबाट प्रभावित भएपछि हारजितको निर्णय ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा गरिएको थियो ।

ipl-2023-winner-chennai-super-kings-csk

चेन्नईले पाँचौँ पटक आईपीएलको उपाधि चुमेको हो । त्यसअघि चेन्नईले सन् २०१०, सन् २०११, सन् २०१८ र सन् २०२१ मा पनि आईपीएलको उपाधि जितेको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय १४ रन बनाएको थियो । 

चेन्नई जवाफी ब्याटिङमा ओर्लिएपछि पहिलो ओभरमै वर्षा सुरु भएको थियो । पहिलो ओभरको तेस्रो बलपछि नै वर्षाका कारण खेल रोकिएको थियो । पहिलो तीन बलमा चेन्नईले केवल चार रन बनाएको थियो । त्यसको केही समयपछि वर्षा रोकिए पनि मैदान सुकाउनु पर्ने भएकाले खेल सुरु हुन निकै समय लाग्यो ।

निकै समय खेर गएकाले खेल १५ ओभरमा झारिएको थियो । त्यसपछि चेन्नईले ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा जितका लागि १५ ओभरमा एक सय ७१ रन बनाउनु पर्ने गरी नयाँ लक्ष्य निर्धारण गरिएको थियो ।

चेन्नईसँग आक्रामक ब्याटिङ गर्नुको विकल्प रहेन । चेन्नईको जितमा ओपनर डेभन कनवेले ४७ रनको योगदान गरेका थिए । उनले केवल २५ बलको सामना गरी दुई छक्का र चार चौका पनि प्रहार गरेका थिए ।

कनवे र रुतुराज गायकवाडले ओपनिङ विकेटका लागि ७४ रनको साझेदारी गरेका थिए । गायकवाडले १६ बलमा एक छक्का र तीन चौकाको मद्दतले २६ रन बनाएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान शिवम दुबेले पनि अविजित ३२ रनको योगदान गरेका थिए । उनले २१ बलको सामना गरी दुई छक्का प्रहार गरेका थिए ।

अजिनक्या रहानेले केवल १३ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २७ रन बनाएका थिए । अम्बाटी रायडुले १९ रन जोडेका थिए । उनले केवल आठ बलको सामना गरी दुई छक्का र एक चौका प्रहार गरेका थिए । रविन्द्र जडेजाले केवल ६ बलको सामना गरी एक छक्का र एक चौकाको मद्दतले अविजित १५ रन जोडेका थिए ।

गुजरातका बलर मोहित शर्माले तीन र नुर अहमदले दुई विकेट लिएका थिए । त्यसअघि पहिलो ब्याटिङ गरेको गुजरातका लागि साई सुदर्शनले ९६ रन बनाएका थिए । उनले केवल ४७ बलको सामना गरी ६ छक्का र आठ चौका प्रहार गरेका थिए ।

ओपनर ऋद्धिमान शाहले पनि ५४ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान शाहले ३९ बलको सामना गरी एक छक्का र पाँच चौका प्रहार गरेका थिए । अर्का ओपनर शुभमन गिलले २० बलमा सात चौकाको मद्दतले ३९ रन जोडेका थिए ।

कप्तान हार्दिक पाण्डेयाले अविजित २१ रन बनाएका थिए । चेन्नईका बलर माथिसा पाथिरनाले दुई विकेट लिएका थिए । उक्त खेलमा डेवन कनवे म्यान अफ दि म्याच घोषित भएका थिए । म्यान अफ दि सिरिजको पुरस्कार भने शुभमन गिलले पाएका थिए ।

चेन्नईले अन्तिम ओभरमा जितका लागि १३ रन बनाउनु पर्ने थियो । अन्तिम ओभरको सुरुको चार बलमा केवल तीन रनमात्र बनेको थियो । त्यसपछि अन्तिम दुई बलमा रविन्द्र जडेजाले क्रमशः छक्का र चौका प्रहार गर्दै चेन्नईलाई जित दिलाएका थिए । 

आईपीएलको उक्त संस्करणमा गुजरातका शुभमन गिल सर्वाधिक रन जोड्ने खेलाडी बनेका थिए । उनले १७ खेलमा आठ सय ९० रन बनाएका थिए । सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका रोयल च्यालेन्जर्स बैंगलोरका फाफ डु प्लेसिसले १४ खेलमा सात सय ३० रन बनाएका थिए । 

यसैगरी गुजराज टाइटन्सका मोहम्मद शमी सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनले १७ खेलमा २८ विकेट लिएका थिए । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा गुजरातकै मोहित शर्मा दोस्रो स्थानमा थिए । उनले १४ खेलमा २७ विकेट लिएका थिए । गुजरातकै रासिद खानले पनि १७ खेलमा २७ विकेट हात पारेका थिए । 

 

पाँचौँ उपाधि जितेपछि टारिएको धोनीको संन्यास

इन्डियन प्रिमियर लिग (आईपीएल) को १६औँ संस्करणपछि चेन्नई सुपर किङ्सका कप्तान महेन्द्रसिंह धोनीले व्यावसायिक खेल जीवनबाट पनि संन्यास लिने अनुमान गरिएको थियो । भारतको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान धोनीले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट भने यसअघि नै संन्यास लिइसकेका छन् । 

आईपीएलको १६औँ संस्करण चल्दै गर्दा उनको उमेर ४१ वर्ष पुगिसकेको थियो । उमेर उकालो लाग्दै गएका कारण नै धेरैले आईपीएलको १६औँ संस्करणपछि उनले संन्यास लिने अनुमान गरेका हुन् । 

dhoni

धोनी आफैँले पनि कतिपय अवसरमा यस्तो संकेत गरेका थिए । तर, आफ्नो कप्तानीमा चेन्नईले पाँचौँ पटक आईपीएलको उपाधि चुमेपछि भने एकाएक धोनीको ‘मुड’ बदलिएको थियो । त्यसपछि उनले आफू अझै केही समय सक्रिय खेल जीवनमा रमाउन चाहेको प्रतिक्रिया दिएका थिए ।

आईपीएल सकिएपछि धोनीले तत्काल सक्रिय खेलजीवनबाट संन्यास नलिने बताएका थिए । आफूले अझै पनि समर्थकहरुबाट अपार मायाँ पाइरहेकाले तत्काल खेलजीवनबाट संन्यास नलिने उनको प्रतिक्रिया थियो । 

धोनीको उक्त निर्णयपछि चेन्नईका समर्थकहरूले पनि क्लबका लागि दोहोरो खुसीको क्षण भएको प्रतिक्रिया दिँदै सामाजिक सञ्जालहरूमा खुसीयाली मनाएका थिए । एकातिर चेन्नईले पाँचौँ उपाधि जितेको खुसी अनि अर्कोतिर, धोनीले तत्काल संन्यास नलिने खुसी ।

 

आयोजक चीनले पदकमा एकाधिपत्य जमाएको १९औँ एसियाली खेलकुद

एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को १९औँ संस्करण गत सेप्टेम्बरमा चीनको हाङ्झोउमा आयोजना भएको थियो । कला र संस्कृतिको अनुपम उदाहरण बोकेको हाङ्झोउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म प्रतियोगिता सञ्चालन भएको थियो । एसियाली महादेशको सबैभन्दा बृहत् खेल प्रतियोगिता हो एसियाड ।

प्रतियोगितामा एसियाका ४५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एसियाडको १९औँ संस्करणमा विभिन्न ४० वटा खेल समावेश गरिएको थियो । 

एसियाली खेलकुदको ७२ वर्ष लामो इतिहासमा हाङ्झोउ एसियाडले प्रतियोगितामा सहभागी हुने खेलाडीको संख्यामा नयाँ कीर्तिमान बनाएको थियो ।

China_Asian_Games_Swimming_23685

१९औँ एसियाडमा कीर्तिमानी रुपमा १२ हजार पाँच सय जना खेलाडीले सहभागिता जनाएका थिए । यसअघि एसियाली खेलकुदको १८औँ संस्करणमा सर्वाधिक ११ हजार तीन सय जना खेलाडीले सहभागिता जनाएका थिए । १८औँ एसियाली खेलकुद सन् २०१८ मा इन्डोनेसियाको जाकर्ता र पालेम्बाङमा भएको थियो । 

रमाइलो पक्ष त के हो भने, विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता ओलम्पिकभन्दा पनि बढी खेलाडीले १९औँ एसियाली खेलकुदमा सहभागिता जनाएका हुन् । सन् २०२० मा जापानको टोकियोमा आयोजित पछिल्लो गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा दुई सय ६ राष्ट्रका ११ हजार चार सय २० जना खेलाडीले भाग लिएका थिए । 

१९औँ एसियाली खेलकुदमा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत, हङ्कङ र आयोजक चीनले ६ सयको हाराहारीमा खेलाडी सहभागी गराएका थिए । १९औँ एसियाडमा ४० वटा खेलको चार सय ८३ स्पर्धा समावेश गरिएको थियो । 

एसियाडका खेलहरु हाङ्झोउ, निङ्बो, वेनझोउ, हुझोउ, साओझिङ र जिनहुआ गरी ६ वटा सहरमा आयोजना गरिएको थियो । 

यसका अतिरिक्त एसियाली खेलकुदलाई ध्यानमा राखी आयोजक चीनले अत्याधुनिक बुलेट ट्रेन पनि सञ्चालनमा ल्याएको थियो । १९औँ एसियाडको लोगोसहित सञ्चालनमा ल्याइएको तीव्र गतिको उक्त बुलेट ट्रेनले प्रतियोगितामा सहभागीहरुलाई ६ वटा ‘भेन्यू’सँग जोड्ने काम गरेको थियो । 

उक्त बुलेट ट्रेनलाई इन्द्रधनुष रङमा सजाइएको थियो । त्यसमा बैजनी रङको अत्यधिक प्रयोग गरिएको थियो । १९औँ एसियाडको लोगो पनि त्यही रङमा सजिएको थियो । ट्रेनमा यात्रुका लागि अत्याधुनिक सञ्चारदेखि लिएर हरेक प्रकारका सुविधि उपलब्ध गराइएको थियो । 

हाङ्झोउ एसियाडका बिजेता खेलाडीलाई प्रदान गरिने पदकको नाम ‘सान सुई’ राखिएको थियो । ‘सान सुई’ को अर्थ ‘तलाउ र हिमाल’ हो । पाँच हजार वर्ष पुरानो चिनियाँ सभ्यतासँग तालमेल मिलाएर पदक डिजाइन गरिएको थियो । उक्त पदकको डिजाइनमा हाङ्झोउको भौगोलिक अवस्थासमेत झल्कन्थ्यो । त्यसैले नै पदकको नाम ‘सान सुई’ अर्थात् ‘तलाउ र हिमाल’ राखिएको थियो ।

पदक सार्वजनिक गर्न पनि प्रतियोगिताको स्थानीय आयोजकले सांस्कृतिक र पुरातात्विक महत्त्वको स्थान लिआङझोउलाई चयन गरेको थियो । उक्त प्राचिन स्थानलाई संयुक्त राष्ट्र संघ (यूएनओ) को शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) ले सम्पदा सूचीमा दर्ता गरेको थियो । 

चीनमा तेस्रो पटक एसियाली खेलकुद प्रतियोगिता आयोजना भएको हो । सन् १९९० मा पहिलो पटक चीनको बेइजिङमा एसियाली खेलकुद आयोजना भएको थियो । त्यसपछि सन् २०१० मा चीनको ग्वानझोउले दोस्रो पटक एसियाली खेलकुद आयोजना गरेको थियो । 

एसियाली खेलकुदको पदक तालिकामा आयोजक राष्ट्र चीनले एकाधिपत्य जमायो । चीन दुई सय एक स्वर्ण, एक सय ११ रजत र ७१ कांस्य जित्दै कुल तीन सय ८३ पदकसहित पहिलो स्थानमा रह्यो । दोस्रो भएको जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कांस्यसहित कुल एक सय ८८ पदक जित्यो ।

यसैगरी तेस्रो हुने दक्षिण कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ कांस्यसहित कुल एक सय ९० पदक जित्यो । भारत २८ स्वर्ण, ३८ रजत र ४१ कांस्यसहित चौथो भयो । उज्वेकिस्तान भने २२ स्वर्ण, १८ रजत र ३१ कांस्य पदकसहित पाँचौँ भयो । प्रतियोगितामा सहभागीमध्ये कुल ४१ राष्ट्र पदक जित्न सफल भए । भुटान, इष्ट टिमोर, माल्दिभ्स र यमनले भने एउटा पनि पदक जित्न सकेनन् । 

नेपाललाई कराँते र कबड्डीमा ऐतिहासिक पदक

 

चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले पनि एक रजत र एक कांस्य पदक जित्यो । यी दुवै पदक नेपालका लागि ऐतिहासिक थियो । यसअघि नेपालले एसियाली खेलकुदमा कराँतेमा रजत पदक जित्न सकेको थिएन । 

नेपालले एसियाली खेलकुदको इतिहासमा त्यसअघि कबड्डीमा पनि पदक जित्न सकेको थिएन । १९औँ एसियाली खेलकुदमा नेपालको महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो । महिला कबड्डी टोलीले एसियाली खेलकुदको पहिलो सहभागितामै कांस्य पदक जितेको हो । त्यसैले यी दुवै पदक नेपाली खेलकुदका लागि ऐतिहासिक बनेको थियो ।

कराँतेमा एरिका गुरुङले महिला कुमुते ६८ केजीभन्दा माथिको तौल समूहमा रजत पदक जितेकी थिइन् । नेपालले एसियाली खेलकुदको इतिहासमा जितेको यो केवल तेस्रो रजत पदक थियो । त्यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालका लागि तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् । नेपालले एसियाली खेलकुदमा जितेको त्यो पहिलो रजत पदक थियो । 

यसैगरी सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो । नेपालले पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको छ । 

एसियाली खेलकुदको पहिलो संस्करण सन् १९५१ मा भारतको राजधानी नयाँं दिल्लीमा आयोजना भएको थियो ।  पहिलो संस्करणमा नेपालले अफिसियलसहित नौ जनालाई सहभागी गरएको थियो । पहिलो संस्करणमा नेपालले एथलेटिक्स खेलमा मात्र खेलाडी सहभागी गराएको थियो । 

त्यस यता नेपालले एसियाली खेलकुदको हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा सहभागिता जनाएको ३५ वर्षपछि आएरमात्र नेपालले एसियाली खेलकुदमा पदक जित्न सकेको थियो । 

नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १०औँ संस्करणमा पहिलो पटक पदक जितेको थियो । एसियाली खेलकुदको त्यो संस्करणमा नेपालले बक्सिङ र तेक्वान्दोमा गरी कुल आठ वटा कांस्य पदक हात पारेको थियो ।

त्यतिबेला तेक्वान्दोमा विधान लामा, राजकुमार राई, राजकुमार वुचे र रामबहादुर घर्ती क्षेत्रीले कांस्य पदक जितेका थिए । बक्सिङतर्फ भने दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कांस्य पदक जितेका थिए । एसियाली खेलकुदमा सहभागिताको ७२ वर्ष लामो इतिहासमा नेपाल पदक तालिकामा भने रजतभन्दा माथि उक्लन सकेको छैन । 

 

मेस्सीले चर्चित बनाएको अमेरिकी व्यावसायिक लिग

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी आबद्ध भएपछि पछिल्लो समय अमेरिकी क्लब इन्टर मियामी चर्चाको शिखरमा छ । इन्टर मियामीमा आबद्ध हुनुअघि ३५ वर्षीय मेस्सीले युरोपकै चर्चित क्लबहरूबाट व्यावसायिक फुटबल खेलेका थिए ।

तर, एकाएक यी अर्जेन्टिनी स्ट्राइकर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेर अमेरिकी क्लबमा आबद्ध हुन पुगेका थिए । त्यो पनि यस्तो क्लबमा, जुन मेस्सी आबद्ध हुनुअघि खासै चर्चामा थिएन । समकालीन विश्व फुटबलका महान् खेलाडी मेस्सी आबद्ध भएसँगै इन्टर मियामी मात्र होइन, अमेरिकी व्यावसायिक फुटबल मेजर लिग सकर (एमएलएस) को चर्चा पनि चुलिएको छ । 

मेस्सी आबद्ध हुने समाचार सार्वजनिक भएलगत्तै २४ घन्टाको अवधिमा सामाजिक सञ्जालमा इन्टर मियामीको ‘फ्यान फलोअर’ समेत चार सय प्रतिशतले बढेको थियो । मेस्सीले युरोप बाहिरको क्लबबाट व्यावसायिक लिग खेलेको यो पहिलो पटक हो । 

मेस्सीले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट खेल्न थालेको १८ वर्ष पुगिसकेको छ । उनले स्पेनिस क्लब बार्सिलोनाको सिनियर टोलीमा पनि १७ वर्ष बिताए भने पछिल्लो दुई सिजन पीएसजीबाट खेले । उनले सिनियर टोलीबाट व्यावसायिक लिग खेल्न थालेको १९ वर्ष पुगिसकेको छ । 

तर, इन्टर मियामीको स्थापना नै सन् २०१८ को जनवरी २९ तारिखमा भएको हो । यो क्लबका तीन जना मालिकमध्ये एक आफ्नो समयका चर्चित खेलाडी डेभिड बेकह्याम हुन् । बेकह्यामसँगै जर्ज मस र होजे मस गरी इन्टर मियामीका थप दुई मालिक छन् । तर, जर्ज मस र होजे मस भने खेलाडी पृष्ठभूमिका व्यक्ति होइनन् । उनीहरू दुवैजना अमेरिकाका खर्बपति व्यापारी हुन् ।

इन्टर मियामीको अध्यक्ष भने बेकह्याम नै हुन् । मेस्सीलाई इन्टर मियामीमा भित्र्याउन पनि बेकह्यामको महत्त्वपूर्ण भूमिका थियो । मेस्सीलाई भित्र्याउनका लागि बेकह्यामले पेरिस पुगेर छलफल गरेका थिए । फ्लोरिडास्थित ‘डीआरभी पीएनके’ इन्टर मियामीको घरेलु रङ्गशाला हो । उक्त रङ्गशाला १८ हजार दर्शक क्षमताको छ ।

युरोपियन व्यावसायिक लिगको तुलनामा मेजर लिग सकर (एमएलएस) को इतिहास खासै लामो छैन । एमएलएसको स्थापना नै केबल २९ वर्षअघि सन् १९९३ को डिसेम्बर १७ तारिखमा भएको हो । एमएलएसको पहिलो संस्करण सन् १९९६ मा आयोजना भएको थियो । 

एमएलएसमा कुल २९ टोली सहभागी हुन्छन् । अमेरिकाका २६ र क्यानडाका तीन क्लबले एमएलएस खेल्छन् । क्यानडाका तीन वटा क्लबलाई सन् २०२३ देखि समावेश गरिएको हो । एमएलएसमा इष्टर्न कन्फरेन्स र वेष्टर्न कन्फरेन्स गरी दुई वटा लिग सँगसँगै अगाडि बढ्छन् । इस्टर्न कन्फरेन्स लिगमा १५ क्लब सहभागी छन् । इन्टर मियामी पनि इस्टर्न कन्फरेन्स लिगमा पर्छ । वेष्टर्न कन्फरेन्स लिगमा भने १४ क्लब सहभागी छन् । 

हालसम्म एमएलएसको २७ वटा संस्करणमात्र सम्पन्न भएका छन् । सबैभन्दा बढी एमएलएसको उपाधि जित्ने क्लब लस एन्जल्स ग्यालेक्सी हो । हालसम्म लस एन्जल्स ग्यालेक्सीले पाँच पटक एमएलएसको उपाधि चुमेको छ । डीसी युनाइटेड क्लबले चार पटक एमएलएसको उपाधि जितेको छ । 

तर, मेस्सी आबद्ध भएपछि एमएलएसको चर्चा एकाएक चुलिएको छ । विश्वभरका सञ्चारमाध्यममा एमएलएस र इन्टर मियामी समाचारको विषय बन्ने गरेका छन् । मेस्सी आबद्ध भएपछि बार्सिलोनाबाटै व्यावसायिक फुटबल खेल्ने केही चर्चित अनुहार पनि इन्टर मियामीसँग जोडिएका छन् । 

बार्सिलोनाका दुई स्टार खेलाडी मेस्सी र सर्जियो बुस्केट्सलाई सन् २०२३ को जुलाई १६ तारिखमा इन्टर मियामीमा औपचारिक रुपमा स्वागत गरिएको थियो । त्यसपछि तेस्रो महत्त्वपूर्ण खेलाडीका रुपमा बार्सिलोनाकै जोर्डी अल्बा पनि इन्टर मियामीमा आबद्ध भएका थिए । 

स्पेनिस राष्ट्रिय टोलीका ३४ वर्षीय कप्तान अल्बा भने बार्सिलोना छाडेर सिधै इन्टर मियामीमा आबद्ध भएका हुन् । यसका अतिरिक्त वर्षको अन्त्यतिर आएर अर्का प्रभावशाली खेलाडी लुइस स्वारेज पनि इन्टर मियामीमा आबद्ध भएका छन् । उरुग्वेका खेलाडी स्वारेजले पनि मेस्सी र अल्बासँगै लामो समय बार्सिलोनाबाट व्यावसायिक फुटबल खेलेका थिए । मेस्सी अहिले इन्टर मियामीका कप्तान पनि हुन् । 

मेस्सीले मियामीमा सानदार घर पनि किनिसकेका छन् । मेस्सीले किनेको नयाँ घर १० हजार पाँच सय स्क्वायर फिटमा फैलिएको छ । ३६ वर्षीय मेस्सीले फ्लोरिडाको लाउडरडेलमा किनेको नयाँ घरमा आठवटा बेडरुम रहेको छ । 

बार्दलीबाट समुद्रको मनोरम दृश्य देख्न सकिने उनको घरमा स्विमिङ पुल, इटालियन शैलीको किचन र तीन वटा गाडी अटाउने ग्यारेजको सुविधा छ । उनको घरमा स्पा र जिमको सुविधा पनि छ । 

मेस्सीले एक करोड सात लाख ५० हजार अमेरिकी डलर (करिब एक अर्ब ४२ करोड पाँच लाख ८७ हजार नेपाली रुपैयाँ) मा उक्त घर खरिद गरेका हुन् । मेस्सी आबद्ध भएपछि इन्टर मियामीले अधिकांश खेलमा जित हात पारेको छ । उनले इन्टर मियामीलाई लिग्स कपको उपाधि पनि चुमाइसकेका छन् । 

 

आठौँ पटक बालोन डी’ओर जित्ने कीर्तिमानी खेलाडी

अर्जेन्टिना तथा इन्टर मियामीका स्ट्राइकर लियोनल मेस्सीले सन् २०२३ मै अर्को महत्त्वपूर्ण कीर्तिमान पनि बनाए । आफ्नै कीर्तिमान तोडेर उनले आठौँ पटक बालोन डी’ओर अवार्ड जिते । गत वर्ष कतारमा भएको विश्वकपमा आफ्नो देशलाई उपाधि जिताउन नेतृत्वदायी भूमिका निर्वाह गरेका मेस्सीलाई पेरिसमा आयोजित समारोहमा बालोन डी’ओर अवार्ड प्रदान गरिएको थियो । मेस्सीले म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हल्यान्डलाई पछि पार्दै अवार्ड जित्न सफल भएका थिए । 

3815800-77567928-2560-1440

विश्वकपको फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गोल गर्ने फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भएका थिए । मेस्सीले अरू खेलाडीभन्दा तीन वटा बढी बालोन डी’ओर अवार्ड जितेका छन् । उनीपछि क्रिस्टियानो रोनाल्डोले पाँच पटक यो अवार्ड जितेका छन् । 

हालान्डले ३५ लिग खेलहरूमा कीर्तिमानी ३६ गोल र सबै प्रतियोगिताहरूमा ५२ गोल गरेपछि सिटीले प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कपको ट्रेबल जितेको थियो । उनलाई गर्ड मुलर ट्रफीमा उत्कृष्ट गोलकर्ताको उपाधि दिइएको थियो ।

इङ्ल्याण्ड र रियल मड्रिडका मिडफिल्डर जुड बेलिङह्यामले २१ वर्ष मुनिका विश्वकै उत्कृष्ट खेलाडीको कोपा ट्रफी जिते । रियलकै विंगर भिनिसियस जुनियरले मैदान बाहिर नस्लवादविरुद्ध गरेको योगदानका लागि सोक्रेटिस अवार्ड प्राप्त गरेका थिए । 

अर्जेन्टिनाको विश्वकप विजेता तथा एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले विश्वकै उत्कृष्ट गोलरक्षकको यासिन ट्रफी पाए । म्यानचेस्टर सिटी भने लगातार दोस्रो वर्ष वर्षको सर्वोत्कृष्ट क्लब घोषित भएको थियो ।

 

रोनाल्डोको वरपर घुमेको साउदी व्यावसायिक लिग

समकालीन विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डो पनि यसै वर्ष अप्रत्याशित रुपमा साउदी अरेबियाको व्यावसायिक लिग खेल्न अल नासरमा आबद्ध भए । ३८ वर्षीय यी पोर्चुगिज खेलाडी निकै ठुलो पारिश्रमिकमा अल नासरमा आबद्ध भएका थिए । 

रोनाल्डो आबद्ध हुनुभन्दा अगाडि साउदी व्यावसायिक लिगको खासै चर्चा हुने गरेको थिएन । तर, रोनाल्डोको आगमनपछि साउदी व्यावसायिक लिग एकाएक विश्व फुटबलमा पनि चर्चाको शिखरमा पुगेको छ । स्थापनाको हिसाबले साउदी अरेबियाको व्यावसायिक फुटबल लिग त नेपालको व्यावसायिक लिगभन्दा पनि निकै कान्छो हो । 

नेपालमा सहिद स्मारक ‘ए’ डिभिजन लिग सन् १९५४ बाट सुरु भएको हो । साउदी प्रिमियर लिग (एसपीएल) सुरु भएको भने भर्खर ४७ वर्ष पुग्दैछ । साउदी अरेबियामा सन् १९७६ बाट व्यावसायिक लिग सुरु भएको हो । तर, स्थापनाको छोटो अवधिमै साउदीको व्यावसायिक लिगले विश्व फुटबलमा निकै ठुलो फड्को मार्दैछ । 

रोनाल्डोजस्ता प्रभावशाली खेलाडी आबद्ध भएपछि पछिल्लो समय विश्वका चर्चित खेलाडीहरुको ध्यान साउदीको व्यावसायिक लिगतर्फ तानिएको छ । विश्व फुटबलका हस्ती खेलाडीहरु एसपीएलमा आबद्ध हुन लालयित देखिन्छन् । स्थापित क्लबहरुबाट युरोपियन लिग खेलिरहेका खेलाडीसमेत एसपीएललाई आफ्नो गन्तब्य बनाउन आतुर देखिन्छन् ।

लामो समय स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेलिसकेका रोनाल्डो त इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेर एसपीएल क्लबमा आबद्ध भएका थिए । रोनाल्डो अल नासरका कप्तान पनि हुन् ।

रोनाल्डोका अतिरिक्त चर्चित ब्राजिलियन खेलाडी नेयमार पनि यसै वर्ष साउदी व्यावसायिक लिग खेल्न अल हिलाल क्लबमा आबद्ध भएका छन् । यसका अतिरिक्त अन्य थुप्रै विश्व चर्चित खेलाडीले साउदी लिगलाई आफ्नो गन्तब्य बनाउँदै आएका छन् । 

फिफा बालेन डी’ओर विजेता फ्रान्सेली खेलाडी करिम बेन्जेमा पनि साउदी व्यावसायिक लिगमा आबद्ध भएका छन् । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड छाडेसँगै प्रभावशाली खेलाडी बेन्जेमाले एसपीएल क्लब अल—इत्तिहादसँग सम्झौता गरेका हुन् । 

साउदीको व्यावसायिक फुटबल लिगमा हाल १८ वटा क्लब आबद्ध छन् । प्रत्येक क्लबले आठ/आठजना विदेशी खेलाडी दर्ता गर्न पाउने नियम छ । खासमा, साउदीको सरकार नै विश्वका प्रभावशाली खेलाडीहरुलाई आबद्ध गरेर एसपीएललाई संसारकै चर्चित लिग बनाउन चाहन्छ । 

हालसम्म रोनाल्डो नै साउदी लिगका सबैभन्दा महँगा खेलाडी हुन् । साउदी व्यावसायिक लिगको इतिहासमै सबैभन्दा धेरै रकम पाउने खेलाडी पनि हुन् रोनाल्डो । उनले प्रत्येक साता ४४ लाख अमेरिकी डलर पारिश्रमिक पाउँछन् । यस आधारमा उनले वार्षिक २० करोड अमेरिकी डलर प्राप्त गर्छन् । यसका अतिरिक्त उनले क्लबबाट अन्य सुविधा पनि पाउँछन् ।

 

सुनिल नरेनको नाममा लेखिएको फरक इतिहास

सन् २०२३ मै वेस्ट इन्डिजका सुनिल नरेन अन्तर्राष्ट्रिय क्रिकेटमा रातो कार्ड पाउने पहिलो खेलाडी बने । वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले पहिलो पटक क्रिकेटमा रातो कार्डको परम्परा सुरु गरेको थियो ।

सोही अनुरुप ‘ट्रिनबागो नाइट राइडर्स’ विश्व क्रिकेटमा रातो कार्ड पाउने पहिलो टोली बनेको थियो । ट्रिनबागो नाइट राइडर्स सुनिल नरेनको टोली हो । त्यसैले सुनिल नरेनले रातो कार्ड पाए । ‘स्लो ओभर रेट’ का कारण ट्रिनबागो नाइट राइडर्स र सुनिल नरेनलाई कारबाही गरिएको थियो । 

सेन्ट किट्स एन्ड नेभिस प्याट्राइट्सविरुद्धको खेलमा रातो कार्ड पाएपछि ट्रिनबागो नाइट राइडर्स अन्तिम समयमा १० खेलाडीमा समेटिएको थियो । क्यारेबियन प्रिमियर लिगको पुरुष तथा महिला दुवै प्रतियोगितामा रातो कार्डको प्रयोग गरिएको थियो । खेलका क्रममा गल्ती गर्ने खेलाडीलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाउन सक्ने अधिकारसम्म अम्पायरलाई दिइएको थियो । 

Sunil-Narine-gets-red-card-in-CPL-2023

क्रिकेटमा यो नियमलाई प्रयोगका रूपमा सुरु गरिएको थियो । क्यारेबियन प्रिमियर लिगमा खासगरी बढ्दो ‘स्लो ओभर रेट’ समस्याका कारण यो नियम लागू गरिएको थियो । त्यसअघि विश्व क्रिकेटमा ‘स्लो ओभर रेट’ मा सम्बन्धित खेलाडीलाई जरिवाना मात्र तिराउने गरिन्थ्यो । तीन पटक ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका कप्तानलाई एक खेलको प्रतिबन्धसम्म लगाउने नियम छ । 

यति हुँदा पनि विश्व क्रिकेट ‘स्लो ओभर रेट’ को समस्याबाट मुक्त हुन सकेको छैन । ‘स्लो ओभर रेट’ का कारण पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न रातो कार्डको नियम लागू गरिएको दाबी क्यारेबियन प्रिमियर लिग आयोजक समितिले गरेको थियो । 

सीपीएलमा रातो कार्ड सम्बन्धी नियमअनुसार, १८औँ ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीको एक जना खेलाडीलाई ३० यार्डको फिल्डिङ सर्कलभित्र बोलाइने छ । यस्तो अवस्थामा फिल्डिङ सर्कलभित्र चारको सट्टा पाँच जना खेलाडी रहने छन् । यसैगरी १९औँ ओभरभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका दुई जना खेलाडीलाई ३० यार्डको सर्कलभित्र बोलाइने छ । यस्तो स्थितिमा ३० यार्डको सर्कलभित्र चारको सट्टा ६ जना खेलाडी थुप्रिने छन् ।

तर, २०औँ तथा अन्तिम ओभरको खेल सुरु हुनुभन्दा अगाडि ‘स्लो ओभर रेट’ देखिएमा सम्बन्धित टोलीका एक जना खेलाडीलाई रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाइने छ । कुन खेलाडीलाई मैदानबाट बाहिर पठाउने भनेर छान्ने अधिकार भने ब्याटिङ गरिरहेको टोलीको कप्तानलाई दिइने छ ।  

 

जसले यो वर्ष खेल जीवनबाट संन्यास लिए

इङ्ल्यान्डका पूर्वस्ट्राइकर थियो वाल्कटले व्यावसायिक फुटबल जीवनबाट पनि संन्यास लिएको घोषणा गरे । वाल्कटले ३४ वर्षको उमेरमा व्यावसायिक खेल जीवनबाट संन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने सन् २०१६ मै संन्यास लिएका थिए । 

GOAL_-_Blank_WEB_-_Facebook

सन् २००६ मा राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका उनले १० वर्षसम्म इङ्ल्यान्डबाट खेलेका थिए । पछिल्लो समय उनी इङ्लिस क्लब साउथ एम्पटनमा आबद्ध थिए । उनी सन् २०२१ मा साउथ एम्पटनमा आबद्ध भएका थिए ।

उनले सन् २००५ मा साउथ एम्पटनकै सिनियर टोलीबाट व्यावसायिक खेल जीवनमा ‘डेब्यू’ गरेका थिए । त्यसपछि उनी अर्को इङ्लिस क्लब आर्सनलमा आबद्ध भएका थिए । उनले सन् २००६ देखि सन् २०१८ सम्म आर्सनलमा बिताएका थिए । उनले आफ्नो व्यावसायिक खेल जीवनको सम्पूर्ण समय इङ्लिस क्लबहरुमै बिताए । आफ्नो २३ वर्ष लामो करिअरमा उनले प्रिमियर लिगमा तीन सय ९७ खेल खेलेका छन् । 

यसैगरी दक्षिण अफ्रिकाका प्रभावशाली क्रिकेटर क्विन्टन डी ककले अप्रत्याशित रुपमा संन्यासको घोषणा गरे । उनले विश्वकपलगत्तै अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन् । उनी दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान र विकेटकिपर हुन् । 

यसैगरी स्विडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले पनि सक्रिय खेल जीवनबाट संन्यास लिएको घोषणा गरे । उनी समकालीन विश्व फुटबलका चर्चित खेलाडीमध्ये एक हुन् । उनले ४१ वर्षको उमेरमा खेल जीवनबाट संन्यास घोषणा गरेका हुन् ।

पछिल्लो समय उनी इटालियन सिरिए क्लब एसी मिलानबाट व्यावसायिक फुटबल खेल्थे । उनी सन् २०२० मा एसी मिलानमा आबद्ध भएका थिए । उनले सन् २००१ देखि लगातार २२ वर्ष स्विडेनको राष्ट्रिय टोलीबाट पनि खेले ।

व्यावसायिक खेल जीवनमा उनले विभिन्न क्लबका लागि पाँच सय ११ गोल गरेका छन् । एसी मिलानका अतिरिक्त उनले अर्को इटालियन क्लब इन्टर मिलानबाट पनि खेलेका थिए । उनले स्पेनिस क्लब बार्सिलोना, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र अमेरिकी क्लब एलए ग्यालेक्सीबाट पनि व्यावसायिक फुटबल खेलेका थिए । इब्राहिमोभिचले विभिन्न चार राष्ट्रको व्यावसायिक लिगमा घरेलु प्रतियोगिताको उपाधि जितेका छन् । 

यसैगरी लगातार १९ वर्ष फुटबल मैदानमा बिताएका प्रभावशाली इटालियन फुटबलर लियोनार्दो बोनुचीले पनि सक्रिय खेल जीवनबाट संन्यास लिने घोषणा गरे । बोनुचीले हालसम्म ८ पटक इटालियन सिरिएको उपाधि जितेका छन् ।

यस्तै इस्टोनियाकी प्रभावशाली टेनिस खेलाडी एनिट कोन्ताभितले सक्रिय खेल जीवनबाट संन्यास घोषणा गरिन् । उनले २७ वर्षको उमेरमै संन्यास लिने घोषणा गरेकी हुन् । एनेट विश्व महिला टेनिस वरीयताको दोस्रो स्थानसम्म पुगेकी खेलाडी हुन् । उनले स्वास्थ्य समस्याका कारण सक्रिय खेलजीवनबाट संन्यास लिएकी हुन् । 

 

विश्वकप खेल्न बेन स्टोक्सको संन्यास फिर्ता 

इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले आईसीसी एकदिवसीय विश्व कप खेल्न संन्यास फिर्ता लिए । संन्यास फिर्ता लिएलगत्तै ३२ वर्षीय स्टोक्सलाई न्युजिल्यान्डविरुद्धको एकदिवसीय शृङ्खला खेल्ने इङ्ल्यान्डको टोलीमा समावेश गरियो । 

स्टोक्सले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको एक वर्षभन्दा लामो समय बितिसकेको थियो । उनले सन् २०२२ को जुलाईमा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए । 

भारतमा आयोजना भएको र्आसीसी एक दिवसीय विश्वकप खेल्न इङ्ल्यान्डका प्रशिक्षक म्याथ्यु मोटले स्टोक्सलाई संन्यास फिर्ता लिन लगाएका थिए । सोही अनुरुप उनले भारतमा आयोजना भएको विश्वकप पनि खेले । 

 

इङ्ल्यान्डका अलराउन्डर स्टुअर्ट ब्रोडको संन्यास

यसै वर्ष इङ्ल्यान्डका प्रभावशाली क्रिकेटर स्टुअर्ट ब्रोडले सक्रिय खेल जीवनबाट संन्यास लिने घोषणा गरे । उनले अस्ट्रेलियाविरुद्धको परम्परागत एसेस टेस्ट शृङ्खला सकिएलगत्तै सक्रिय खेल जीवनबाट संन्यास लिने घोषणा गरेका थिए । 

सन्न्यास लिनुअघि ३७ वर्षीय ब्रोड टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक विकेट लिने बलरको सूचीमा पाँचौँ स्थानमा थिए । टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तीव्र गतिका बलरहरुको सूचीमा ब्रोड दोस्रो स्थानमा थिए । 

ae69acbfae3df6d95ed25306d721759cY29udGVudHNlYXJjaGFwaSwxNjkwNzQ1NDU1-2.73173551

ब्रोडले टेस्ट क्रिकेटमा हालसम्म ६ सय चार विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने १५ रन दिएर आठ विकेट हो । एक दिवसीय क्रिकेटमा पनि उनले एक सय ७८ विकेट लिएका छन् । 

यसैगरी टी–२० क्रिकेटमा पनि ब्रोडले ६५ विकेट लिएका छन् । टी–२० क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २४ रन दिएर चार विकेट हो । पहिलो श्रेणीको क्रिकेटमा भने उनले नौ सय ४८ विकेट लिएका छन् । यसका अतिरिक्त ‘लिस्ट ए’ क्रिकेटमा ब्रोडले दुई सय १६ विकेट लिएका छन् । 

यसैगरी ब्रोडले टेस्ट क्रिकेटमा तीन हजार ६ सय ६२ रन बनाएका छन् । टेस्ट क्रिकेटमा ब्याटिङतर्फ उनको उत्कृष्ट प्रदर्शन एक सय ६९ रन हो । एक दिवसीय क्रिकेटमा उनले पाँच सय २९ रन बनाएका छन् । सन् २००७ को डिसेम्बर ९ देखि १३ तारिखसम्म भएको श्रीलंकाविरुद्धको टेस्टमा उनले ‘डेब्यू’ गरेका थिए । सन् २००६ को अगस्त ३० तारिखमा भएको पाकिस्तानविरुद्धको एक दिवसीय खेलमा उनले पहिलो पटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए । 

 

१४६ वर्ष पूरानो ‘अल ह्वाइट’ नीतिबाट पछि हट्यो विम्बल्डन

विश्व खेलकुदमा निकै पुरानो प्रतियोगितामध्ये एक मानिन्छ विम्बल्डन । टेनिसका चार वटा चर्चित ग्रान्डस्लाम प्रतियोगितामध्ये यो सबैभन्दा पुरानो प्रतियोगिता पनि हो । विम्बल्डन स्थापना भएको एक सय ४६ वर्ष (सन् १८७७) बितिसकेको छ ।

विश्व टेनिसको अर्को महत्त्वपूर्ण प्रतियोगिता यूएस ओपनभन्दा विम्बल्डन चार वर्ष जेठो हो । यूएस ओपनको स्थापन सन् १८८१ मा भएको हो । फ्रेन्च ओपनको स्थापना सन् १८९१ र अस्ट्रेलियन ओपनको स्थापना सन् १९०५ मा भएको हो । 

पुरानो प्रतियोगिता भएकाले पनि अनुशासन, खेलाडीले प्रयोग गर्ने पोसाक र केही परम्परागत नियमहरुमा विम्बल्डनले निकै कडा नीति अपनाउने गरेको पाइन्छ । आफ्ना परम्परागत नीति/नियमहरुबाट रत्तिभर पनि टसमस हुन चाहँदैन विम्बल्डन । 

खेलका क्रममा खेलाडीले लगाउने पोसाकको विषयमा त कठोर देखिन्छन् विम्बल्डनका आयोजक । तर, खेलाडीको पोसाकको विषयलाई लिएर निकै लामो समयदेखि बहस भने चल्दै आएको छ ।

विम्बल्डन खेल्ने प्रत्येक खेलाडीले सेतो पोसाक लगाउनु अनिवार्य छ । खेलाडीको पोसाकको विषयमा ‘अल ह्वाइट’ को नीतिलाई कडाइका साथ पालन गर्दै आएको विम्बल्डनको परम्परा यो वर्ष भङ्ग भएको छ । यो वर्ष लन्डनमा आयोजना भएको विम्बल्डनमा पुरुष खेलाडी सेतो रङकै पोसाकमा सजिएर कोर्टमा ओर्लिए पनि महिला खेलाडीको पोसाकमा क्रम भङ्गता देखिएको थियो । 

unnamed

यस अर्थमा विम्बल्डनको यो संस्करणले एउटा फरक इतिहास रचेको छ । महिला खेलाडीले लामो समयदेखि विम्बल्डनमा प्रयोग हुने पोसाकको विषयमा कुरा उठाउँदै आएका थिए । केही विशेष अवस्थामा सेतो रङ्को पोसाक महिला खेलाडीका लागि असहज हुने उनीहरुको गुनासो थियो । 

खासगरी महिनावारी भएको बेला सेता रङको पोसाक लगाउन असहज हुने महिला खेलाडीको गुनासो थियो । यस विषयमा लामो समयदेखि बहस पनि हुँदै आएको थियो । सञ्चारमाध्यमहरुले पनि यो विषयलाई गम्भीरताका साथ उठाउँदै आएका थिए । 

त्यसैले विम्बल्डन आयोजकमाथि चर्को दबाब पर्दै आएको थियो । अन्ततः अघिल्लो वर्षको नोभेम्बरमा अल इङ्ल्यान्ड क्लबले विम्बल्डनको परम्परालाई चुनौती दिँदै एउटा कठिन निर्णय लियो । त्यो निर्णय थियो, ‘महिला खेलाडीलाई महिनावारी भएको समयमा शरीरको तल्लो भागमा कालो रङको पोसाक लगाउने स्वतन्त्रता दिने ।’ तर, शरीरको माथिल्लो भागको पोसाक भने सेतो नै हुनुपर्छ ।

सोही निर्णयका कारण सन् २०२३ मा आयोजना भएको विम्बल्डनमा थुप्रै महिला खेलाडीले अन्य रङको पोसाक प्रयोग गरेका थिए । विम्बल्डनको एक सय ४६ वर्ष लामो इतिहासमा बेलारुसकी भिक्टोरिया अजारेन्का पहिलो पटक विम्बल्डन कोर्टमा गाढा हरियो रङको पोसाक लगाएर ओर्लिइन् । उनले शरीरको माथिल्लो भागमा सेतो र तल्लो भागमा हरियो रङको पोसाक लगाएकी थिइन् ।

अजारेन्कालाई पछ्याउँदै चेक गणतन्त्रकी १८ वर्षीय लिन्डा फ्रुभिर्तोभा पनि रङ्गिन पोसाक लगाएर कोर्टमा ओर्लिएकी थिइन् । यसैगरी कजाकस्तानकी एलेना राइबाकिनाले पनि विम्बल्डनको संशोधित नियमको फाइदा उठाइन् । २४ वर्षीय राइबाकिना विम्बल्डनकी साविक विजेता पनि हुन् । खेलमा राइबाकिनाकी अमेरिकी प्रतिद्वन्द्वी सिल्बी रोजर्स पनि रङ्गिन पोसाकमै कोर्टमा ओर्लिएकी थिइन् ।

मुख्य कोर्टमा आर्यना साबालेन्का र पाना युडभार्डीबिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा आर्यना ६—३, ६—१ अङ्कले विजयी भइन् । तर, दुवै खेलाडीमा एउटा समानता थियो । आर्यना र पाना दुवै रङ्गिन पोसाकमै कोर्टमा ओर्लिएका थिए ।

यसअघि रुसकी पूर्वखेलाडी तातियाना ग्लोभिन सन् २००७ मा शरीरको तल्लो भागमा रातो रङको पोसाक लगाएर कोर्टमा ओर्लिएकी थिइन् । त्यसपछि उनलाई आयोजकले तत्काल चेतावनी दिए । उनले यस विषयमा आफूलाई जानकारी नभएको स्पष्टीकरण दिएकी थिइन् । तर, विश्व टेनिसमा धेरैले तातियानाको उक्त व्यवहारलाई सांकेतिक विरोधको रुपमा लिएका थिए । 

सन् २०१३ मा चर्चित स्विस खेलाडी रोजर फेडेरर पनि सुन्तला रङको जुत्ता लगाएर कोर्टमा ओर्लिएका थिए । तत्कालै उनले आयोजकबाट चेतावनी पाएका थिए । त्यसपछि फेडेररले रङ्गिन जुत्ता फुकाल्नु परेको थियो । 

यसैगरी अघिल्लो वर्ष अस्ट्रेलियन खेलाडी निक किर्गियस फाइनलमा पराजित भएका थिए । उपविजेताको पुरस्कार लिन जाँदा उनले रातो रङको क्याप (टोपी) लगाएका थिए । त्यसपछि उनले पनि आयोजकबाट चेतावनी पाएका थिए । 

जब भलिबल हेर्न उपस्थित दर्शक संख्याले विश्व कीर्तिमान बनायो

 

सामान्यतः विश्व खेलकुदमा सबैभन्दा बढी दर्शक ओइरिने खेल भनेको फुटबल हो । केही राष्ट्रमा क्रिकेट खेल हेर्न पनि रङ्गशालामा दर्शक खचाखच भरिएका हुन्छन् । अन्य खेलमा भने ठूलो संख्यामा दर्शक उपस्थित भएको पाइँदैन । 

यो वर्ष अमेरिकामा आयोजना भएको नेबरास्का भलिबल प्रतियोगिता हेर्न उपस्थित दर्शकको संख्याले भने विश्व कीर्तिमान नै बनायो । सिकागोमा आयोजित भलिबल प्रतियोगिता हेर्न ९२ हजारभन्दा बढी दर्शक उपस्थित भएका थिए ।

nebraska_volleyball_2

कुनै पनि महिला खेलमा यतिधेरै दर्शक उपस्थित भएको यो पहिलो पटक हो । उक्त खेल नेबरास्का र ओमाहाबिच भएको थियो । खेल स्थानीय विद्यालयको फुटबल मैदानमा खेलिएको थियो । खेल हेर्न ९२ हजार तीन जना दर्शक उपस्थित भएका थिए ।

यसअघि महिला खेलकुदमा सर्वाधिक दर्शकको कीर्तिमान गत वर्ष बार्सिलोना र रियल म्याड्रिडबिच भएको फुटबल खेलले बनाएको थियो । बार्सिलोना र रियल म्याड्रिडबिचको उक्त खेल च्याम्पियन्स लिगअन्तर्गत भएको थियो । उक्त खेलमा ९१ हजार ६ सय ४८ दर्शक उपस्थित भएका थिए ।

नेबरास्का र ओमाहाबिचको उक्त भलिबल खेल प्रदर्शनी खेल थियो । यसअघि भलिबल खेल हेर्न २० हजारको हाराहारीमा दर्शक आउने गरेका थिए । यो प्रदर्शनी खेलका लागि भने निकै अघिदेखि प्रचारप्रसार गरिएको थियो ।

अमेरिकामा यति धेरै समर्थक खेल हेर्न उपस्थित भएको यो पहिलो पटक हो । सन् १९९९ मा आयोजित फिफा महिला विश्वकपमा आयोजक अमेरिका र चीनबिचको खेल हेर्न ९० हजार एक सय ८५ दर्शक उपस्थित भएका थिए । 

 

प्रतिबन्धमा परिन् सिमोना हालेप

यो वर्ष विश्व टेनिसकी चर्चित खेलाडी सिमोना हालेप प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा प्रतिबन्धमा परिन् । पछिल्लो समय विश्व खेलकुदमा प्रतिबन्धित औषधि सवेन गर्ने एकपछि अर्को घटना सार्वजनिक हुँदैछन् । 

केही दिनअघि मात्र इटालियन सिरिए क्लब युभेन्ट्सका प्रभावशाली फुटबलर पल पोग्बा पनि प्रतिबन्धित औषधि सेवन गरेको आरोपमा निलम्बनमा परेका थिए । रोमानियाकी ३१ वर्षीय खेलाडी हालेप दुई पटककी ग्रान्डस्लाम च्याम्पियन हुन् । 

download (1)

हालेपले विश्व टेनिसकै चर्चित प्रतियोगिता विम्बल्डन र फ्रेन्च ओपनको उपाधि जितेकी छन् । उनले सन् २०१८ मा फ्रेन्च ओपन र सन् २०१९ मा विम्बल्डनको उपाधि चुमेकी थिइन् । हालेपमाथि चार वर्षको प्रतिबन्ध लगाइएको छ । 

गत वर्ष सम्पन्न ग्रान्डस्लाम प्रतियोगिता यूएस ओपनका क्रममा उनले प्रतिबन्धित औषधि सेवन गरे–नगरेको परीक्षण गरिएको थियो । त्यसमा उनी असफल भएकी थिइन् । त्यसपछि दोस्रो परीक्षणमा पनि उनी असफल भएकी थिइन् । 

 

जसलाई हामीले गुमायौँ : लुइस स्वारेज

सन् २०२३ मा विश्व खेलकुदले केही चर्चित खेलकर्मीलाई गुमाएको पनि छ । आफ्नो समयमा राष्ट्र र क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै लाखौँ समर्थकको मन जितेका खेलकर्मीहरुको निधनले धेरै समर्थकलाई निराश पनि बनाएको छ । 

230710103443-01-luis-surez-obit

यो वर्ष विश्व खेलकुदले गुमाएको एक खेलकर्मी हुन् लुइस स्वारेज । उनी आफ्नो समयका चर्चित फुटबल खेलाडी थिए । उनले सन् १९५७ देखि १९७२ सम्म स्पेनको राष्ट्रिय टोलीबाट खेलेका थिए । उनको ८८ वर्षको उमेरमा सन् २०२३ को जुलाई ९ तारिखमा निधन भएको हो ।

स्वारेजले युरोपका चर्चित क्लबहरुबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । स्पेनिस क्लब डेपोर्टिभो ला कोरुनाबाट व्यावसायिक फुटबल खेल्न थालेका उनले त्यसपछि अर्को स्पेनिस क्लब बार्सिलोना तथा इटालियन क्लब इन्टर मिलान र साम्पडोरियाबाट पनि खेलेका थिए ।

 

जसलाई हामीले गुमायौँ : ट्रेभर फ्रान्सिस

आफ्नो समयका चर्चित फुटबल खेलाडी हुन्, ट्रेभर फ्रान्सिस । उनले लामो समय इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए । उनी सन् १९७७ देखि सन् १९८६ सम्म इङ्ल्यान्डको राष्ट्रिय टोलीको महत्त्वपूर्ण सदस्य थिए ।

सन् २०२३ को जुलाई २४ तारिखमा केवल ६९ वर्षको उमेरमा उनको हृदयघातका कारण निधन भएको थियो । आफ्नो समयका प्रभावशाली स्ट्राइकर फ्रान्सिसले विभिन्न क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए । 

skynews-trevor-francis-obit_6228906

फ्रान्सिसले बर्मिङ्घम सिटी, नटिङ्घम फरेष्ट, म्यानचेस्टर सिटी, साम्पडोरिया, एटलान्टा, क्विन्स पार्क रेन्जर्सलगायतका क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए । यस बाहेक उनले लामो समय प्रशिक्षकको भूमिकामा पनि काम गरेका थिए । 

उनले क्विन्स पार्क रेन्जर्स, सेफिल्ड वेडनसडे, बर्मिङ्घम सिटी र क्रिस्टल प्यालेसमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् २००३ पछि भने उनी प्रशिक्षकको भूमिकाबाट पनि टाढिएका थिए । उनी १० लाख पाउण्ड पारिश्रमिक लिने पहिलो ब्रिटिस फुटबल खेलाडी पनि हुन् । 

 जसलाई हामीले गुमायौँ : हिथ स्ट्रीक

आफ्नो समयका प्रभावशाली क्रिकेटर हुन् हिथ स्ट्रीक । जिम्बावेका लागि टेष्ट र एक दिवसीय क्रिकेटमा सर्वाधिक विकेट लिने पूर्वक्रिकेटर हिथ स्ट्रीकको सन् २०२३ को सेप्टेम्बर ३ तारिखमा ४९ वर्षको उमेरमा निधन भएको हो । 

हिथ स्ट्रीकले जिम्बावे क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै सन् १९९३ र सन् २००५ को बिचमा ६५ टेस्ट र एक सय ८९ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उनले टेस्टमा दुई सय १६ र एक दिवसीय अन्तर्राष्ट्रियमा दुई सय ३९ विकेट लिएका थिए । 

heath-streak-cancer

जिम्बावेको क्रिकेटमा हिथ स्ट्रीकको यो कीर्तिमान हालसम्म पनि कायमै छ । 

हिथ स्ट्रीकले सन् २००० देखि सन् २००४ सम्म जिम्बावे क्रिकेट टोलीको कप्तानी पनि गरेका थिए । उनले जिम्बाबेका लागि ६८ वटा एकदिवसीय खेलमा कप्तानी गरेका थिए । उनले कप्तानी गरेको खेलमा जिम्बावेले १८ जित र ४७ हारको नतिजा निकालेको थियो । 

यसैगरी उनको कप्तानीमा खेलेका २१ टेस्टमध्ये जिम्बाब्वेले चार खेल जितेको थियो । क्रिकेटबाट संन्यास लिएपछि हिथ स्ट्रीक जिम्बावे र बंगलादेश लगायत धेरै अन्तर्राष्ट्रिय टोलीका प्रशिक्षक पनि बनेका थिए । उनी आईपीएल टोली कोलकाता नाइट राइडर्ससँग पनि आबद्ध थिए ।

 जसलाई हामीले गुमायौँ : पिलु रिपोर्टर 

पिलु रिपोर्टर आफ्नो समयका चर्चित अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर थिए । सन् २०२३ को सेप्टेम्बर ३ तारिखमा उनको ८४ वर्षको उमेरमा भारतको मुम्बईमा निधन भएको थियो । उनी लामो समयदेखि मस्तिष्क सम्बन्धी रोगबाट पिडीत रहँदै आएका थिए । 

पिलु रिपोर्टर अम्पायरिङका क्रममा बाउन्ड्रीको संकेत गर्ने आफ्नैखाले विशेष शैलीका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित थिए । उनले १४ टेस्ट म्याचमा अम्पायरिङ गरेका थिए । यसका अतिरिक्त उनले २२ वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि अम्पायरको भूमिका निर्वाह गरेका थिए ।

यसैगरी उनले सन् १९९२ को आईसीसी एक दिवसीय विश्वकपमा पनि अम्पायरको भूमिका निर्वाह गरेका थिए । पिलु रिपोर्टरले सन् १९८४ मा इङ्ल्यान्डको भारत भ्रमणका क्रममा पहिलो पटक अम्पायरको भूमिका निर्वाह गरेका थिए ।

 

जसलाई हामीले गुमायौँ : सर बबी चार्लटन

इङ्ल्यान्डलाई सन् १९६६ मा विश्वकप फुटबलको उपाधि जिताउने ऐतिहासिक टोलीका महत्त्वपूर्ण सदस्य हुन् सर बबी चार्लटन । उनको सन् २०२३ को अक्टोबर २१ तारिखमा ८६ वर्षको उमेरमा निधन भएको हो । 

आफ्नो समयका प्रभावशाली खेलाडी बबी चार्लटनले सन् १९५८ देखि सन् १९७० सम्म इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका थिए । चार्लटनले इङ्ल्यान्डका लागि एक सय ६ खेल खेलेका थिए । उनले इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ४९ गोल पनि गरेका थिए । त्यतिबेला यो आफैँमा कीर्तिमान थियो ।

यसका अतिरिक्त उनले इङ्ल्यान्डको विभिन्न उमेर समूहको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए । उनले आफ्नो सक्रिय खेल जीवनको अधिकांश समय म्यानचेस्टर युनाइटेडमा बिताएका थिए । उनले सन् १९५६ देखि सन् १९७३ सम्म म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेलेका थिए ।

त्यसैले पनि सर बबी चार्लटनलाई म्यानचेस्टर युनाइटेडको पर्यायका रुपमा हेरिन्छ । उनले करिब १७ वर्ष म्यानचेस्टर युनाइटेडमा रहँदा क्लबलाई तीन वटा लिग उपाधि, एउटा युरोपियन कप र एउटा एफए कपको उपाधि चुमाएका थिए। 

 

जसलाई हामीले गुमायौँ : बिसनसिंह बेदी

बिसनसिंह बेदी भारतका पूर्वक्रिकेटर हुन् । उनी आफ्नो समयका प्रभावशाली स्पिनर थिए । सन् २०२३ को अक्टोबर २३ तारिखमा उनको ७७ वर्षको उमेरमा निधन भएको हो । उनले भारतका लागि टेस्ट र एक दिवसीय अन्तर्राष्ट्रिय ढाँचाको प्रतियोगिता खेलेका थिए । 

बेदीले ६७ टेस्टको एक सय १८ पालीमा दुई सय ६६ विकेट लिएका थिए । टेस्ट क्रिकेटको एक पालीमा उनको उत्कृष्ट प्रदर्शन ९८ रन दिएर सात विकेट थियो । उनले भारतका लागि १० वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका थिए ।

GettyImages-160638007-scaled-e1600928393116-980x530

एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले सात विकेट लिएका थिए । एक दिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन ४४ रन दिएर दुई विकेट हो । यसका अतिरिक्त उनले टेस्ट क्रिकेटमा ६ सय ५६ र एकदिवसीय क्रिकेटमा ३१ रन पनि बनाएका थिए । 

प्रथम श्रेणीको क्रिकेटमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो । उनले प्रथम श्रेणीको क्रिकेटमा तीन सय ७० खेल खेल्दै एक हजार पाँच सय ६० विकेट लिएका थिए । त्यतिबेला प्रथम श्रेणीको क्रिकेटमा यो निकै महत्त्वपूर्ण उपलब्धि थियो ।

 

जसलाई हामीले गुमायौँ : सलिम दुरानी

आफ्नो समयका चर्चित भारतीय क्रिकेटर सलिम दुरानीको सन् २०२३ को अप्रिल २ तारिखमा निधन भएको हो । उनको निधन क्यान्सर रोगका कारण भएको हो । उनले भारतीय टोलीका लागि टेस्ट क्रिकेट खेलेका थिए । उनी आफ्नो समयका अलराउन्डर खेलाडी थिए ।

भारतका लागि उनले २९ टेस्टको ५० पालीमा कुल एक हजार दुई सय दुई रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर १०४ रन हो । उनले टेस्ट क्रिकेटमा एक शतक र सात वटा अर्धशतक प्रहार गरेका थिए । 

दुरानीले टेस्ट क्रिकेटमा ७५ विकेट पनि लिएका थिए । बलिङतर्फ टेस्टको एक पालीमा उनले ७३ रन खर्चिएर ६ विकेट लिएका थिए । आक्रामक ब्याट्सम्यानको छवि बनाएका दुरानीले देशका लागि एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता भने खेलेनन् । 

यसका अतिरिक्त उनले प्रमथ श्रेणीको क्रिकेटमा पनि एक सय ७० खेल खेल्दै कुल आठ हजार पाँच सय ४५ रन बनाएका थिए । प्रथम श्रेणीको क्रिकेटमा उनले चार सय ८४ विकेट पनि हात पारेका थिए । आफ्नो सुन्दरताका कारण पनि उनी समर्थकहरुमाझ निकै लोकप्रिय थिए । सन् १९७० को दशको प्रारम्भमा उनले त्यतिबेलाकी चर्चित भारतीय नायिका परविन बबीसँग एउटा चलचित्र पनि खेलेका थिए । 

 

जसलाई हामीले गुमायौँ : इजाज बट

पाकिस्तानी क्रिकेटर इजाज बटको सन् २०२३ अगस्त ३ तारिखमा ८५ वर्षको उमेरमा निधन भएको हो । उनी पाकिस्तानी टोलीका विकेटकिपर ब्याट्सम्यान थिए । उनले पाकिस्तानका लागि टेस्ट क्रिकेट मात्र खेलेका थिए । 

इजाज बटले पाकिस्तानका लागि आठ टेस्ट खेल्दै दुई सय ७९ रन बनाएका थिए । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन ५८ रन थियो । यसका अतिरिक्त उनले प्रथम श्रेणीको क्रिकेटमा पनि ६७ खेल खेल्दै कुल तीन हजार आठ सय ४२ रन बनाएका थिए । 

प्रथम श्रेणीको क्रिकेटमा उनले तीन विकेट पनि लिएका थिए । खेलाडीका अतिरिक्त उनले पाकिस्तानी क्रिकेटलाई पदाधिकारीको रुपमा पनि सेवा गरेका थिए । उनी सन् १९८७ को आईसीसी एकदिवसीय विश्वकप आयोजक समितिका सदस्य पनि थिए । 

यसैगरी उनी सन् १९८० को दशकमा पाकिस्तान क्रिकेट बोर्डका सचिव पनि भएका थिए । उनले पाकिस्तान क्रिकेट बोर्डको नेतृत्व पनि सम्हालेका थिए । उनले सन् २००८ देखि सन् २०११ सम्म क्रिकेट बोर्डको नेतृत्व गरेका थिए । 

 

जसलाई हामीले गुमायौँ : बार्ट विलियम्स

इङ्लिस फुटबल क्लब सेफिल्ड वेड्नसडेका र नटिङ्घम फरेष्टका पूर्वखेलाडी क्रिस बार्ट विलियम्सको यसै वर्ष निधन भयो । बार्ट विलियम्सको ४९ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । पछिल्लो समय उनी अमेरिकामा प्रशिक्षकको भूमिकामा सक्रिय थिए । 

बार्ट विलियम्सले आफ्नो खेल जीवनको सुरुआत लेटन ओरियन्टबाट गरेका थिए । त्यसपछि सन् १९९१ मा उनी सेफिल्ड वेड्नसडेमा आबद्ध भएका थिए । सन् १९९५ सम्म उक्त क्लबमा रहँदा बार्ट विलियम्सले एक सय खेल खेलेका थिए । 

उनी सन् १९९५ मा नटिङ्घम फरेष्टमा आबद्ध भएका थिए । सन् २००२ सम्म उक्त क्लबमा रहँदा उनले दुई सयभन्दा बढी खेल खेलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप