सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘ताकुकोटलाई युद्ध पर्यटन हबका रूपमा विकास गर्दै छौँ’

सोमबार, १६ पुस २०८०, १३ : ०१
सोमबार, १६ पुस २०८०

गत बुधबार बिहान गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको कार्यालय पुग्दा अध्यक्ष विष्णुप्रसाद भट्ट निकै व्यस्त देखिन्थे । गाउँपालिकाको पहलमा स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री कार्यक्रम राखिएको थियो । प्रमुख अतिथिका रूपमा निम्त्याइएका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । विशेष अतिथिका रूपमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डे थिए । मञ्च व्यवस्थापन, कार्यक्रम व्यवस्थापन तथा अतिथि सत्कारको तयारीका लागि भ्याइनभ्याइ थियो । 

२०७४ को निर्वाचनमा सहिद लखन गाउँपालिका र सुलीकोट गाउँपालिका माओवादीले जितेको थियो । गोरखामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । २०७९ को निर्वाचनमा अघिल्लो चुनावी परिणाम उल्ट्याउँदै सिरानचोक गाउँपालिका र आरुघाट गाउँपालिकाबाहेक सबै पालिकामा माओवादी विजयी हुन सफल भयो । तर यी दुवै निर्वाचनमा भट्ट विजयी हुन सफल भए । पालिकामा खासगरी सडक, खानेपानीमा उनको काम लोभलाग्दो थियो । गाउँ अवलोकन गर्दा भट्टप्रति नागरिकको गुनासो देखिएन । 

माओवादीको आधार क्षेत्र रहेको गोरखामा उतारचढावपूर्ण चुनावी परिणाम, पालिकामा देखिएको समस्या, पार्टीको रूपान्तरण अभियान र सङ्घीय सरकारबाट प्राप्त सहयोगको विषयमा रातोपाटीका सहकर्मी गणेश पाण्डेले अध्यक्ष भट्टसँग उनकै कार्यकक्षमा सङ्क्षिप्त कुराकानी गरेका छन्–  

  • चारैतिर माओवादी धराशायी भएको अवस्थामा तपाईंले दुई दुई पटक निर्वाचन जित्न कसरी सम्भव भयो ? 

हिजो गोरखामा माओवादी निकै बलियो हो । पटक पटक पार्टी विभाजनको नकारात्मक असर चुनावी परिणामा परेको हो । अघिल्लो निर्वाचनमा दुईवटा पालिकाबाहेक अन्य स्थानमा हार बेहोर्नुप¥यो । मुख्य कारण पार्टी विभाजन हो । आरुघाटबाहेक  सबै गाउँपालिकामा विभाजित मत जोड्दा सहजै विजयी हुने अवस्था थियो । 

पछिल्लो पटक समग्रमा सङ्गठनात्मक रूपमा साथीहरूले मेहनत गर्नुभयो । त्यतिबेला माओवादीले जितेको पालिकाले साख जोगाउन ठुलो सहयोग ग¥यो । यसको सकारात्मक प्रभाव सबै ठाउँमा प¥यो । अर्कोतिर तत् तत् पालिकाका साथीहरूले धेरै मेहनत गर्नुभयो । चुनाव हारे पनि गाउँ नछोडी जनताको सेवा गर्नेलाई छोडेर हामीले गल्ती गरेछौँ भन्ने जनतालाई भयो । अन्यत्र हामीले जितेका गाउँपालिकामा भएको काम देखेर उहाँहरू लोभिए । यीनै पूरक फ्युजनमा जनसमुदायले माओवादीलाई रोज्नुभयो । जिल्लामा सकारात्मक नतिजा आयो । 

  • दुई पटक कार्यकाल सम्हाल्दै गर्दा जनताका आवश्यकता र समस्या केके रहेछन् ? 

समस्याको कुरै नगरौँ । हाम्रो गाउँपालिका अप्ठ्यारो भूगोलमा छ । १ र २ बारपाक एक चरित्रको छ । सुँहारा सोरपानी अर्को चरित्रको छ । हुडी खोलामा पुल बन्न सकेको छैन । बाहै्रकाल चल्ने सडक छैन । बर्खाको चार महिना काम अवरुद्ध हुन्छ । बारपाकबाट यहाँ हिँडेर आउन ७–८ घण्टा लाग्छ । दैनिक अप्ठ्यारो स्थितिमा जनताले दुःख भोगिरहेका छन् । यसलाई छिचोल्नका लागि हामीले प्रयास जरुर गरेका छौँ । हाम्रो मात्र तागतले मेटिएको छैन । 

यस विषयमा प्रधानमन्त्री र मुख्यमन्त्रीसँग पटक पटक पैरवी गरिरहेका छौँ । यद्यपि सीमित स्रोत र साधनको बाबजुद पनि भौतिक पूर्वाधारमा धेरै खर्च गरेका छौँ । सामाजिकतर्फ शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा अलि खर्च गर्न सकिरहेका  छैनौँ । तैपनि सम्भव भएसम्म जनताको सेवामा निरन्तर लागिरहेका छौँ ।

सुरुमा हाम्रो गाउँपालिका धेरै नै विवाद थियो । त्यसलाई सल्ट्याउँदै सेवा दिने संरचना बनाएका छौँ । यो संरचना हामीले मेहनत गरेर बनाएका छौँ । अब हाम्रो पहिलो ध्यान सडकमा छ । सडकसँगै १५ शय्याको सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पताल निर्माण भइसकेको छ । त्यसको भित्री भाग, सफ्टवेयरको काम, कर्मचारी र डाक्टर व्यवस्थापन गर्न बाँकी छ । बारपाकमा प्राविधिक शिक्षालयमा कृषि र भेटनरीको पढाइ भइराखेको छ । धेरै राम्रो भएको छ । कृषि प्राविधिक उत्पादन गरेर स्थानीय स्तरमा उत्पादन वृद्धि गर्ने लक्ष्य छ । 

  • माओवादी युद्धकालमा दोहोरो भिडन्त भएको ताकुकोट, सहिद दिलबहादुर रम्तेल स्मृति पार्कलाई युद्ध पर्यटकीय क्षेत्रमा विकास गर्न सकिने सम्भावना छ, त्यसका लागि केके गर्नुभएको छ ? 

यहाँको महत्त्वपूर्ण सवाल भनेको पर्यटन हो । बारपाक राष्ट्रिय पर्यटन हब रहेको छ । ताकुकोटलाई पनि युद्ध पर्यटन हबका रूपमा विकास गर्ने योजना बनाइरहेका छौँ । त्यसलगायत अन्यमा संरचना बढाएर काम गर्ने सम्बन्धमा काम भइरहेको छ । 

  • तपाईंकै अध्यक्ष प्रचण्ड अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँ यही क्षेत्रका निर्वाचित सांसदसमेत हुन् । गठबन्धनबाट कांग्रेसका निर्वाचित प्रदेश सांसद पाण्डे अहिले मुख्यमन्त्री हुनुहुन्छ । काम गर्न धेरै सहज भएको होला नि ? 

निश्चित रूपमा प्रधानमन्त्री यहीँबाट निर्वाचित हुनुभएको हो । उहाँको कार्यक्षेत्र यहाँ मात्र होइन देशैभरी छ । अहिले निम्तिएको प्रतिकूल आर्थिक स्थितिले समस्या देखिएको छ । यद्यपि हामीले अपेक्षा गरेबमोजिम काम हुन नसके पनि राज्यको तर्फबाट सहजीकरण भइरहेको छ । सुरुमा परिस्थितिलाई बुझ्न केही समय लाग्यो होला । जनताले प्रत्यक्ष अनुभूति गर्ने हिसाबले नै उहाँको सकारात्मक सहयोग मिल्नेमा हामीले विश्वास गरेका छौँ । 

पूर्वाधार विकासलगायत पर्यटक विकास पनि यसमै जोडिएका छन् । हाम्रो आन्तरिक स्रोत खासै छैन । सङ्घीय स्रोतको विकट भूगोलमा खर्च गर्ने बाध्यताले अप्ठ्यारो भइरहेको छ । सङ्घ र प्रदेशको हकमा मुख्यमन्त्री पनि यही क्षेत्रका भएकाले उहाँहरूको सहयोगमा अगाडि बढ्ने हिसाबले काम गरिरहेका छौँ । 

  • संविधान जारी भएको ८ वर्ष वितिसक्दासमेत सङ्घीयता कार्यान्वयसम्बन्धी कानुन बन्न सकेको छैन । कत्तिको समस्या झेलिरहनुभएको छ ? 

यो एकदम महत्त्वपूर्ण प्रश्न हो । सङ्घीयतालाई व्यवस्थित गर्न र स्थानीय तहलाई काम गर्न सङ्घ र प्रदेशले थुप्रै कानुन बनाउनुपर्नेछ । बनेका कानुन पनि स्थानीय तह मैत्री भइराखेको छैन । छलफल परामर्शको अभाव छ । स्थानीय तहमा कर्मचारीको वृद्धि विकासका लागि अवरोध भइराखेको छ । कार्यसम्पादनमा असर परिरहेको छ । त्यसैले प्रधानमन्त्री र मुख्यमन्त्रीसँग बारम्बार भनिराखेका छौँ । हामीलाई आवश्यक पर्ने कानुन बनाउनुपर्छ । स्थानीय सरकारको माग सम्बोधन हुनेगरी बनाउनुपर्छ । यस विषयमा सङ्घ र प्रदेश सरकारसँग पैरवी गरिराखेका छौँ । 

  • अर्को प्रसङ्ग, पार्टीको रूपान्तरण अभियान सकिँदैछ । चार महिने अभियानले पार्टी रूपान्तरणमा मद्दत गरेको छ कि छैन ? 

जनतासँग माओवादी विशेष रूपान्तरण अभियान हाम्रो गाउँपालिकामा निकै सकारात्मक रूपमा परेको छ । पार्टी अहिले पूरै पुनर्गठित भएको छ । सङ्गठन मजबुद भइरहेको छ । राष्ट्रव्यापी रूपमा म भन्न सक्दिनँ । यहाँको हकमा अभियानले राम्रो काम भइराखेको छ । 

  • आगामी निर्वाचनमा पार्टीलाई पुरानै लयमा फकाउने आत्मविश्वास जागेको  छ कि छैन ? 

आगामी दिनमा माओवादीको स्थिति कमजोर हुन नदिनका निम्ति सबल बनाउने हिसाबले हामी लागिरहेका छौँ । बलियो शक्तिका रूपमा माओवादी फेरि स्थापित हुनेमा हामी विश्वस्त छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप