शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

हात्तीको आक्रमण रोक्न प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री उप्रेती

मङ्गलबार, १७ पुस २०८०, १७ : २१
मङ्गलबार, १७ पुस २०८०

विराटनगर । कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले प्रदेशमा भइरहेको हात्ती आक्रमण रोक्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मङ्गलवार प्रदेशसभामा शून्य तथा विशेष समयमा मन्त्रालयसँग सम्बन्धित रहेर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री उप्रेतीले हात्तीले निम्त्याएको आतङ्कका विषयमा सरकार गम्भीर भएको बताएका हुन् ।

झापा, मोरङ र सुनसरी गरी कोशी प्रदेशका तीन जिल्लामा हात्ती र मानवबिच द्वन्द्व चर्किएको छ । हात्तीकै विषयमा मङ्गलवार प्रदेशसभाभित्र सांसदहरूले केन्द्रित भई सवाल उठाएका थिए । जसको जवाफ दिने क्रममा मन्त्री उप्रेतीले हात्ती प्रकोप रोक्न अल्पकालीन र दीर्घकालीन गरी दुई उपाय सुझाए ।

‘हामीले बजेटमै हात्ती करिडोर बनाउने भनेर व्यवस्था गरेका थियौँ, त्यो काम सरकारले अगाडि बढाएको छ,’ उनले भने, ‘हात्तीको प्रकोप वन विनाशसँग जोडिएको छ । यो विषयमा मुख्यमन्त्रीज्यूले यसअघि सदनमै बताइसक्नुभएको छ ।’

‘अहिले हामीले जुन ढङ्गले वन विनाश गरिरहेका छौँ, त्यसले पनि वन्यजन्तु मानववस्ती पुगेर वासस्थान तय गर्नुपर्ने बाध्यतामा छन्,’ उनले थपे, ‘यसले वन्यजन्तु र मानवबिच हिंसा उत्पन्न हुने परिस्थिति बनेको छ ।’ सरकारले तत्कालै हात्ती करिडोर क्षेत्र बनाउने र वन्यजन्तुमैत्री जङ्गल व्यवस्थापन प्रक्रियाबाट अगाडि बढाउने बताउँदै मन्त्री उप्रेतीले त्यसको स्थायी समाधान हुने औँल्याए । उनले हात्ती करिडोर क्षेत्र बनाउन सबैको सहकार्य आवश्यक हुने बताए ।

वन्यजन्तुमैत्री वन–जङ्गल व्यवस्थापन मात्रै हात्ती प्रकोपको दिगो समाधान हुने उनले बताए । हात्ती प्रकोपको अल्पकालीन समाधानका लागि वन मन्त्रालय अन्तर्गतका डिभिजन कार्यालयहरूले सम्बन्धित ठाउँमा सुरक्षा संयन्त्र परिचालन गर्नेदेखि लिएर सचेतनाका कार्यक्रमहरू भएको मन्त्री उप्रेतीको भनाइ छ ।

साथै उनले हात्ती भारतीय र नेपाली नहुने पनि उल्लेख गरे । ‘हात्तीको कुनै नागरिकता हुँदैन,’ उनले भने, ‘हिजो भर्खरै हात्ती मारिएछ, गोली हानेको आशङ्का छ । त्यसरी हात्ती मार्न पाइँदैन ।’ हात्तीको आक्रमणमा परी मृत्यु भएकाको परिवारलाई राहत र क्षतिपूर्ति स्वरूप किरिया खर्चबापत ५० हजार दिइएको र क्षतिपूर्तिका लागि पहल थालिएको उनले बताए ।

बाली र घरको क्षतिका विषयलाई लिएर अहिलेसम्म कुनै निवेदन नपरेको उल्लेख गर्दै मन्त्री उप्रेतीले त्यस्ता निवेदन आएमा क्षतिपूर्ति उपलब्ध गराइने पनि उल्लेख गरे । मन्त्री उप्रेतीले प्रदेश नामकरणको विषयमा उठेका जिज्ञासाहरूलाई प्रस्ट्याउँदै सोमबार पहिचान पक्षधरहरूसँग मुख्यमन्त्री केदार कार्कीले वार्ताका लागि पहल गरेको जनाए ।

उनले पछिल्लो समय बहुवर्षीय योजनाहरू अलपत्र पर्ने गरेको बताउँदै प्रदेश सरकारले सबै बहुवर्षीय योजनाहरूको अनुगमन गरी सम्बन्धित कार्यालयहरूमा काम अगाडि बढाउन पहल गरिसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप