विजय मल्ल शताब्दी महोत्सव
सारांश
- नइ एकेडेमीले नेपाली साहित्यका विभूतिहरूको सम्मान गर्ने क्रममा विजय मल्लको शताब्दी महोत्सव आयोजना गरेको छ।
- नइले यसअघि बालकृष्ण सम, देवकोटा, भानुभक्त, माधव घिमिरे, वानीरा गिरी, डा. सत्यमोहन जोशी र प्रा.डा. वासुदेव त्रिपाठीको सम्मानमा विभिन्न कार्यक्रमहरू आयोजना गरिसकेको छ।
- विजय मल्ल शताब्दी महोत्सवको अवसरमा सात जना स्रष्टालाई 'विजय मल्ल नइ शताब्दी पुरस्कार' र उनन्चालीस जनालाई 'विजय मल्ल नइ शताब्दी पदक' प्रदान गरिएको छ।
नइ एकेडेमीको स्थापना भएपछि यस संस्थाले नेपाली साहित्यका विभूतिहरूको अर्चना गर्न छाडेको छैन। खास गरेर तीमध्ये केहीको शताब्दी वर्ष चिप्लेर हराएको पनि छैन। नइकै परिकल्पना तथा प्रबन्धनमा उनीहरूको नाममा विविध कार्यक्रमहरू सञ्चालन गर्न नइ पछि परेको छैन। अन्ततः २०५९ सालमा नइकै ढाँचामा बालकृष्ण सम शताब्दी महोत्सव मनाइएको थियो।
त्यसैगरी नइकै पहलमा २०६५–६६ सालमा देवकोटा शताब्दी महोत्सव मनाइएको थियो। त्यसै फेरोमा नइमार्फत प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनसमेत सम्पन्न भएको थियो। नइकै परिकल्पना र संयोजनमा नेपाल सरकारलेसमेत २०७१ सालमा भानुभक्त द्विशतवार्षिकी समारोह समिति गठन गरेर देशविदेशमा त्यो महोत्सव पनि भव्य रूपमा मनाएको थियो।
नइकै परिकल्पनामा माधव घिमिरेलाई ‘राष्ट्रकवि’, वानीरा गिरीलाई ‘नेपाली साहित्यको विश्व नारीरत्न’, डा. सत्यमोहन जोशीको शताब्दी महोत्सव मनाउँदै उनलाई ‘वाङ्मय शताब्दी पुरुष’ र प्रा.डा. वासुदेव त्रिपाठीलाई ‘महासमालोचक’को उपाधि प्रदान गर्ने पनि नइ नै हो। यी चारै जना स्रष्टाहरूलाई उपाधिसहित जनही पाँच–पाँच लाख रुपैयाँ खामेको बेहोरा इतिहासमा लेखिएकै हुनुपर्छ।
त्यति मात्र होइन, नेपाल सरकारबाटै ‘राष्ट्रकवि’ र ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि दिलाउने पनि नइ नै हो। यसका साथै २०८१ सालमा श्यामदास वैष्णव शताब्दी महोत्सव मनाउने संस्था पनि नइ नै हो। अनि त्यसै शृङ्खलामा विजय मल्लको शताब्दी महोत्सव पनि नइ एकेडेमीबाट नै मनाइएको थियो।
नेपाली भाषासाहित्यका सुविख्यात स्रष्टा विजय मल्लको जन्म एक सय वर्षअघि भएको थियो। वि.सं. १९८२ मा जन्मेका मल्लको शताब्दी महोत्सव २०८२ सालभित्रै मनाउनुपर्ने थियो। मल्लकै नाममा स्थापित संस्थाले शताब्दी महोत्सव मनाउला भन्ने नइले आशा गरेको पनि थियो। तर, संस्थाले पनि कानमा तेल हालेको देखियो। त्यति विशिष्ट स्रष्टाको शताब्दी वर्षमा कहीँकतैबाट कुनै प्रकारको कार्यक्रम आउन सकेको देखिएन।
तसर्थ एउटा अमर प्राज्ञको शताब्दी वर्ष झन्डै चिप्लेर जानै आँटेको थियो। यस विषयमा नइ अर्थात् नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईले चिन्तन, मनन र विमर्श गर्न थाले। परिणामस्वरूप नइ एकेडेमीमा ‘विजय मल्ल शताब्दी महोत्सव’को प्रस्ताव पुग्यो र सबैले हार्दिकता अपनाएर यसको स्वागत पनि गरे।
विजय मल्ल भनेका नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोताजस्तै बहुआयामिक सिर्जनात्मक योगदान गर्ने अमर व्यक्तित्व हुन्। त्यसैले नइ एकेडेमीले सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवको आयोजना गर्ने निर्णय गरेको थियो। अनि नइ एकेडेमीले यसै सन्दर्भका विविध कार्यक्रम तर्जुमा गर्न थाल्यो। अथवा भनौँ, विशिष्ट बौद्धिक स्रष्टा मल्लको शताब्दी वर्ष मनाउन नइ मन, वचन र कर्मले अग्रसर भयो।
त्यसै अवसरमा मल्लबारे विचार–विमर्शको कार्यक्रम, उनको व्यक्तित्व र कृतित्वबारेको समारोह, उनीबारे लेखिएका कृति प्रकाशन गर्ने र उनीबारे विद्यावारिधि गर्नेहरू तथा उनको सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धानका साथै नाट्यमञ्चन तथा चलचित्र निर्माणका अतिरिक्त उनको सिर्जनात्मक योगदानको सम्प्रसारण र संवर्द्धनका लागि उल्लेखनीय योगदान पुर्याउनेहरूलाई पुरस्कार र पदक समर्पण गर्ने नइले निर्णय गर्यो। यसै सन्दर्भमा डा. साधना पन्त ‘प्रतीक्षा’कृत ‘नारीवादी नाटककार विजय मल्ल’ नामक समालोचनात्मक ग्रन्थ छापियो र नरेन्द्रराज प्रसाईद्वारा लिखित प्रस्तुत जीवनीकृति पनि यसै अवसरको उपहार हो।
नइ एकेडेमीबाट विजय मल्लको शताब्दी महोत्सवका अवसरमा विजय मल्लको सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत नेपाल र भारतका सात जना स्रष्टालाई जनही पच्चिस हजार रुपैयाँ राशि र ताम्रपत्रसहित ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिएको थियो।
यी पुरस्कारबाट पुरस्कृत हुने प्राज्ञहरू थिए– डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्रा.डा. कृष्णराज घतानी।
नइ एकेडेमीबाट विजय मल्ल शताब्दी महोत्सवका अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको अध्ययन, अनुसन्धान र उनका सिर्जनात्मक कृतिमा आधारित नाट्यमञ्चन तथा चलचित्र निर्माणमा महत्त्वपूर्ण योगदान दिएबापत उनन्चालीस जना महानुभावलाई राजधानी काठमाडौँमा एउटा भव्य समारोहका बीच ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिएको थियो।
‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित हुने साहित्यकार तथा कलाकार थिए– अंशुमाला शाही, कृष्ण मल्ल, प्रा. केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहारी, प्रा.डा. दयाराम श्रेष्ठ, डा. दुर्गाबहादुर घर्तीमगर, प्रा.डा. देवीप्रसाद गौतम, प्रा.डा. देवीप्रसाद सुवेदी, नगीना जोशी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा.डा. महादेव अवस्थी, मुरलीधर, मोतीशोभा श्रेष्ठ, रवीन्द्र खड्का, राधेश्याम प्रधान, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठी, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षत्री, सुषमा शाही, सूर्यमाला शर्मा, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा.डा. हेमचन्द्र नेपाल।
नइ एकेडेमीले विजय मल्ल शताब्दी महोत्सव आफ्नो गच्छेअनुसार हर्षोल्लासका साथ मनाइरहेको थियो। नइद्वारा आयोजित त्यस पर्वको कार्यक्रम सञ्चालन भएको समाचार सुनेपछि मल्लकी अन्तरी छोरी प्राध्यापक डा. उमा श्रेष्ठ र ज्वाइँ कुशनारायण श्रेष्ठले पनि नइसित न्यानो हार्दिकता बढाएका थिए। नइसित कहिले पनि नभेटेका, कहिले पनि नदेखेका र कहिले पनि नबोलेका श्रेष्ठ दम्पतीसितको सम्पर्क पनि त्यस महोत्सवका लागि स्वर्णिम कृत्य बनेको थियो।
वास्तवमा पितृभक्त छोरीज्वाइँको पनि त्यस ऐतिहासिक महोत्सवमा नइसितै शाश्वत सहभागिता जुटेको थियो। पहिलो दिनको प्रवचन गाँसिएको त्यो भव्य समारोहमा मल्लकी माइली छोरी रीता राजभण्डारी र साइँली छोरी नीना ख्याउँजूको भौतिक उपस्थितिले एउटा बेग्लै रौनक, वातावरण र स्थिति सिर्जना गरेको थियो। त्यस दिनको कार्यक्रमभरि ती दिदीबहिनी आफ्ना बुबाप्रतिको भावनामा डुबिरहेका, हराइरहेका र गुजुल्टो परिरहेका देखिन्थे।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण