सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पशुपतिनाथको आरतीमा कपीराइट प्रकरण : के हो वास्तविकता ?

शुक्रबार, २० पुस २०८०, ११ : ४१
शुक्रबार, २० पुस २०८०

काठमाडौँ । बुढासुब्बा डिजिटलको तर्फबाट बिहीबार एउटा सूचना जारी भयो । सूचनामा पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भनिएको थियो । उक्त क्षेत्रमा खिचिएका भिडियो सामग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रायोजनका लागि राखिएमा डिजिटल कपी राइट ऐन अन्तर्गत कारबाही हुने भनिएको छ ।

बुढासुब्बाले पशुपति विकास कोषबाट पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि लिएपछि यो सूचना जारी गरेको हो ।

सूचना सार्वजनिक पछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ । कतिपयले पशुपतिको दर्शन गर्न मनाई छ, गरे कारबाही हुन्छ भने भो नि भन्दै विरोध गरिरहेका छन् । कतिपयले किन र केका लागि भिडियो खिच्न नपाउने भन्दै प्रश्न गरिरहेका छन् ।

के अव सर्वसाधारणले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाउने हो ?

फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि पशुपति विकास कोषबाट स्वीकृत प्राप्त बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले सर्वसाधारणका लागि भिडियो तथा फोटो खिच्न रोक नलगाएको बताएका छन् । सर्वसाधारणले व्यक्तिगत प्रयोजनका लागि फोटो तथा भिडियो खिच्न पाउने तर व्यावसायिक प्रयोजनका लागि नपाउने उनको भनाई छ ।

‘पशुपतिको फोटो तथा भिडियो व्यावसायिक प्रयोजनका लागि मैले प्रयोग गर्ने टेन्डर मार्फत स्वीकृत लिएको छु । व्यक्तिगत प्रयोजनका लागि जसले पनि खिच्न पाउँछ । त्यसमा मैले आपत्ति राखेको छैन’, गिरीले भने ‘पशुपतिको भिडियो हालेपछि विशेष गरेर भारत लगायत विभिन्न ठाउँबाट युट्युबमा कपी राइटको क्लेम आउँछ । त्यसका लागि हामीले रोक लगाएका हौ ।’ पशुपति विकास कोषसँग ५ वर्षका लागि टेन्डर मार्फत भिडियो र फोटोको राइट आफूले लिएको गिरीले खुलाए ।

‘मैले जिम्मा लिएको ६ महिना भैसकेको छ । एक करोड  १४ लाख बैक ग्यारेन्टी छ । महिनाको एक लाख ८० हजार ८ सय रुपैयाँ तिर्छु’, गिरीले थपे ‘यति ठुलो रकम मैले त्यसै तिरेको होइन । त्यहाँको फोटो भिडियो व्यावसायिक प्रायोजनका लागि हो ।’ भिडियो तथा फोटो अन्यले पनि व्यावसायिक प्रयोजन गरिरहेको देखिएकोले आफूले सूचना निकालेको गिरीको भनाई रहेकोछ । ‘मैले कुनै पनि भक्तजनलाई अहिलेसम्म डिस्टप गरेको छैन । मात्र व्यावसायिक प्रयोग नगरिइदिनुस् भनेको हो । त्यो मैले भन्न पाउँछु’ गिरीले थपे । 

notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप