भूकम्प प्रभावित क्षेत्रका एक लाख ४० हजारले लगाए दादुराविरुद्धको खोप
जाजरकोट । भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप लगाएका छन् । यही पुस ४ देखि १४ सम्म सञ्चालन गरिएको खोप अभियानअन्तर्गत छ महिनादेखि १५ वर्षसम्मका ६८ हजार तीन सय ४४ बालबालिकाले दादुरा–रुवेला खोप लगाएका छन् । त्यस्तै १६ देखि ४५ वर्षसम्मका ७२ हजार पाँच सय ४७ जनाले टाइफाइडविरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार दादुरा–रुवेला खोप ९९ प्रतिशत र टाइफाइड ८८ प्रतिशत खोपको पहुँच पुगेको छ । जिल्लाका चार सय ८० खोप केन्द्रबाट खोप सञ्चालन गरिएको थियो । आपत्कालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोग फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिमलगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालिकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको हो ।
सामान्य अवस्थामा दादुराको समस्या फैलिएमा मृत्युदर एक प्रतिशत रहने र विपद्का बेला दादुराको महामारी फैलिएमा ३० प्रतिशतसम्म रहने भएकाले पनि खोप अभियान सञ्चालन गरिएको उनको भनाइ छ । राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लामा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
गत वर्ष जाजरकोटमा दादुराको सङ्क्रमण देखापरेको जानकारी गराउँदै स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हरेक पाँच–पाँच वर्षमा दादुरा–रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गरिरहेको सरकारले भूकम्प प्रभावित र आसपासका जिल्लामा पाँच वर्ष नपुग्दै दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गरेको जानकारी दिए।
दादुरा–रुवेला, टाइफाइडजस्ता समस्यालाई फैलिन नदिन निश्चित गरिएका उमेर समूहका ९५ प्रतिशतले खोप लगाएको हुनुपर्ने डा गौतमको भनाइ छ । स्वास्थ्य सेवा कार्यालयका अनुसार छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको लक्षित जनसङ्ख्या छ लाख ५० हजार रहेको छ । जाजरकोटमा मात्र छ महिनादेखि १५ वर्षसम्मको लक्षित जनसङ्ख्या ६८ हजार नौ सय १९ र १६ वर्षदेखि ४५ वर्षसम्मका ८६ हजार छ सय ३६ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
-
संविधान संशोधन बहस कार्यदलले पूर्वप्रधानमन्त्री भट्टराईसँग गर्यो छलफल
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण