शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा अवैधरूपमा काठ चोरी निकासी गर्नेविरुद्ध मुद्दा दर्ता

बुधबार, २५ पुस २०८०, १२ : ५७
बुधबार, २५ पुस २०८०

सर्लाही । सर्लाहीका जङ्गलबाट चालु आर्थिक वर्षको हालसम्म अवैधरूपमा काठ चोरी निकासी गर्ने आठजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । डिभिजन वन कार्यालय सर्लाहीले अवैधरूपमा काठ ओसारपसार र चोरी निकासीको आरोपमा आव २०८०÷८१ को पहिलो चौमासिकमा आठजनाविरुद्ध मुद्दा दर्ता गरिएको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी राकेश रन्जन दासले तीन मुद्दामा करिब ५६ दशमलव २४ क्युविकफिट काठसहित आरोपीलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार साउनदेखि कात्तिकसम्ममा आठजनाविरुद्ध मुद्दा दर्ता भएको र ५६ दशमलव २४ क्युविकफिट काठ बरामद भएको हो । काठ चोरी तस्करी गर्ने कार्यमा संलग्न रही नियन्त्रणमा लिइएका आठजनामाथि कारबाही प्रक्रिया अघि बढाइएको जिल्लास्थित वन कार्यालयका प्रमुख मन्जुर अहमदले जानकारी दिए । उनका अनुसार चालु आवको चार महिनामा अवैधरूपमा काठ चोरी निकासी गर्नेलाई पक्राउ गरी तीन मुद्दा दर्ता गरिएको छ । तीमध्ये एउटा मुद्दा दर्ता प्रक्रियामा रहेको उनले जानकारी दिए । अवैध काठ चोरी निकासीको आरोपमा पक्राउ पर्नेमा केही स्थानीय सःमिल सञ्चालकसमेत रहेका वन कार्यालयले जनाएको छ ।

“चार महिनामा तीन घटनामा संलग्न आठजनालाई पक्राउ गरेका छौँ । अरूमाथि निगरानी बढाएका छौँ । विभिन्न कठिनाइका बाबजुद वन संरक्षण र चोरी निकासी नियन्त्रणका लागि हामी नयाँ रणनीतिसहित अगाडि बढिरहेका छौँ”, प्रमुख अहमदले भने ।

पछिल्लो समय वन मासिँदै जानाका साथै अवैध चोरी निकासीका कारण राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले थालेको अभियानमा समेत प्रभाव परेको उनले बताए । अहमदले काठ चोरी तस्करी र वन क्षेत्रको अतिक्रमणलाई नियन्त्रण गर्न सबैको सहयोग जरुरी रहेकामा जोड दिए ।  

जिल्लास्थित सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष सीताराम पोख्रेलले महासङ्घले वन तथा वन पैदावारको संरक्षण गर्न समुदायमा सचेतना अभिवृद्धि गर्नाका साथै चोरी निकासी नियन्त्रणका लागि सधैँ सहयोगी भूमिका निर्वाह गरिरहेको बताए । “वन संरक्षणका काममा महासङ्घ वन कार्यालयसँग सहकार्य गर्न तयार छ”, उनले भने, “वन क्षेत्र विस्तार तथा अतिक्रमित क्षेत्र फिर्तालगायत काममा वन कार्यालयले नेतृत्व गरोस् भन्ने हाम्रो चाहना हो ।”

वन अतिक्रमण र चोरी निकासी मुख्य समस्या
मधेस प्रदेशको आठ जिल्लामध्ये सर्लाहीमा २३ दशमलव ४८ प्रतिशत वन क्षेत्र रहेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । जिल्लामा २९ हजार पाँच सय ७१ हेक्टर वन क्षेत्र रहेको छ । त्यसमध्ये छ सय ३७ हेक्टर अतिक्रमण गरिएको डिभिजन वन प्रमुख अहमदले जानकारी दिए । “अतिक्रमण र चोरी निकासी यहाँको वन संरक्षणका लागि मुख्य समस्या हो”, अहमदले भने, “४० वर्ष अघिदेखि पटकपटक गरी छ सय ३७ हेक्टर वन अतिक्रमण भएको छ ।” पछिल्लो समयमा पाँच सय ५० हेक्टर अतिक्रमित वन क्षेत्र फिर्ता गर्न सफल भएको उनले बताए । 

विभिन्न असहज परिस्थितिको समयमा राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा अतिक्रमण भएको भन्दै अतिक्रमित सबै क्षेत्र फिर्ता गर्न नसकिएको कार्यालयका सूचना अधिकारी दासले जानकारी दिए । अतिक्रमणकारी विभिन्न राजनीतिक दलको संरक्षणमा रहेका, विभिन्न सङ्घसंस्थाले अतिक्रमणकारीको पक्षमा वकालत तथा दबाब दिएका, अतिक्रमण गरी बसेको क्षेत्रमा विभिन्न सङ्घसंस्थाबाट पुर्वाधार विकासमा अनुदान सहयोग उपलब्ध गराएकालगायत कारणले उक्त क्षेत्र फिर्ता गर्न नसकिएको उनको भनाइ थियो ।

केही वर्षयता थप अतिक्रमण हुन नदिन उच्च सतर्कतासहित डिभिजन वन कार्यालयले काम गरिरहेको दासले जानकारी दिए । बाँकी रहेको ८७ हेक्टर अतिक्रमित भूमिमुक्त गर्न कार्ययोजना बनाएर अगाडि बढ्ने उनले बताए ।

जिल्लाको अधिकांश वन क्षेत्र उत्तरतर्फको चुरे र भावरमा पर्ने भएकाले त्यहाँको भौगोलिक संरचनाको संवेदनशीलतालाई मध्यनजर राखी संरक्षणमुखी व्यवस्थापन कार्यमा सामुदायिक वनले पनि सहयोग गरिरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

संरक्षणका गतिविधिलाई जनस्तरसम्म पु¥याउन जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समिति र साझेदारी वन व्यवस्थापन समितिलाई थप परिचालन गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ सर्लाहीका अध्यक्ष पोख्रेलले बताए । यहाँ रहेका वन पैदावारमा आधारित उद्योगलाई समेत जिम्मेवार बनाउने गरी अभियानका रूपमा कार्यक्रम अगाडि बढाउन सके चोरी निकासी नियन्त्रणमा टेवा पुग्ने उनको भनाइ थियो ।

पोख्रेलका अनुसार जिल्लामा हाल चार सय ६६ भन्दा बढी वन पैदावारमा आधारित सःमिल तथा फर्निचर उद्योग, ८७ सामुदायिक वन, १९ कबुलियती वन, तीन साझेदारी, ९१ निजी र दुई धार्मिक वन रहेका छन् । जसमध्ये ५७ सामुदायिक वनले चालु वार्षिक वर्षको कार्य योजना, साधारण सभा र लेखा परिक्षण गरिरहेका उनले जानकारी दिए। साथै ३० सामुदायिक वन उपभोक्ता समिति निष्क्रिय अवस्थामा रहेका डिभिजन वन कार्यालय जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप