सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नागरिकता प्रकरण

रुविना श्रेष्ठ नागरिकता प्रकरण : अनुसूची फर्म नै गायब

शुक्रबार, २७ पुस २०८०, ०९ : १८
शुक्रबार, २७ पुस २०८०

वीरगन्ज । पर्सा जिल्ला प्रशासन कार्यालयबाट रुविना श्रेष्ठको नाममा जारी भएको नागरिकता प्रकरण पेचिलो बन्दै गएको छ । श्रेष्ठको नागरिकता प्रकरणबारे छानबिन गर्न गठित समितिले तीन दिनदेखि खोजेको फाइल फेला पार्न नसकेपछि यो प्रकरण पेचिलोसँगै शंकास्पद बन्दै गएको स्रोत बताउँछ ।

स्रोतका अनुसार श्रेष्ठको कागजातहरुबारे भइरहेको जाँचबुझका क्रममा मुख्य प्रमाणहरु नै गायब पारिएको देखिन्छ । रुविना श्रेष्ठको नागरिकताबारे गरिरहेको छानबिनमा अहिलेसम्म ढड्डाबाहेकको अन्य प्रमाण फेला नपरेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए ।

उनका अनुसार छानबिन समितिले सुक्ष्म ढङ्गले अहिले छानबिन गरिरहेको छ । ‘तर यो प्रकरणसँग सम्बन्धित मुख्य कागजातहरु अहिलेसम्म भेटिएको छैन,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार मुख्य कागजात भनेको नागरिकता दिँदा भरिएको अनुसूची फर्म हो । त्यो अनुसूची फर्ममा वडाको सिफारिसदेखि सबै कागजात राखेर नागरिकताका लागि आवेदन गरिएको हुन्छ । तर अहिलेसम्म रुविनाको नागरिकता लिने क्रममा भरिएको अनुसूची फर्म नभेटिएको उनले बताए ।

तीनदेखि अनुसूची फर्ममात्रै खोज्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी भुसाल बताउँछन् । ‘जिल्ला प्रशासन कार्यालयबाट यही एउटा मात्र नागरिकताको अनुसूची फर्म गायब भएपछि यो शंकास्पद बनेको छ,’ उनले भने, ‘मैले सबै कर्मचारीलाई बोलाएर खोज्न निर्देशन दिएको छु, यही खोज्नका लागि कति समय चाहिन्छ, कर्मचारीहरुको डिमाण्ड अनुसार नै समय दिइसकेको छु ।’

अब त्यो समयसीमा भित्र कागजात फेला नपरे त्यसपछि अर्को बाटो अवलम्बन गर्ने तयारीमा रहेको उनको भनाइ छ । केही कर्मचारीले नियतवश नै अनुसूची फर्म बेपत्ता बनाएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी भुसालको आकलन छ ।

किन गायब पारियो ?

अनुसूची फर्म भनेको प्रतिवेदन आदिको मूल पाठलाई छरितो र सुसङ्गठित तुल्याउन मूल पाठमा उल्लेख गर्न नसकिएका तर सान्दर्भिक कुराको विवरणलाई वर्गीकृत गरेर पूरक अंशका रुपमा परिशिष्टमा राखिएको सूचीलाई बुझिन्छ । अर्थात् यसलाई नागरिकताको सवालमा बुझ्ने हो भने त्यसमा चाहिने आवश्यक सबै कागजात भएको फर्मलाई बुझ्नुपर्छ ।

यही अनुसूची फर्मको आधारमा नागरिकता दिने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भुसाल भन्छन्, ‘यदि यही फर्ममा जालझेल गरेर नागरिकता दिइएको हो भने नागरिकता दिने कर्मचारीदेखि लिएर सम्बन्धित अन्य व्यक्ति पनि कारबाहीमा पर्छन्, त्यसकारण कारबाहीबाट बच्नको लागि अनुसूची फर्म नै गायब पारेको हुन सक्छ ।’

तीन दिनमा के–के भयो अनुसन्धान ?

छानबिन समितिका प्रमुख एवम सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले पहिलो चरणमा सबै कागजात मिलाउने काम भइरहेको बताए । उनका अनुसार अहिलेसम्म नागरिकता र त्योसँग ढड्डा मिलाउने काम भएको छ ।

रातोपाटीसँग कुरा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले भने, ‘पहिलो चरणमा रुविनाको नागरिकता र ढड्डाको जाँच ग¥यौँ, अनि त्यसपछि अहिले हामी योसँग सम्बन्धित अन्य कागजातको खोजीमा छौँ । केही कागजात फेला पार्न सकिएको छैन, त्यो फेला परिसकेपछि त्यसको जाँच गरिन्छ ।’

वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाबाट रुविनालाई फर्जी विवरण पेस गरेर नागरिकता दिलाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार जाहेरी दर्ता भएको छ ।

कांग्रेस पर्सा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति महम्मद सहाबुदिनले अरुको छोरीलाई आफ्नो छोरी बनाइ झुटो विवरणको आधारमा वीरगन्जका मेयर राजेशमान सिंहले नागरिकता दिलाएको भन्दै आवश्यक अनुसन्धानको माग गरेका छन् ।

उनको जाहेरीसँगै यो विषयमा छानबिनका लागि दर्जनभन्दा बढी जाहेरी परेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ०७५ साल साउन १३ गते रुविना श्रेष्ठको नागरिकता जारी भएको प्रशासनमा रेकर्ड छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप