राष्ट्रियसभा निर्वाचन : लुम्बिनीबाट राप्रपाका थापाले गरे उम्मेदवारी फिर्ता

बुटवल । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निरञ्जन थापाले उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।
निर्वाचन अधिकृत कूलप्रसाद पाण्डेले थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकाले अब लुम्बिनीमा ६ जना उम्मेदवार कायम रहेको जानकारी दिए ।
यस्तै थापाले गठबन्धन हुन्छ कि भनेर आफूले उम्मेदवारी दिएको तर त्यो सम्भावना नभएपछि आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए । उनले राप्रपाले कसलाई मत दिने भन्ने विषयमा पार्टीले निर्णय गर्ने बताए ।
लुम्बिनीमा राप्रपाको महिलातर्फ कपिलवस्तुकी विजय लक्ष्मी सिंहको उम्मेदवारी भने कायमै रहेको छ । लुम्बिनीमा राप्रपाको २६९ मत छ । लुम्बिनीमा दुई पदका लागि निर्वाचन हुँदैछ ।
महिला कोटामा नेकपा एमालेबाट तुलसाकुमारी केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।
यस्तै अन्यबाट राप्रपाका थापाले उम्मेदवारी फिर्ता लिएपछि अब एमालेका उपेन्द्रबहादुर घर्ती, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी, जनमत पार्टीका बाल गोविन्द चौधरी उम्मेदवार छन् । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीको कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।
शुक्रबार उम्मेदवारहरूले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यातालिका रहेको छ । यस्तै शुक्रबारनै अगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ ।