मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्राउण्ड जिरो  रिपोर्ट लिएर जनार्दन बालुवाटारमा, ६० प्रतिशत पार्टी सक्रिय रहेको निष्कर्ष

शुक्रबार, २७ पुस २०८०, २० : ५८
शुक्रबार, २७ पुस २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले बागमती प्रदेशमा ६० प्रतिशत पार्टी सक्रिय रहेको रिपोर्ट लिएर बालुवाटार गएका छन् ।

गत भदौदेखि सुरु भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत प्रदेशका सबै वडामा खटिएका इन्चार्जहरूले ग्राउण्ड जिरोको वास्तविक रिपोर्ट इन्चार्ज शर्मालाई बुझाएका थिए । सो रिपोर्टमाथि शनिबार केन्द्रीय कार्यालयमा बस्ने स्थायी समिति बैठकले गम्भीर छलफलसहित अन्तर पार्टी दुर्बलताका पक्षहरुमाथि सूक्ष्म विश्लेषण गरी त्यसका आधारमा भावी योजना निर्माण गर्नेछ । 

स्रोतका अनुसार आफूले स्थापित गरेका परिवर्तनकामी राजनीतिक एजेण्डाहरुको पैरवी गर्न नसकेको, स्थानीय स्तरमा विकास निर्माणका कामको पहल लिन कतै चुकेको, कतै पहल लिएपनि त्यसको प्रचारात्मक पक्षको महत्त्व नबुझ्दा विरोधीहरूले फाइदा लिएको तथा सामाजिक–सांस्कृतिक संघ संस्थामा आफ्नो बलियो उपस्थितिका लागि उदासीन रहँदा समुदायबाट पार्टी टाढा पुगेको निष्कर्ष निकालिएको छ । 

शर्माले बागमती र सहरी इलाकामा पार्टीको सांगठनिक धरातल निकै कमजोर रहेकाले विशेष रुपमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेका छन् । समीक्षात्मक  रिपोर्ट लिएर शर्मा शुक्रबार अपराह्न ५ बजे प्रधानमन्त्री निवास बालुवाटार गएर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका थिए । यद्यपि प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले विधान मस्यौदा बुझाउन शर्मासहित संयोजक पम्फा भुसाल आएको बताएका छन् । 

‘विधान मस्यौदा बुझाउन उहाँहरू आउनुभएको हो । अन्य विषयमा केही जानकारी भएन’, उनले भने । 

अभियानको क्रममा कार्यकर्तास्तरबाट पार्टी निर्माणमा माथिल्लो नेतृत्व गम्भीरतापूर्वक लागेकोमा समेत शंका व्यक्त गरेका थिए । तर बागमतीका इन्चार्ज शर्मा, उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन र सम्पर्क समन्वय प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेलले तलबाट आएका प्रश्न, जिज्ञासा, शंका, हौसला, निराशा जेजति आएका छन् ती सबै स्थायी कमिटी बैठकमा आफूहरुले जस्ताको तस्तै राख्ने र त्यसलाई आगामी कार्ययोजनामा समावेश गर्ने आश्वासन दिएका छन् ।

‘सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेलले नेतृत्व रुपान्तरणसहित पार्टी रुपान्तरणका लागि जनताबाट सकारात्मक सुझाव आएको बताएका छन् । 

‘उपत्यका विशेषमा फेरी विशेष रूपान्तरण अभियान चलाउनु पर्ने निष्कर्ष समीक्षाबाट आएको छ । अभियानलाई निरन्तर जारी राख्नुपर्छ । योपटक जनताबाट नेतृत्वसहित पार्टी रुपान्तरणका लागि सकारात्मक सुझाव आएका छन् । त्यसबारे स्थायी समिति बैठकमा गम्भीर समीक्षा हुन्छ’, उनले भने । 

बागमती प्रदेशका १३ जिल्ला, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशबाट आएका रिर्पोटमाथि पुस २२ र २३ गते काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा गम्भीर समीक्षा गरी अभियान समापन भएको थियो । समीक्षात्मक रिपोर्टमाथि बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरुले थप समीक्षा गरेका थिए ।  

समीक्षा बैठकमा केन्द्रीय सदस्यहरुले रूपान्तरण माथिबाट जरुरी रहेको, अवसरको न्यायोचित वितरणको आवश्यकता रहेको र गठबन्धनको निरन्तरताले मतदाताले आफ्नो चुनाव चिन्ह समेत बिर्सँदै गएको जस्ता विषयमा चिन्ता व्यक्त गरेका थिए ।  

यस पटकको अभियानमा प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीको अवस्थाबारे ठोस तथ्यांकमा जोड दिएपछि पार्टी कमिटीका रिपोर्टहरु तथ्यपरक र तथ्यांकका आधारमा प्रस्तुत गरिएका थिए । बागमती प्रदेशमा ६२.७३ प्रतिशत सम्मेलन र भेला भएका तथा ६९.६२ प्रतिशत सदस्यता नवीकरण भएको निष्कर्ष निकालिएको छ । बागमतीसहित सातै प्रदेशमा अभियानको समीक्षा रिपोर्ट तयार भइसकेको छ । स्थायी समिति बैठकमा गम्भीर छलफल गरी त्यसको आधारमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारीमा अध्यक्ष प्रचण्ड रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप