शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बैंकको ब्याजदर ८ प्रतिशत

कुन बैंकको कतिले घट्यो ?
आइतबार, २९ पुस २०८०, ११ : ३९
आइतबार, २९ पुस २०८०

काठमाडौँ । लगातार घट्दो क्रममा रहेको बैंकको ब्याजदर पछिल्लो पटक ८ प्रतिशत हाराहारीमा झरेको छ । वाणिज्य बैंकहरुले माघ महिनाका लागि औसत ०.८२ प्रतिशतले घटाउँदै निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।  बैंकहरुद्वारा सार्वजनिक नयाँ ब्याजदरअनुसार माघ महिनाका लागि न्यूनतम ७.२६ प्रतिशतदेखि अधिकतम ९.१५ प्रतिशतसम्म प्रस्ताव गरिएको छ ।

नेप्सेमा सूचीकृत २० वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी सिटिजन्स् बैंकले माघ महिनाका लागि व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी ९.१५ प्रतिशत प्रस्ताव गरेको छ भने बैंकले संस्थागत निक्षेपमा ६.६ प्रतिशत प्रस्ताव गरेको छ ।  यसैगरी कम ब्याजदर प्रस्ताव गर्ने कृषि विकास बैंकले व्यक्तिगत निक्षेपमा ७.२६ प्रतिशत प्रस्ताव गरेको छ भने संस्थागत निक्षेपमा ५.७६ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । 

पुसको तुलनामा कृषि विकास बैंकले १.२५ प्रतिशतले ब्याजदर घटाएको हो भने सिटिजन्स् बैंकले जम्मा ०.२ प्रतिशतले मात्र घटाएको हो । 

यस्तै अन्य बैंकहरुमा नेपाल एसबीआई बैंकले १.३५ प्रतिशतले ब्याजदर घटाउँदै माघ महिनाका लागि निक्षेपको ब्याजदर ८.२५ प्रतिशत प्रस्ताव गरेको छ भने सिद्धार्थ बैंकले १.१५ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, प्राइम कमर्सियल बैंकले १.९ प्रतिशतले घटाउँदै ८.१ प्रतिशत, माछापुच्छ«े बैंकले १.६ प्रतिशतले घटाउँदै ८ प्रतिशत, कुमारी बैंकले १.२ प्रतिशतले घटाउँदै ८.११ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १ प्रतिशतले ब्याजदर घटाएर ८ प्रतिशत प्रस्ताव गरेको छ । 

यसैगरी नेपाल बैंक, प्रभु बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले पुसको ब्याजदरमा १ प्रतिशत कमले घटाएका छन् । 

२० वटा बैंकमध्ये चारवटा बैंकहरु एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक र सिटिजन्स बैंकले भने ब्याजदर यथास्थितिमा राख्दै क्रमशः ८ प्रतिशत, ८.०७ प्रतिशत, ९ प्रतिशत र ९.१५ प्रतिशत ब्याजदर कायम गरेका छन् । 

पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै जाने तर यता लगानी (कर्जा) को माग नहुँदा बैंकहरुको खर्च बढी हुँदा पनि ब्याजदर घटाउन बैंकहरु बाध्य भएका हुन् । केन्द्रीय बैंकको पछिल्लो रिपोर्ट अनुसार पुस २३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा ६० खर्ब ८५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन हुँदै गर्दा यता सोही अवधिमा मुस्किलले ५० खर्ब ४२ अर्ब रुपैयाँ मात्र कर्जा लगानी भएको छ । 

कर्जा÷निक्षेपको तुलनामा १० खर्ब ४३ अर्ब रुपैयाँ तरलता रहेको देखिएकोमा यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) औसत ८०.१० प्रतिशत मात्र कार्यान्वयन भएको बैंकले जनाएको छ । जबकि मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरूले ९० प्रतिशतसम्म सीडी रेसियो उपभोग गर्न छुट दिएको छ । यसो हुँदा हाल बजारमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएकाले पनि बैंकहरुमाथि ब्याजदर घटाउन दबाब परेको बुझिन्छ । यसको प्रभाव बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरमा समेत पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप