सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दे गाउँपालिकाद्वारा नमूना आवास निर्माणका लागि लाभग्राहीको नाम स्वीकृत

बिहीबार, ०४ माघ २०८०, १६ : २०
बिहीबार, ०४ माघ २०८०

दमौली । विपन्न वर्गका लागि घर निर्माण गर्न तनहुँको म्याग्दे गाउँपालिकाले लाभग्राहीको नाम  स्वीकृत गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा आर्थिकरूपमा विपन्न वर्गलाई नमूना आवास निर्माणका लागि गाउँपालिकाले १६ जना लाभग्राहीको नाम स्वीकृत गरेको हो । 

नमूना आवास निर्माण कार्यक्रम कार्यान्वयन समन्वय समितिको हालै बसेको बैठकले लाभग्राही छनोट गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा विपन्नका लागि घर निर्माण गर्न लागिएको र यसका लागि समपूरक कोषबाट रु ५० लाख र गाउँपालिकाबाट रु ५० लाखगरी रु एक करोड ब्यहोरिने उनको भनाइ थियो ।

प्रशासकीय अधिकृत अधिकारीले भने– “गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम तथा नेपाल सरकारको समपूरक योजनाअन्तर्गत विपन्न वर्गलाई नमूना आवास घर बनाउन लागेका हौँ । त्यसका लागि लाभग्राही छनोट भएका छन् ।”

गाउँपालिकाको वडा नं १ देखि ७ सम्ममा रहेका लक्षित वर्गलाई नमूना आवास कार्यक्रम कार्यविधि, २०८० को दफा (३) बमोजिम  मापदण्ड तथा सूचीभित्र योग्यता पुगेका स्थानीय नागरिकलाई मङ्सिर २७ गतेभित्र निवेदन पेस गर्न सूचित गरिएको थियो । 

प्राप्त निवेदनका आधारमा १६ जना लाभग्राही छनोट गरिएको र पाँच जनालाई वैकल्पिकमा राखिएको छ । ती १६ लाभग्राहीले जग्गाधनी पुर्जालगायत प्राविधिक तयारी पूरा गर्न नसके वैकल्पिक सूचीलाई प्राथमिकता दिने जनाइएको छ ।

लाभग्राही छनोटका लागि पालिकाले जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको आर्थिक विपन्न परिवार भएको सिफारिससहितका कागजात, सामान्य प्रकृतिका श्रमबाहेक परिवारका सदस्यमा कोही स्थायी रोजगार, दिगो लगानी तथा आयस्रोत नभएको र दोहोरो सुविधा तथा अनुदान नलिएको प्रमाण पेस गर्न सूचित गरिएकोे थियो ।

कार्यविधिबमोजिम विगतदेखि गाउँपालिकाको भौगोलिक क्षेत्रभित्र स्थायी बसोबास गर्दै आएको तर सरकारबाट सञ्चालित यस्तै कार्यक्रमबाट लाभ प्राप्त गरेका व्यक्ति लाभग्राही हुन नसक्ने मापदण्डमा उल्लेख छ ।  लाभग्राहीको सूचीमा अपाङ्गता भएका व्यक्ति, असहाय, सीमान्तकृत जाति, अल्पसङ्ख्यक जाति वा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

बायोग्यास निर्माणका लागि अनुदान

म्यादे गाउँपालिकाले स्थानीयवासीलाई बायोग्यास प्लान्ट निर्माणका लागि अनुदान दिने भएको छ । बायोग्यास प्रयोगमा जोड दिने उद्देश्यले पालिकाले यस वर्ष १० जनालाई अनुदान दिन लागेको हो । गाउँपालिकामा प्राप्त निवेदनका आधारमा बायोग्यास प्लान्ट निर्माणका लागि जनही रु ३० हजारका दरले अनुदान दिन लागिएको त्यहाँका इन्जिनियर भीमप्रसाद सुवेदीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप