आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
पूर्वाधार

सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल बल्ल खन्न थालियो

अहिलेसम्म आयोजनाको भौतिक प्रगति १० प्रतिशतमात्र !
शुक्रबार, ०५ माघ २०८०, १० : ३९
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माण कार्यले बल्ल गति लिएको छ । २०७५ सालमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले देशका भिन्न ६ स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको थियो । उक्त घोषणामा हालसम्म मृत्युमार्गको नामले परिचित बुटवल–पाल्पा सडकखण्ड अन्तर्गतको सिद्धबाबा सुरुङमार्ग समेत प्राथमिकतामा परेको थियो ।

तिनाउ गाउँपालिका २, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ १ हजार १२६ मिटर (१.१२६ किलोमिटर) सुरुङमार्ग निर्माण गर्ने लक्ष्य छ । उक्त परियोजनाले घोषणाको ५ वर्षपछि बल्ल गति लिएको हो ।

२०८० माघ ४ देखि सुरुङमार्गको मुख्य टनेल (सुरुङ) को उत्खननको काम सुरु भएको छ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाएकोमा बिहीबार एक सूचना जारी गर्दै नेपालस्थित चिनियाँ दूतावासले औपचारिक रुपमै सुरुङमार्गको काम अघि बढेको जनाएको छ ।

निर्माण कम्पनीलाई बधाई दिँदै दूतावासले भनेको छ, ‘नेपालको पश्चिम सहर बुटवलसँग पाल्पा र पोखरालाई जोड्ने महत्त्वपूर्ण सडक सञ्जालमा सुरुङमार्ग बन्ने चरणमा प्रवेश गरेको छ । सधैँजसो पहिरो झर्ने र बाटो अवरोध हुने खतरापूर्ण सडकको स्तरोन्नति हुँदैछ । सुरुङमार्ग निर्माण पश्चात् स्थानीय आर्थिक विकासमा ठुलो सहयोग पुग्ने विश्वास छ ।’

siddababa1

सुरुङमार्गको मुख्य टनेल खन्ने काम थालनी भए पनि परियोजना भने २०७७ देखिनै सुरु भएको हो । ‘डिजाइन एण्ड बिल्ड’ मोडालिटीमा निर्माण हुँदै गरेको यस परियोजना राष्ट्रिय योजना आयोगबाट स्वीकृत बहुवर्षीय परियोजना हो । बहुवर्षीय ठेक्का मापदण्ड, २०७६ बमोजिम निर्माण कार्य अघि बढेको परियोजनाको समयावधि ५ वर्षको छ ।

चिनियाँ कम्पनीले सन् २०२७ मा परियोजना सम्पन्न गर्नुपर्ने सिद्धबाबा सुरुङमार्ग परियोजनाका प्रमुख रामपुकार जैसवालले रातोपाटीलाई जानकारी दिए ।

‘परियोजनाको काम अघिदेखि नै भइरहेको छ । साइट क्लियरिङ्ग, डिजाइन तथा अध्ययनको काम भइरहेको थियो । मुख्य टनेलको काम मात्र भर्खर सुरु भएको हो,’ परियोजना प्रमुख जैसवालले रातोपाटीसँग भने ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत अघि बढेको यस परियोजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । मुख्य सवारी पास टनेलसहित तीन वटा सहायक (रेस्क्यू) टनेल बन्ने छन् ।

सिद्धबाबा–पाल्पा छेड्ने मुख्य टनेलको लम्बाइ १ हजार २६ मिटरको छ भने सहायक टनेलहरुको लम्बाइ २ हजार मिटरभन्दा बढी हुने परियोजना प्रमुख जैसवाल बताउँछन् ।

खासगरी बुटवल–पाल्पा सडक खण्ड अन्तर्गतको तल्लो सिद्धबाबा मन्दिरदेखि दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिमका कारण खतरापूर्ण छ । प्रायः बर्खा याममा पहिरो झरिरहने यो चट्टानी क्षेत्रमा हिउँदमा समेत सुक्खा पहिरोको उत्तिकै जोखिम छ । बर्सेनि सडक दुर्घटनाका कारण सयौँले ज्यान गुमाउँदै आएको यस क्षेत्रलाई मृत्युमार्गका नामले समेत चिन्ने गरिन्छ । यही समस्याको दीर्घकालीन निराकरणका लागि सरकारले आफ्नै लगानीमा सुरुङमार्ग निर्माण गर्न लागेको हो ।

  • परियोजनाको भौतिक प्रगति १० प्रतिशत !

५ वर्षे निर्माण अवधि रहेको यस परियोजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति भइसकेको परियोजना प्रमुख जैसवालको भनाइ छ । राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएर २०७७ देखि नै परियोजनाको काम अघि बढेकोमा परियोजनाको भौतिक तथा प्राविधिक अध्ययन डिजाइनमा समय खर्चिएको उनको भनाइ छ ।

२०७५ मा घोषणा भएको सुरुङमार्ग निर्माणका लागि दुई वर्षपछि तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७७÷७८ को बजेटमार्फत १० अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएका थिए । सोही बजेटका आधारमा सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले २०७८ मा चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलाई उक्त सुरुङमार्ग निर्माणको ठेक्का दिएको हो ।

कुल ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ ठेक्का सम्झौता भएकोमा कम्पनीले ५ वर्षपछि सन् २०२७ मा निर्माण सम्पन्न गर्नुपर्ने छ । सोही परियोजनाको आजको दिनसम्म १० प्रतिशत भौतिक र करिब १२ प्रतिशत वित्तीय प्रगति भएको परियोजना प्रमुख जैसवालले रातोपाटीसँग बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप