सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
चलचित्र

पुसमा फिल्म व्यवसाय : लगानी करोड, आम्दानी लाख

सोमबार, ०८ माघ २०८०, ११ : ०९
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पुस महिना नयाँ फिल्म रिलिजका लागि राम्रो मानिँदैन । पुस ‘फसफुस’ हुने भन्दै यो महिना फिल्म रिलिज गर्नबाट निर्माता–निर्देशक पछि हट्ने गर्छन् । गत पुस महिना नेपाली फिल्मका लागि वास्तवमै फासफुसजस्तै भएको छ ।

नयाँ फिल्म शुक्रबार रिलिज हुने परम्परा रहँदै आएको छ । ४ शुक्रबार रहेको पुस महिनामा एउटा शुक्रबार २ नेपाली फिल्म रिलिज भए । पुस महिनाको पहिलो, दोस्रो र तेस्रो शुक्रबार नेपाली फिल्म रिलिज नभए पनि चौथो शुक्रबार दुई फिल्म ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ प्रदर्शनमा आयो । तर दुवै फिल्मले राम्रो व्यवसाय गर्न सकेनन् ।

roit kattal

विगतका वर्षहरूमा पनि पुस महिनामा फिल्मको प्रदर्शन खासै राम्रो भएको रेकर्ड नरहेको वितरक रोहित कट्टेल बताउँछन् । ‘म लामो समयदेखि फिल्म वितरणमा क्रियाशील छु । पुस महिनामा विगतका वर्षमा पनि मैले धेरै फिल्म रिलिज गरेको छु’, कट्टेलले भने, ‘पुसमा रिलिज भएका फिल्मले दर्शक पाएको अनुभव गर्न पाएको छैन ।’

पुसका फिल्ममा दर्शक नहुने भएकाले नै होला निर्माता निर्देशकहरू ‘हल खाली छ, फिल्म हालौँ’ भन्दा पनि मान्दैनन् ।

पुसको अन्तिम साता माघे सङ्क्रान्तिलाई लक्षित गरेर व्यवसाय हुने आशले रिलिज गर्ने गरेको कट्टेलको धारणा छ ।

  • नयाँ अनुहारका फिल्म

नेपाली फिल्म रिलिजको एउटा नराम्रो पक्ष छ । कुनै मितिमा स्टार कलाकारले भरिएका फिल्म आपसमा भिड्छन् भने कुनैमा नयाँ कलाकारले भरिएको फिल्ममात्र रिलिज हुन्छ । पुस महिना पनि त्यस्तै रह्यो । पुसमा रिलिज भएका दुवै फिल्ममा नयाँ कलाकार मुख्य भूमिकामा थिए । स्टार कलाकारले भरिएका फिल्मले त दर्शक तान्न नसकेको समय नयाँ कलाकारले स्वाभाविक रूपमा दर्शक तान्न सकेनन् ।

‘पर्खी बसेँ तिमीलाई’ थुप्रै हिट फिल्म दिएका निर्देशक दीपक श्रेष्ठ निर्देशन गरेका हुन् । प्रेमकथामा बनेको यो फिल्ममा किरण श्रेष्ठ र रक्षा बुढाथोकीको मुख्य भूमिका थियो । यी दुवै कलाकारले यसैबाट फिल्म अभिनयमा डेब्यु गरेका हुन् । किरण फिल्मका लागि नयाँ भए पनि थिएटरमा उनले थुप्रै नाटक गरेका थिए । रक्षा भने नयाँ हुन् ।

प्रेमकथामा निर्माण भएको फिल्ममा किरण र रक्षाको अलावा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम)को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा राजाराम बुढाथोकीको निर्माण, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गरेको हो ।

त्यस्तै अर्काे फिल्म ‘चित्रा’ बाबुछोरीको कथामा निर्माण भएको हो । फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको थियो । फिल्मका मुख्य कलाकार सन्तोष अधिकारी नयाँ हुन् । अभिनयमा उनको यो डेब्यु फिल्म हो । फिल्ममा अधिकारीको अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकाल लगायतको अभिनय छ ।

महेश पौडेलको छायाङ्कन रहेको ‘चित्रा’मा राजनराज सिवाकोटीको सङ्गीत छ । यो फिल्म सन्तोष अधिकारीले निर्माण गरेका हुन् । फिल्मको नेपालभर वितरणको जिम्मा केदार पराजुलीको श्रीकृष्ण फिल्मस्ले लिएको छ ।

  • लगानी करोड, आम्दानी लाख

छोटो दिन, जाडो महिना भएकाले फिल्म रिलिजका लागि पुस निर्माता, निर्देशकको रोजाइमा कमै पर्ने गर्छ । फिल्मले दर्शक नपाउने भन्दै निर्माताहरू यो महिना फिल्म रिलिजका लागि पछि हट्छन् । पुसमा रिलिज भएको फिल्म ‘चित्रा’ र ‘पर्खी बसेँ तिमीलाई’ हेर्ने हो भने यी दुवै फिल्ममा करोड माथि लगानी भएको छ  ।

kadar parujali (2)

तर, ती फिल्मले लगानी उठाउने सङ्केत देखिएको छैन । फिल्म ‘चित्रा’ बाबुछोरीको कथामा बने पनि एक्सन र गीत–सङ्गीत राम्रो छ । फिल्म रिलिजसम्म एक करोड रुपैयाँभन्दा माथि खर्च भएको बताइएको थियो । वितरक केदार पराजुली भने सार्वजनिक प्रदर्शनबाट फिल्मको लगानी कभर हुन मुस्किल रहेको बताउँछन् ।

‘फिल्मको व्यवसाय नभएको भने होइन, राम्रो भएन छैन’, पराजुलीले भने, ‘सार्वजनिक प्रदर्शनबाट फिल्मको लगानी उठ्दैन ।’ फिल्ममा स्टार कलाकार नभएकोमा दर्शकले गुनासो गरेको समेत पराजुलीले सुनाए ।

kran shrestha

त्यस्तै प्रेमकथामा बनेको फिल्म ‘पर्खी बसेँ तिमीलाई’ मा पनि करोडभन्दा माथि लगानी भएको छ । फिल्मको प्रचारप्रसार समेत राम्रो भएको थियो । तर हलमा भने त्यति दर्शक देखिएन । यो फिल्मले पनि सोचेजस्तो व्यवसाय गर्न नसकेको वितरक श्रेष्ठ बताउँछन् ।

‘प्रेमकथामा बनेको दीपक श्रेष्ठ निर्देशित फिल्म राम्रो हुन्छ भन्ने थियो’, श्रेष्ठले भने, ‘हलमा दर्शक देखिएनन् ।’ फिल्मको माउथ पब्लिसिटी राम्रो भए पनि दर्शक नआएको उनको भनाइ छ । उनी भन्छन्, ‘सार्वजनिक प्रदर्शनमा लगानी उठाउन गाह्रो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप