शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
इरान युद्ध

इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ

शुक्रबार, २२ जेठ २०८३, १८ : ०५
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • इजरायलले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा आफ्ना विशेष सैन्य र गुप्तचर इकाइहरूलाई अजरबैजानमा तैनाथ गरेको खुलासा भएको छ ।
  • यी सेना अजरबैजानको दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूबाट सञ्चालन भइरहेका थिए, जुन इरानको उत्तरी सीमासँग जोडिएको छ ।
  • यो गोप्य तैनाथी अजरबैजान बाहेक इराक, संयुक्त अरब इमिरेट्स (यूएई) र सोमालिल्यान्डमा पनि फैलिएको थियो ।

वासिङ्टन, डी.सी. । इजरायलले इरानसँगको युद्धका क्रममा गोप्य रूपमा आफ्ना विशेष सैन्य र गुप्तचर इकाइहरूलाई अजरबैजानमा तैनाथ गरेको खुलासा भएको छ । सीएनएनले चार जना स्रोतहरूलाई उद्धृत गर्दै यो जानकारी सार्वजनिक गरेको हो । 

ती स्रोतहरूका अनुसार इजरायलले पश्चिम एसियाभर फैलिएको गोप्य सैन्य सञ्जालको हिस्सा अन्तर्गत अजरबैजानमा आफ्नो उपस्थिति राखेको थियो, जसको उद्देश्य इरानविरुद्धको सैन्य अपरेशनलाई सहयोग गर्नु थियो ।

यी सेना अजरबैजानको दक्षिणी क्षेत्रका विभिन्न स्थानहरूबाट सञ्चालन भइरहेका थिए, जुन इरानको उत्तरी सीमासँग जोडिएको छ । सबैभन्दा नजिकको बिन्दु इरानको तब्रिज सहरबाट करिब ६० माइल मात्र टाढा रहेको बताइएको छ, जहाँ युद्धका क्रममा इजरायलले आक्रमणसमेत गरेको थियो । 

स्रोतहरूका अनुसार विशेष कमान्डो इकाइहरूले त्यहाँबाट गुप्तचर सूचना सङ्कलन र ड्रोन सञ्चालन गरेका थिए, जसले इजरायललाई इरानको उत्तरी भागमा प्रत्यक्ष निगरानी गर्ने क्षमता दिएको थियो ।

यो गोप्य तैनाथी अजरबैजान बाहेक अन्य स्थानहरूमा पनि फैलिएको थियो । इराक, संयुक्त अरब इमिरेट्स (यूएई) र सोमालिल्यान्डमा पनि यस्तै गोप्य सैन्य संरचना रहेको स्रोतहरूले बताएका छन् । प्रारम्भमा यी इकाईहरू आपत्कालीन अवस्थामा उद्धार कार्यका लागि योजना गरिएका भए पनि पछि तिनको भूमिका सैन्य तथा गुप्तचर सङ्कलनमा विस्तार भएको बताइएको छ । 

समग्रमा, यी तैनाथीहरूले इजरायली सेनालाई इरानको दक्षिण, पश्चिम र उत्तरतर्फबाट घेराबन्दी जस्तो स्थिति सिर्जना गर्न सहयोग गरेको स्रोतहरूको भनाइ छ । यसले इजरायललाई इरानभित्र गहिरो रूपमा आक्रमण गर्ने क्षमतासमेत दिएको बताइएको छ । अजरबैजानमा रहेको उक्त अपरेशनमा दर्जनौँ सैनिकहरू संलग्न थिए, जसमा इजरायलका विशेष अपरेशन फोर्स, एलिट हेलिबोर्न कम्ब्याट एण्ड रेस्क्यु फोर्स र मोसादका सदस्यहरू पनि रहेको एक स्रोतले जनाएको छ ।

अजरबैजानको वासिङ्टनस्थित दूतावासका प्रवक्ताले भने यी आरोपलाई अस्वीकार गरेका छन् । उनले भनेका छन्, ‘हामी तेस्रो देशहरू विरुद्धको कारबाहीका लागि अजरबैजानको भूभाग प्रयोग गरिएको भनिएको आरोप सम्बन्धी निराधार दाबीहरूलाई दृढतापूर्वक अस्वीकार गर्छौँ ।’ सीएनएनले यस विषयमा टिप्पणीका लागि इजरायलको प्रधानमन्त्री कार्यालय र इजरायल रक्षा बल (आईडीएफ) लाई सम्पर्क गरेको जनाएको छ ।

रिपोर्ट अनुसार सोमालिल्यान्डले पनि इजरायललाई सैन्य सहयोगका लागि एक अतिरिक्त स्थान उपलब्ध गराएको थियो, जसले लामो दूरीका उडानहरूका लागि विमान अवतरण गर्न मद्दत गरेको बताइएको छ । डिसेम्बरमा इजरायलले सोमालिल्यान्डलाई औपचारिक रूपमा मान्यता दिएको थियो र यूएईले पनि बेरबेरा बन्दरगाह क्षेत्रमा व्यापक उपस्थिति राखेको छ । 

सोमालिल्यान्डको विदेश मन्त्रालयले भने यसबारे कुनै टिप्पणी गरेको छैन । इराकमा पनि इजरायलले दुई वटा गोप्य सैन्य सुविधा सञ्चालन गरेको बताइएको छ, जसलाई लजिस्टिक सपोर्ट र आवश्यक परेमा उद्धार कार्यका लागि प्रयोग गरिएको थियो । तर इराकका सेनाले आफ्नो देशमा कुनै पनि अनधिकृत सैन्य आधार नरहेको दाबी गरेको छ ।

यसैबीच, इजरायलले यूएईमा आइरन डोम हवाई रक्षा प्रणाली पनि तैनाथ गरेको थियो, जसमा त्यसलाई सञ्चालन गर्ने सैनिकहरू पनि समावेश थिए । यूएईले भने नेताहरूको भ्रमणबारे गरिएको दाबी अस्वीकार गरेको छ । इजरायलले अजरबैजानलाई लामो समयदेखि इरानविरुद्धको रणनीतिक साझेदारका रूपमा हेर्दै आएको रिपोर्टमा भनिएको छ । युद्ध सुरु हुनुभन्दा केही हप्ताअघि नै यहाँ गुप्त तयारीहरू गरिएका थिए ।

स्रोतहरूका अनुसार जनवरीको मध्यतिर, इरानले व्यापक विरोध प्रदर्शन दमन गरिरहेको समयमा इजरायलले अजरबैजान–इरान सीमामा गुप्त मिसनको तयारी गरेको थियो । यो प्रारम्भिक चरणमा क्षेत्रमा सुन्ने उपकरण र गुप्तचर उपकरण जडान गर्ने काम गरिएको थियो । 

इजरायलले उक्त अपरेशन मध्य–जनवरीमा युद्धको सुरुवाती आक्रमणसँगै कार्यान्वयन गर्ने योजना बनाएको थियो । तर इरानले प्रदर्शन रोक्न सहमति जनाएको दाबी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम क्षणमा आक्रमण रोकिदिएका थिए ।

त्यसपछि इजरायलले आफ्नै तरिकाले अपरेशन अघि बढाएको बताइएको छ । इजरायली वायुसेनाले स्टेल्थ जेट्स र विशेष बल प्रयोग गरेर निगरानी उपकरणहरू जडान गरेको स्रोतहरूको भनाइ छ । यो गुप्तचर केन्द्रले इरानी सैन्य गतिविधि र मिसाइल प्रक्षेपण तयारी लगायतका सूचना सङ्कलन गर्न मद्दत गरेको बताइएको छ । 

दुई हप्ताभित्रै इजरायलका विदेशमन्त्री गिदोन सारले बाकुमा अजरबैजानका राष्ट्रपति र अन्य उच्च अधिकारीहरूसँग भेट गरेका थिए । सन् २०२५ को मे महिनामा अजरबैजानले इजरायल र सिरियाबीचका गोप्य प्रत्यक्ष वार्ता पनि आयोजना गरेको बताइएको छ ।

मार्च ४ मा गरिएको एक प्रमुख अपरेशनमा आईआरजीसी गुप्तचर विभागका प्रमुख रहमान मोघद्दामको हत्या गरिएको रिपोर्टमा उल्लेख छ । त्यसपछि मार्च ५ मा अजरबैजानको नख्चिवान क्षेत्रमा ड्रोन हमला भएको थियो, जसले विमानस्थलको टर्मिनलमा क्षति पुर्‍याएको थियो । 

मार्च ६ मा अजरबैजान स्टेट सेक्युरिटी सर्भिसले आईआरजीसीको महत्वपूर्ण पूर्वाधार र इजरायली तथा यहूदी लक्ष्यमाथि आक्रमण गर्ने योजना असफल बनाएको घोषणा गरेको थियो । पछि इजरायलले यसलाई मोसाद, इजरायली सेना र शिन बेटको संयुक्त अपरेशन भएको स्वीकार गरेको बताइएको छ ।

यो रिपोर्टले इजरायल र अजरबैजानबीचको सम्बन्धलाई तेल व्यापार, हतियार बिक्री र सैन्य सहकार्यसँग जोडिएको दीर्घ रणनीतिक साझेदारीका रूपमा वर्णन गरेको छ । अजरबैजानले इजरायललाई ठूलो मात्रामा तेल आपूर्ति गर्छ र यसको बदलामा इजरायलले पनि अजरबैजानलाई आधुनिक हतियार उपलब्ध गराउने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप