आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
खुम्चिँदै आयात

चार कारणले पेट्रोलियम पदार्थको खपत घट्यो, दबाबमा अर्थ मन्त्रालय

सोमबार, ०८ माघ २०८०, ११ : ४४
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । देशमा पेट्रोलियम पदार्थको खपत खुम्चिँदै गएको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षदेखि नै खुम्चिन थालेको पेट्रोलियम पदार्थको आयात र खपतले यो चालू वर्षमा समेत निरन्तरता पाएको हो । 

जसको असर राजश्वमा देखिएपछि अर्थ मन्त्रालय दबाबमा परेको छ । राजश्वमा आधारित अर्थतन्त्रको मेरुदण्ड नै पेट्रोलियम पदार्थ र पेट्रोलियम सवारी भएपनि चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थसँगै पेट्राल र डिजेलबाट चल्ने सवारीको समेत आयात घटिरहेको हो । जसबाट अर्थ मन्त्रालय दबाबमा परेको अधिकारीहरु बताउँछन् । चालू आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षकमा झण्डै १५ खर्ब आम्दानीको लक्ष्य राखेको थियो । तर, यस अवधिसम्ममा यो लक्ष्यको ३६ प्रतिशत मात्रै भेटिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा २८ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको २ लाख ८१ हजार किलोलिटर पेट्रोल आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३३ अर्ब ५३ करोड रुपैयाँ भन्दा बढी मूल्य बराबरको ३ लाख ३४ हजार किलोलिटर पेट्रोल भित्रिएको थियो । तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा अवधिमा पेट्रोलको आयात ५ अर्बले घटेको छ । तथ्यांकअनुसार पेट्रोलको आयात मूल्य र परिणाममा नै घटेको छ ।

यस्तै, चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा ५३ अर्ब ९० करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको ४ लाख ८९ हजार किलोलिटर डिजेल भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७० अर्ब १० करोड रुपैयाँभन्दा बढीको ५ लाख ५० हजार किलोलिटर डिजेल भित्रिएको थियो । तथ्यांकअनुसार यस अवधिमा डिजेलको आयात १६ अर्ब २० करोडले घटेको छ ।

यस बाहेक हवाई इन्धनको आयातमा २ अर्ब ५८ करोड रुपैयाँको गिरावट आएको छ । चालू वर्षमा ८ अर्ब ६६ करोड रुपैयाँको हवाई इन्धन भित्रँदा गत आर्थिक वर्षको यही अवधिमा यो शीर्षकमा ११ अर्ब २४ करोड रुपैयाँ बाहिरिएको थियो । यो अवधिमा ७८ हजार किलोटिलर हवाई इन्धन आयात भएकामा गत वर्षको सोही अवधिमा ८७ हजार हवाई इन्धन भित्रिएको थियो ।

तर, यस अवधिमा मट्टितेलको आयात भने बढेको छ । गत आर्थिक वर्षको ६ महिनामा ६९ करोड रुपैयाँको मट्टितेल आयात भएको थियो । यो वर्षको ६ महिनाको अवधिमा ४५ करोड रुपैयाँमा सीमित बनेको हो । यो २४ करोडको गिरावट हो । यता एलपी ग्यासको आयातमा समेत भारी गिरावट देखिएको छ । गत वर्षको आधा समयमा २८ अर्ब २० करोड रुपैयाँको एलपी ग्यास भित्रिएकामा यो वर्षको सोही अवधिमा ७ अर्ब ५५ करोडले घटेर २० अर्ब ६५ करोड रुपैयाँको मात्रै आयात भएको छ ।

मूल्यमा मात्रै नभएर खाना पकाउने एलपी ग्यासको आयात परिणाममा समेत घटेको छ । गत वर्ष २४ करोड ७७ लाख किलोग्राम एलपी ग्यास आयात भएकामा यो वर्ष २१ करोड ४२ लाख किलोग्राम मात्रै भित्रिएको छ ।

किन घट्यो आयात ?

आयात घट्नुको मुख्य कारणमध्ये नै पेट्रोलियम पदार्थ र पेट्रोल र डिजेलबाट चल्ने सवारी घट्नु भएको अधिकारीहरुको भनाइ छ ।  पेट्रोलियम पदार्थबाट चल्ने सवारी आयात नै घटेपछि पेट्रोल र डिजेलको आयात बढ्ने कुरै भएन । यी दुई वस्तुको आयात घट्दा राजश्व लक्ष्य नभेटिने पक्कापक्की भएपछि अर्थ मन्त्रालय गम्भीर विमर्शमा लागेको छ ।

सरकारले तय गरेको आम्दानीको लक्ष्य भेट्टाउने मुख्य उपाय आयातमा आधारित भन्सार राजश्व हो । आयात नै घटेपछि भन्सार राजश्वको लक्ष्य भेट्न कठिनाइ हुने अर्थमन्त्री डा. प्रकाश शरण महतको भनाइ छ ।  पेट्रोल–डिजेलबाट चल्ने सवारीमा ३०० प्रतिशतसम्म कर लाग्दै आएको उनले बताए ।  तर, यी सवारीको आयात घटेपछि यतिबेला मन्त्रालय राजश्वको नयाँ स्रोत पहिचानमा लागेको उनको भनाइ छ । ‘विद्युतीय सवारीको आयातमा सहुलियत दिइएको छ,’ उनले भने, ‘यहीकारण धेरैले विद्युतीय सवारीको आयात गर्न थाले । र, डिजेल–पेट्रोलबाट चल्ने सवारीको आयात घटेको छ ।’ सोहीकारण, आगामी आर्थिक वर्षदेखि राजश्वको नयाँ स्रोत पहिचानमा मन्त्रालय लागेको अर्थमन्त्री डा. महतको भनाइ छ ।

पेट्रोलियम पदार्थको खपत घट्नुमा मुख्यगरी चार वटा विषय देखिएका छन् । ‘यतिबेला देशबाट लाखौँको संख्यामा युवा विदेश गइरहेका छन् । विदेश जानेहरुको सूचीमा १८ देखि ४० वर्ष उमेर समूहका युवा छन्,’ अर्थविद् ज्ञानेन्द्र कार्कीले भने, ‘यो समूहलाई सबैभन्दा धेरै खर्च गर्ने समूहमा राखिन्छ । सबैभन्दा धेरै खर्च गर्ने, घुम्ने, खानपिन र लत्ताकपडामा खर्च गर्ने समूह नै विदेश गएपछि पेट्रोलियम पदार्थको खपत घट्छ नै ।’ 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा नै २ लाख ७७ हजार युवा बिदेसिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यसरी रोजगारीको सिलसिलामा विदेशी नेपालीको सङ्ख्या ३ लाख ५० हजार थियो । यसबाहेक, चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा भ्रमणका लागि भनेर ४७ अर्ब ३५ करोड रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकको तथ्यांकमा छ । पछिल्लो समय रोजगारीको खोजीमाभन्दा अध्ययन सिलसिलामा बिदेसिने युवाको सङ्ख्या धेरै छ । नेपाली विद्यार्थीको प्रमुख रोजाइमा जापान, अस्ट्रेलिया, युरोप लगायतका देश पर्छन् ।

यस्तै, यतिबेला विद्युतीय सवारीको आयात पनि बढ्दो अवस्थामा छ । यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थको खपतमा पर्छ । उपत्यकामा पाइलै पिच्छे विद्युतीय सवारी देखिन्छन् भने उपत्यकाबाहिर पनि तीन पाङ्ग्रे सवारी ‘अटो’को प्रयोग व्यापक छ । यसले थोरै भएपनि पेट्रोलियम पदार्थको खपत घटाउँछ । यसबाहेक, यतिबेला विकास निर्माणका काम पनि ठप्पप्राय छन् । पेट्रोलियम पदार्थको खपत विकास निर्माणका काममा समेत व्यापकरुपमा प्रयोग हुन्छ । तर, सबैजसो विकास निर्माणका काम ठप्प हुँदा यसको खपत स्वतः घट्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह बताउँछन् ।

यस्तै नेपालको तुलनामा भारततर्फ डिजेलको बिक्री मूल्य न्यून रहेकाले पनि त्यसको असर नेपाली बजारमा परेको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले तर्क गरे । 

‘नेपालतर्फको तुलनामा भारततर्फ डिजेलको बिक्री मूल्य न्यून छ,’ ठाकुरले भने, ‘फलस्वरुपः भारतबाट आउने मालवाहक सवारीले समेत भारतीय भूमिमा नै डिजेल भर्छन् ।’ यस्तै, बोर्डरमा बस्ने नेपाली समेत डिजेल भर्न भारत पुग्ने हुँदा पनि खपत घटेको निगमको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप