शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमै रहेर जनमतले दिँदै छ सरकारलाई चुनौती

मङ्गलबार, ०९ माघ २०८०, १५ : ५२
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सरकारमा बसेर सरकारलाई नै चुनौती दिँदै आएको घटनाक्रमले देखाएको छ । 

सरकारले छ महिनाका लागि माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेको थियो । उक्त निर्णयमा राउतको पार्टीकी मन्त्री अनिता साहले नै सहमति जनाउँदै निषेधित क्षेत्र तोड्न पुगिन् । धोती जुलुसको नाममा राउत र मन्त्रीसहितका नेता कार्यकर्ता निषेधित क्षेत्रको अवज्ञा गर्न पुगेका थिए । 

सो प्रकरणमा प्रहरीको नियन्त्रणमा परेका राउतले उल्टै भने, ‘यो राज्यका प्रहरी प्रशासनले आफ्ना मन्त्रीलाई पनि चिन्दैन, माइतीघरमा धोती जुलुस निकाल्दा पक्राउ गर्‍यो ।’ 

यसैगरी मधेस प्रदेश सरकारले माघ ३ गतेलाई मधेस स्वाभिमान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । सो निर्णयमा जनमत पार्टीबाट सरकारमा रहेका दुई जना मन्त्रीले पनि सहमति जनाएका थिए । तर माघ ३ गते कार्यक्रम हुँदा जनमत पार्टीका नेता तथा कार्यकर्ताले उल्टै मुख्यमन्त्री र मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । 

यसैगरी सप्तरीमा रहेको मधेस कृषि विश्वविद्यालयको शिलान्यास गर्ने तय गरियो । जनमतबाट प्रदेशमा मन्त्री रहेका महेशप्रसाद यादव मधेस कृषि विश्वविद्यालयका सहकुलपति तथा विश्वविद्यालय सभा (सेनेट)का अध्यक्ष समेत हुन् । उनीसँग सल्लाह गरेर नै सबै कार्यक्रम तय भएको विश्वविद्यालयका रजिस्टार श्रीभगवान ठाकुरको भनाइ छ । 

तर, यस्तो सरकारी निर्णय हुँदा हुँदै पनि जनमत पार्टीले कार्यक्रम स्थगित गराउन पटक पटक प्रयास गर्‍यो । प्रदेश सरकारदेखि संघ सरकारसम्म पत्र लेख्यो । कतैबाट कुनै सुनुवाइ नभएपछि त्यसलाई पार्टीबाट बिथोल्ने प्रयास भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यो प्रकरणका कारण तनावका बिच विश्वविद्यालयको शिलान्यास गरियो । 

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले सरकारमा हुँदैमा सबै कुरामा ठिक भन्न नसकिने बताए । उनले पार्टीले गलतलाई गलत र सहीलाई सही भन्ने बताए ।  उनले भने, ‘सरकारले गलत गरेको कुरालाई मात्र हामीले विरोध गरिरहेका छौँ, सहीको समर्थन पनि गरेका छौँ ।’

जनमतले माइतीघरमा लगाइएको निषेधाज्ञा तोडेको आरोप लगाइनु गलत रहेको दाबी गर्दै उनले त्यो दिन आफूहरू माइतीघर नपुग्दै प्रहरीले गिरफ्तार गरेको बताए । उनले भने, ‘हामीले आन्दोलन नै गरेका थिएनौँ, हामी हाम्रो पहिरन प्रदर्शन गरिरहेका थियौँ प्रहरीले हामीलाई जबरजस्ती उठाएर लग्यो ।’

जनमत मात्र होइन, कतिपय घटनाक्रममा जसपा र लोसपाले पनि सरकारलाई चुनौती दिइरहेको देखिन्छ ।  जसपा र लोसपाले आन्दोलनको चेतावनी दिइरहेको अवस्था छ । सरकारमै रहेका यी तीन दल अहिले मधेसमा आन्दोलन गर्ने भनी तीव्र तयारीमा जुटेका छन् । आन्दोलनका लागि तीनवटै दलमा प्रतिस्पर्धा पनि रहेको छ । 

यता, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि आन्दोलनको तयारीमा लागेका छन् । लोसपाबाट विद्रोह गरेर उनले छुट्टै आन्दोलनको तयारी गरिरहेका हुन् । उनले लोसपालाई सरकारबाट बाहिरिन समेत दबाब दिँदै आएका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप