शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

गण्डकीमा गठबन्धनले जोगाउन सकेन आफ्नै मत, ६ जनाले गरे फ्लोर क्रस

बिहीबार, ११ माघ २०८०, १९ : ११
बिहीबार, ११ माघ २०८०

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा तीनै पदमा गठबन्धन उम्मेदवार विजयी भएका छन् । अन्य क्लष्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिलामा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा र अपांगता/अल्पसंख्यक क्लष्टरमा कांग्रेसकै पदमबहादुर परियार विजयी भए ।

किरण ३ हजार ८ सय ८ मतभार पाएर विजयी भए । उनलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभातर्फ ३६ जनाले मत दिएका थिए । विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।

राप्रपाका रोमबहादुर भण्डारीले १ सय ६ मतभार प्राप्त गरे । उनलाई राप्रपाका २ सांसदले मतदान गरे । अन्य कोटामा गठबन्धनको स्थानीय तहतर्फ १ जनाले मत क्रस गरेका छन् ।

महिला क्लस्टरमा विजयी नेकपा माओवादी केन्द्रकी मनरुपाले ३ हजार ६ सय ६० मतभार पाइन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए । विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् । उनलाई स्थानीय तहतर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन् ।

स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनैपनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे । स्थानीय तहतर्फ बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली मतदानमा सहभागी भएनन् ।

अपांगता क्लष्टरमा विजयी कांग्रेसका पदमले ३ हजार ७ सय ७४ मतभार पाए । परियारलाई स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए । विपक्षी एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अपांगता कोटामा ३ मत बदर भएको छ । यो क्लस्टरमा भने मत क्रस भएको छैन । राप्रपाका २ सांसद र गठबन्धनका थप अर्का सांसदले मत बदर गरेका थिए ।

प्राप्त मत परिणाम हेर्दा गठबन्धन दलले धेरै मत जोगाउन नसकेको देखिन्छ । प्रदेशसभामा गठबन्धनका ३६, एमालेका २२ र राप्रपाका २ सांसद छन् । सांसदहरुले मत क्रस नगरेपनि बदर गरेका छन् । एमालेले तीनै क्लष्टरमा आफ्नो मत जोगाएको छ भने गठबन्धनबाट केही मत खोसेको छ । सबैभन्दा धेरै महिला क्लष्टरमा मत क्रस भएको छ ।

महिला क्लष्टरमा एमालेकी सम्झनाले ६ मत गठबन्धनको खोसेकी छिन् । स्थानीय तर्फका ६ जना मतदाताले क्रस गरेका हुन् । अन्य क्लष्टरमा पनि स्थानीय तहका गठबन्धनका एक जना मतदाताले क्रस गरे । प्रदेशसभामा अन्य क्लष्टरका किरणले सत प्रतिशत मत जोगाए भने अपांगता क्लष्टरका पदमले स्थानीय जनप्रतिनिधिको सत प्रतिशत मत जोगाए । मत जोगाउन नसकेपछि कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले अप्रिय गतिविधि भएको बताए ।

‘गम्भीरतापूर्वक अध्ययन गर्छौँ । कहाँबाट त्रुटि भएको छ, छानबिन गरेर पार्टी मार्फत सावधान गराउँछौँ,’ उनले भने, ‘यस्तो होला भन्ने आभास थिएन । यो चाहिँ कुरा ठूलो होइन । यसले परिणाम नै परिवर्तन हुने अवस्था थिएन । अप्रिय चाहिँ पक्का हो ।’ गठबन्धनमा भएको असन्तुष्टि हो कि भन्ने प्रश्नमा उनले अघि थपे, ‘गठबन्धन निरन्तर भएकोले यसमा प्रश्न उठाउन पाइँदैन । नयाँ गठबन्धनका लागि तर्क र छलफल हुन्छन्, यसमा प्रश्न गर्न मिल्दैन ।’

नेकपा माओवादी केन्द्रका गण्डकी इन्चार्ज देवेन्द्र पौडेल सुनिलले मत धेरै तलमाथि नभएपनि समीक्षाको विषय भएको बताए । ‘धेरै मत क्रस भएको त होइन । तर पनि गम्भिरपूर्वक समीक्षा गर्नुपर्ने अवस्था आयो । पार्टीको निर्णायक बेलामा सबै दल गम्भीर हुनुपर्छ,’ उनले भने, ‘गम्भीर समीक्षाको कुरा हो । समीक्षा गर्छौँ । हामीलाई बिहानसम्म पनि यस्तो आशंका थिएन । बदर हुने शंका थियो, मत नै यताउति हुन्छ भन्ने लागेको थिएन ।’ मत के कारण बदर भयो भन्ने चाहिँ अध्ययन हुनै बाँकी रहेको उनले बताए । ‘यही कारण बदर भयो र यसैले क्रस गर्यो भन्ने छैन । जसले अनुशासनको उल्लंघन गर्नुभयो यो समीक्षा हुन्छ,’ उनी भन्छन्, ‘मूलभूत रुपमा त गठबन्धन सफल छ । आंशिक रुपमा समीक्षा यही परिघटनाले बनायो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप