आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

ठगी मुद्दाका आरोपित अन्जन बरालको झोलामा १५ करोड ६५ लाखको चेक फेला

सेयरमा लगानी गराएर ठगेको आरोप
शुक्रबार, १२ माघ २०८०, २१ : ४४
शुक्रबार, १२ माघ २०८०

काठमाडौँ । काठमाडौँबाट नयाँ शैलीको ठगीमा संलग्न आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । उनी हुन् काभ्रेको पाँचखाल नगरपालिका–३ घर भएका अन्जन बराल । नयाँ बानेश्वरबाट प्रहरीले पक्राउ गर्दा उनको झोलामा करोडौँ रकम उल्लेखित चेक भेटिएको प्रहरीले बताएको छ ।

बरालको झोलाबाट १५ करोड ६५ लाख ८० हजार नगद उल्लेख गरिएको चेक बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।

प्रहरीका अनुसार अन्जनको ठग्ने शैली पनि अनौठो छ । आफैँ लगानी गरेर पीडितलाई सेयर किनिदिन्छन् र विश्वास जित्छन् । सेयर बेचेर आएको नाफा पनि उनी दिन्छन् । अर्काले लगानी गरिदिएर नाफा आएपछि पीडितहरू आफैँ लगानी गर्न थाल्छन् । त्यतिबेलासम्म अन्जनले पीडितको खाता खोलेर चेकबुक आफ्नो साथमा लगिसकेका हुन्छन् ।

त्यसपछि बिस्तारै सम्पर्कविहीन भएर पीडितको चेकमार्फत उनी अरूसँग कारोबार गर्न थाल्छन् । पीडितको नामको चेकमा उनी आफैँ हस्ताक्षर गर्छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘सुरुमा ५ हजार नाफा दिएर उनले पीडितको विश्वास जित्ने र पछि पीडितले आफैँ लगानी गर्न थालेपछि खातामा जम्मा गरेको रकम निकालेर ठग्ने गरेको देखिन्छ ।’

प्रहरीका अनुसार एक जनालाई ठगेपछि उनी अर्को व्यक्तिलाई सेयरमा लगानी गर्न लगाउँछन् र आफ्नो धन्दा चलाइरहन्छन् ।भक्तपुर बस्ने उनी प्रहरीले खोज्दा बानेश्वरमा भेटिए । अन्जनले बानेश्वर चोकस्थित स्ट्याण्डर्ड चार्टर्ड बैंकको पार्किङ एरियालाई ठगीको मुख्य थलो बनाएको अनुसन्धान अधिकृतहरू बताउँछन् । उनलाई पक्राउ गर्दा झोलामा ३४ थान चेक भेटिएको प्रहरीको भनाइ छ ।

ठगी मुद्दामा उनलाई यसअघि पनि अदालतले कैद सजायको फैसला गरेको भेटिएको छ । उनलाई १९ महिना कैद गर्नुपर्ने अदालतले ठहर गरेको छ । अन्जनले गोविन्द घिमिरेसँग मिलेर ठग्ने गरेको प्रहरी उपरीक्षक ढुंगेलले बताए । काभ्रेको पाँचखाल घर भएका घिमिरे भने फरार छन् ।

‘रकम अहिले लिए पनि बैंकमा ६ महिनापछिको मिति राख्छन्’

अन्जन र गोविन्द घिमिरेले बैंकका उच्च तहका कर्मचारीहरूसँग मिलेर ६ महिनापछिको मितिमा रकम लिएर अपचलन गर्ने गरेको भेटिएको छ । बैंकबाट रकम लिएर चलाएको ६ महिनापछि मात्रै बैंकको सिस्टममा देखाउने उनीहरूले बिचको अवधिको ब्याज तिर्दैनन् ।

गोविन्द घिमिरेले एनएमबी बैंक, कामना विकास बैंक, ग्लोबल आईएमइ बैंक, एभरेष्ट बैंकसहितका बैंकको उपल्लो तहका कर्मचारी चिनेको हुनाले कर्मचारीसँग मिलेर कागजी प्रक्रिया मिलाउने गरेको अन्जनले प्रहरीलाई बताएका छन् । अन्जनले भनेका छन्, ‘गोविन्द घिमिरेले भने अनुसार बैंकबाट पैसा ल्याएर उनैलाई दिने गरेको हुँ ।’

बैंकबाट पैसा लिएर ६ महिनापछि ऋण लिएको देखाउने काम गर्दा सो रकमको १ प्रतिशत आफूलाई कमिशन आउने अन्जनले बताएका छन् । बैंकसँग उनीहरूले ‘एबी ग्रुप अफ कम्पनी लिमिटेड’ मार्फत कारोबार गरेको भेटिएको छ । बैंकमा गएर सो कम्पनीको परिचयपत्र देखाएपछि अन्जनलाई कर्मचारीले माथिल्लो तहका कर्मचारीहरूसँग भेटाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

रकम अपचलनमा संलग्न बैंकका उच्च तहका कर्मचारीहरुबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘एबी ग्रुप अफ कम्पनीको लेटर प्याडमा सहीछाप गरेर आरोपितहरुले इमेल गरेपछि बैंकको उच्च तहका कर्मचारीले पछिल्लो मिति राखेर रकम दिने गरेको देखिन्छ ।’

जस्तै, जनवरी १० मा रकम दिएमा लिएको मितिचाहिँ जुन १० राख्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । रकम लिइसकेपछि बैंकको गेटमा आइ सो रकम गोविन्द घिमिरेको मानिसले भनेको गाडीमा अन्जनले राखिदिने गरेका थिए । कत्तिपय अवस्थामा बैंककै गाडी पनि रकम ओसार पसारमा प्रयोग हुने गरेको भेटिएको छ । गाडीमा रकम राखिसकेपछि सो रकम गोविन्द घिमिरेसम्म पुग्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

पछिल्लो मितिमा निकालिएको रकम इन्स्टलमेन्ट (किस्ता) को रुपमा आफ्नो इच्छा अनुसार आरोपितहरुले तिर्ने गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप