शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
विचार

‘नेपाल इतिहासकै सबैभन्दा सुन्दर दिनमा छ’

शुक्रबार, १२ माघ २०८०, २१ : ४५
शुक्रबार, १२ माघ २०८०

आज देशले जुन राजनीतिक प्रणाली अपनाएको छ, यो प्रणालीको कार्यान्वयनका सन्दर्भमा नागरिक पंक्तिमा मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसन समेत पुगेको छ । हाम्रो चरित्रमाथि पनि कतिपय प्रश्न उठेका छन् । आजको हाम्रो राजनीतिक प्रणाली सही हो वा होइन भन्ने प्रश्नलाई हामीले व्यवहारसम्मत ढङ्गले स्थापित गरेर अगाडि जानुपर्नेछ । 

प्रणालीलाई ड्राइभ गर्ने राजनीतिले हो । प्रणाली जुनसुकै होस्, संसारमा हरेकको साझा कुरा राजनीति नै हो । आजको हाम्रो राजनीति कति रूपान्तरित र परिष्कृत छ, हामी कहाँ चुकिरहेका छौँ, यसमा रूपान्तरणका लागि हामीले के बल पु¥याउनुपर्छ, यसमा ध्यान दिनुपर्नेछ । 

अमूर्त परिकल्पना जस्तो गरी हामीले देश बनाउने कुरा गरिरहेका हुन्छौँ । मेचीदेखि महाकालीसम्म भूगोल छँदै छ । साथसाथै संरचनाहरू छँदै छन् । हिमाल, तराई, सगरमाथा, गौतम बुद्धको भूमि सबै छँदै छन् । वास्तवमा हामी सबै मिलेर समाज कस्तो बनाउने भन्ने प्रधान कुरा छ । हामीकहाँ आशाको ऊर्जा बोकेको समाज पनि समाज हुन्छ, निराशावादीको पनि समाज छ । भ्रातृत्व भएको पनि समाज छ । ठुलाठुला गगनचुम्बी भवन बनाएकाहरुको र झुपडीमा सुत्नेहरूको पनि समाज छ । ठुलाठुला एयरपोर्टहरूमा बोइङ जहाड उडेर जाँदै गर्दा तलतल बालश्रम गर्दै गरेको समाज पनि छ । ३३ प्रतिशत महिला संसद्मा उभिएर बोल्दै गरेको पनि समाज छ । त्यही समाजमा दाइजोको नाममा पीडित भएका महिलाको पनि समाज छ । नवराज विकहरू मारिएको समाज पनि छ । बाटो बनाउने, बिजुली बाल्ने कुरा मात्रै देश बनाउने कुरा होइन । देश बन्नु भनेको समाजमा भ्रातृत्व कायम गर्नु पनि हो, सबैको पहिचानलाई सम्मान गर्ने वातावरण बनाउनु पनि हो, जहाँ आज हामी आइपुगेका छौँ । 

भौतिक विकासको चरणमा हामी जाने नै छौँ । बितेका ३० वर्षयताको तथ्याङ्कलाई हेर्दा बाटो, बिजुलीका सन्दर्भमा धेरै काम भएको देख्छौँ । तर, विकासको यही मोडलबाट, कर्मको यही प्रकारबाट चाँडो समुन्नति हासिल गर्न सक्छौँ त ? हामी यसमा सहमत छैनौँ ।

यतिखेर ५० लाखभन्दा बढी नेपाली विदेशमा हुनुहुन्छ । यस हलमा रहनुभएका हरेक व्यक्तिको घरको युवा बाहिर हुनुहुन्छ । राजनीतिक भाषण गर्दा त हामीले सबै नेपालीलाई फिर्ता ल्याउने भनौँला, तर आजको वास्तविकतालाई आत्मसात् गरेर भन्नुपर्छ । त्यो जनशक्तिलाई अहिले नै हामीले ल्याउन सक्दैनौँ । अहिले नै जाँदै गरेको जनशक्तिलाई रोक्न पनि सक्दैनौँ । त्यसको व्यवस्थापन गर्ने निश्चित कालखण्ड चाहिन्छ । त्यसका लागि के गर्ने हो भन्ने विषयमा छलफल गर्नुपर्छ । शासन भनेको बदलिरहन्छ, आइरहन्छ, तर त्यस्तो शासनमा सुशासनको अंश भेटिएन भने हामी कहाँ पुग्छौँ भन्ने प्रश्न हामीसँग छ । 

हामीसँग सपना छन् । हामीले नेपाललाई अबको १५ वर्षमा कहाँ पु¥याउन चाहन्छौँ, यो महत्त्वपूर्ण छ । दक्षिण एसियाको गोलाद्र्धमा रहेको, सगरमाथाको फेदमा रहेको, बुद्धको देशले संसारको सामुन्ने यस्तो सपना लिएर हिँडिरहेको छ भनेर भन्ने के हो ? सपना बेगरको मान्छे, सपना बेगरको संस्था या राष्ट्र घिस्रन सक्छ होला तर स्वाभिमानका साथ उभिएर उज्यालो यात्रालाई गति दिन सक्दैन । 

हाम्रो दुईवटा मनोविज्ञान भत्काउनुपर्छ, नेपाल बनाउनका लागि । एउटा, मनोविज्ञान बाल्यकालदेखि नै हामीलाई पढाइएको थियो– तिमी वीर गोरखाली हौँ । तिमी संसारमा कहिल्यै हारेनौँ । कसैले भनिदियो ‘संसारमा मलाई कसैसँग डर लाग्दैन, तर गोर्खालीको नाम सुन्दा डर लाग्छ ।’ हामीलाई यस्तो पढाइयो कि हामीले कहिल्यै हारेका छैनौँ । जित्न कसैलाई बाँकी छैन । अब आफैँ लडौँ भन्ने खालको मानसिकता बनाइयो । त्यो मनोविज्ञानले देश बनाउन सक्दैनौँ । तथ्यले के भन्छ भने, हामी बेलाबेला घुम्न गएको दार्जिलिङ, टिस्टा, पश्चिमको देहरादुन, गढवाल हाम्रै थियो । अहिले भारतसँग हामीले दाबी गर्ने कुरा होइन, तर हामीले १८१६ मा इस्ट इन्डियासँग हारेका हौँ । त्यसबेला दस्तावेजमा हामीले हस्ताक्षर गरेका छौँ । तथ्य के हो भने हामी पराजित भयौँ, तर हामी पराधीन भएनौँ । यसलाई हामीले स्वीकार गरेपछि वा बुझिसकेपछि मात्रै अहिलेको पुस्तामा वा राजनीतिज्ञमा जित्न बाँकी छ भन्ने मनोविज्ञानको विकास हुन्छ । त्यसका लागि गर्ने के हो ? कस्तो समाज निर्माण गरेपछि हामीले जितेको हुन्छ भन्ने ईखको भावना बढेर जान्छ भन्ने मलाई लाग्छ । किनकि संसारमा जितिसकेको मानिसले जित्नलाई केही बाँकी रहँदैन, तर जित्नलाई बाँकी रहेकाहरूले नै जित्न सक्छन् । 

राष्ट्रपतिको शपथ एकजनाले एकपटक, प्रधानमन्त्रीको शपथ एकजनाले दुईपटक, मन्त्रीको शपथ एकजनाले तीनपटक र सांसदको शपथ एक जनाले चारपटकसम्म लिने व्यवस्था हुनुपर्छ  । त्यसो गर्‍यो भने कोही पनि मानिसलाई तपाईं छाड्नुस् भन्नुपर्दैन ।

नेपाल बन्दैन, बन्नै सक्दैन, सतीले सरापेको देश हो यो भन्ने जुन मनोविज्ञान छ, यसलाई भत्काउनैपर्नेछ । नेपालमा केही भएको छैन होइन, केही भएको छ । नेपालमा केही गर्न सकिन्छ, नेपाल बनाउन सकिन्छ, नेपाल बनाउने हो । त्यसकारण हामीले भन्नुपर्छ– नेपाल सतीले सरापेको देश होइन, भगवान् गौतम बुद्धले आशीर्वाद दिएको देश हो । यो खालको मनोविज्ञान बनाउन सकिएन भने देश बन्दैन । 

समुन्नतिका सन्दर्भमा यी मनोविज्ञान भत्काएपछि जोड्ने कुरा सोच्नुपर्छ— समुन्नतिका लागि पहाड र मधेसको भावनालाई जोड्ने, भिन्न–भिन्न समुदायलाई जोड्ने, वामपन्थी आन्दोलन र लोकतान्त्रिक आन्दोलनको समन्वय गरेर जाने, उत्तरको चीन र दक्षिणको भारतलाई नेपालको समुन्नतमा गाँसेर जाने, नेपाल बाहिरको नेपाल र नेपालभित्रको नेपाल जोडेर जाने । यी कुरा हामीले मिलाउनुपर्नेछ । 

विश्व अर्थतन्त्रको प्रक्षेपण गर्नेहरूले भनेका छन्— सन् २०५० मा उत्तरको छिमेकी देश चीन ५८ ट्रिलियन अमेरिकी डलर अर्थतन्त्रका साथ पहिलो अर्थतन्त्र बन्ने र ४७–४८ ट्रिलियन अमेरिकन डलरका साथ भारत दोस्रो अर्थतन्त्र बन्ने अवस्था छ । तेस्रोमा अमेरिकी अर्थतन्त्र बन्नेवाला छ । त्यसो हो भने पहिलो र दोस्रो आर्थिक महाशक्ति राष्ट्रका बिचमा बसिराख्दा समुन्नत सपनाका साथ हामी सँगसँगै जान्छौँ भन्ने सोचाइ बनाउनुपर्छ । म त भन्छु, हामी इतिहासकै सबैभन्दा सुन्दर दिनमा छौँ । हामी इतिहासमा सबैभन्दा राम्रो अवसर पाइरहेका बेलामा छौँ ।

अहिलेको जनसंख्या नेपालको शक्ति पनि हो र चुनौती पनि । जबसम्म हामीले हाम्रो मानवीय स्रोत र प्राकृतिक स्रोतलाई बृहत्तर उपयोग गर्न सक्दैनौँ, तबसम्म नेपालको जनशक्ति काम वा अवसर खोज्दै विश्वव्यापी छरिन्छ । नेपालभन्दा साउदी अरब १४ गुणा ठुलो छ । त्यो देशमा चार करोड जनसंख्या छ । १४ गुणा सानो नेपालमा तीन करोड छ । साउदीको तुलनामा हाम्रो जनसंख्या हुने हो भने २४ लाख मात्रै हुन्छ । त्यही समुन्नत भनिएको अमेरिका हामीभन्दा ६२÷६३ गुणा ठुलो छ । हाम्रो जनसंख्याका हिसाबले तुलना गर्ने हो र त्यहाँ त्यही ढङ्गले हुने हो भने अर्बौं जनसंख्या पुग्छ, तर अमेरिकामा त्यति मान्छे छैनन् । त्यही भएकाले अमेरिकाले ५० हजार मानिस संसारबाट आफ्नो देश लगिरहेको हुन्छ । आज हरेक युवक काठमाडौँ एयरपोर्टबाट विदेश जाँदै गर्दा दलहरू र देशलाई गाली गरिरहेका हुन्छन् । देशको युवा जनशक्तिलाई हामीले १० देखि १५ वर्षसम्म व्यवस्थापन गर्ने गरी सोचाइ लिएर आउनैपर्छ । नेपालमा सन् २०३० सम्म कति डाक्टर, कस्ता डाक्टर चाहिने हो ? १० हजार डाक्टर चाहिन्छ भने हामीले १० हजार पाँच सय उत्पादन गर्नुपर्छ । पाँच सय जनशक्तिको बाहिर व्यवस्थापन गर्ने विषयमा पनि सोच्नुपर्छ । अरु देशबाट जनशक्ति भित्र्याउनुपर्छ । 

अबको दशकमा हामीलाई चाहिने प्रोफेसर, डाक्टर, इन्जिनियर कति हो भन्ने विषयमा हामीले दृष्टिकोण बनाउनु जरुरी छ । कमला ह्यारिस एउटा पूर्वभारतीय माइग्रेट भएर गएको आमाबाट जन्मिएकी महिला हुन्, जो अमेरिकाको उपराष्ट्रपति छिन् । भारतीय मूलकी आमाबाट जन्मिएका छोरा ऋषि सुनक बेलायतका प्रधानमन्त्री छन् । ट्विटरको सीईओ भारतीय थिए । एप्पलको उच्च स्थानमा भारतीय पनि छन् । हाम्रा नेपाली कहाँ छन् ? हामी खाडीमा गणना गर्न लाग्छौँ । त्यसैले नेपाल देशले बाहिर जाने जनशक्तिलाई एयरपोर्टमा ढोका लगाएर छेक्न सक्दैन, राजनीतिक भाषणले पनि रोक्न सक्दैन, तर हामीले नेपालभित्रको नेपाल र नेपाल बाहिरको नेपाललाई भने जोड्न सक्छौँ । नेपालमा राम्रो व्यवस्थापन हुन नसक्ने अवस्था हुँदासम्मको १० वर्ष नेपालीले विदेशमै अवसर खोज्नुपर्ने हुन सक्छ, त्यहीँ कमाउने वातावरण बनोस् । बरू उनीहरूले कमाएको १० प्रतिशत कमाइ कुनै ठुलो हाइड्रोपावरमा लगानी गर्न सकियोस् । 

बीपी कोइरालाले एकपटक भन्नुभएको थियो, ‘नेपाल दुईवटा छन् । एउटा नेपाल बाटोघाटो, बिजुलीको नेपाल छ । अर्को नेपाल बाटोघाटो र बिजुलीबिनाको छ ।’ 

अहिले पनि नेपालभित्र दुईवटा नेपाल छन् । नेपाल बाहिरको नेपाल पनि दुईवटा छन् । कस्तो विकटताको र कस्तो सुगमताको नेपाल छ भनी व्याख्या गर्नुपर्दैन । हक–अधिकार प्राप्त गरेको महिलाको नेपाल एउटा छ भने दाइजो नल्याएको र बोक्सीको आरोपमा हिंसाबाट प्रताडीत महिलाको एउटा नेपाल छ । कहीँ न कहीँ युवाहरू उठ्दै गरेको एउटा नेपाल छ, युवा काठको बाकसमा फर्किंदै गरेको अर्को नेपाल छ । नेपालभित्र एउटा नेपाल र नेपाल बाहिर अर्को नेपाल छ । नेपालभित्रको नेपालमा मेचीदेखि महाकालीभित्रको भूगोल र भावना छ । नेपाल बाहिर पनि अर्को नेपाल छ । जहाँ भूगोल छैन, त्यहाँ भावना छ । त्यसकारण नेपालबाहिरका नेपालीलाई पनि नेपालको समुन्नतिका लागि गाँसेर जाने कुरा प्रमुख हो । 

आज आन्तरिक र बाह्य ऋण गरेर झन्डै २४ खर्ब ऋण हाम्रो टाउकोमा छ । श्रीलङ्काले ऋण चुक्ता गर्नका लागि कतिपय क्षेत्र चीनलाई हस्तान्तरण गर्नुपर्ने अवस्था छ । यस्तै अवस्था हुन लागेपछि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री इमरान खानले अन्तिमपटक प्रधानमन्त्री बनेर चीन गएर अघिल्ला सरकारले सम्झौता गरेको अर्बौं अमेरिकी डलर ऋण रद्द गरेको घोषणा गरे । नेपालमा भैरहवाको एयरपोर्ट बनेको १८ महिना भयो । कुनै महिना छैन, जुन महिना १८ करोडको आयात र १८ करोड निर्यात होस् । पोखराको एयरपोर्टको अवस्था कहालीलाग्दो छ । त्यसैले हामीले बाहिरको जनशक्तिको सीप र पुँजीलाई नेपालको समुन्नतिका लागि प्रयोग गर्नुपर्छ । ताकि हामीले लिँदै गएको ऋण अनुत्पादक क्षेत्रमा लगानी गरेर नेपालको कुनै ठाउँमा चन्द्र–सूर्य झन्डा निकालेर अर्कै देशलाई बुझाउनुपर्ने अवस्था आए कति दुःखद होला । त्यसैले समुन्नतिका लागि आज नेपाल भित्रको नेपाल र नेपाल बाहिरको नेपाल गाँस्नुपर्नेछ । 

देशको अवस्था बदल्न व्यवस्था नै बदल्नुपर्छ भन्ने कुरा आइरहेको छ । पुरानै प्रणालीमा फर्कने कुरा पनि सुनिरहेका छौँ । हामीले अहिलेसम्म सातवटा संविधान लेखिसक्यौँ । अमेरिकाले १७८८ मा लेखेको संविधान परिमार्जन गर्दै अहिलेसम्म चलिरहेको छ । अब हामीले व्यवस्था फेर्ने कुरा गर्नु हुँदैन । व्यवस्था जे छ, अहिले यही सही छ । अवस्था बदल्नका लागि अब सोच्नुपर्छ । कतिपयले सजिलै भन्दिनुहुन्छ कि संघीयतालाई खारेज गरियो भने समस्याको समाधान हुन्छ । त्यसो भए संघीयतामा जानु अगाडि हाम्रो देशमा समस्या थिएन ? संघीयतामा गयो भने अर्थतन्त्रको समस्या पनि हल हुन्छ भन्ने पनि छ । त्यसो भए संघीयता आउनुभन्दा अगाडि अर्थतन्त्रमा समस्या थिएन ? सिंहदरबारमा एउटै मूलका प्रधानमन्त्री भएको सुनिरहेको देशमा थारुको छोरा, राईको छोरा, मधेसी तथा गुरुङको छोरा मुख्यमन्त्री भइरहेका छन् । महिलाबाट राष्ट्रपति, मधेसी समुदायबाट राष्ट्रपति भइसके । सरकार जनताको आँगनमा पुग्नु उपलब्धि होइन ? सरकार सञ्चालनमा भएका सानातिना समस्यालाई देखाएर व्यवस्थामा थोपर्ने कुरा गलत हुन्छ । 

३३ प्रतिशत महिला संसद्मा उभिएर बोल्दै गरेको पनि समाज छ । त्यही समाजमा दाइजोको नाममा पीडित भएका महिलाको पनि समाज छ । नवराज विकहरू मारिएको समाज पनि छ ।

आज जुन व्यवस्था छ, यो व्यवस्था कुनै पाँचजना नेता बसेर बनाएको व्यवस्था होइन । व्यवस्थापछि व्यवस्था बदल्दै गयौँ भने हामी कहिल्यै पनि समाधानमा जान सक्दैनौँ, देशलाई अग्रगति दिन सक्दैनौँ, देश गोलचक्करमा फस्छ । संविधानलाई परिमार्जन गर्दै, व्यवस्थालाई परिमार्जन गर्दै जाँदा एउटा कुरा सोच्न जरुरी छ– नेपाल अगाडि जाँदै छ । एक दशकअगाडि नेपालमा हिंसा थियो, आज शान्तिको नेपाल छ । एक दशकअगाडि नेपाल एकात्मक थियो, आज संघात्मक छ । एक दशकअगाडि देश संविधानविहीन थियो, अहिले संविधान छ । एक दशकअगाडि जनसंख्याको अनुपातको प्रतिनिधित्व नभएको नेपाल थियो, आज प्रतिनिधित्व भएको नेपाल छ । त्यो प्रतिनिधित्व गर्दै गर्दा कति बेस्ट भयौँ, समावेशितालाई कति उपयोग ग¥यौँ, त्यो गणितको विषयमा छलफल गर्न सकिन्छ । 

आर्थिक दृष्टिबाट पनि नकारात्मक चित्र मात्रै छैनन्, धेरै राम्रा चित्र पनि छन् । ०६२÷०६३ सालमा जीडीपी २६ खर्ब थियो, आज ५३ खर्ब पुग्यो । त्यसबेला प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ अमेरिकी डलर थियो । त्यो भनेको ९५ हजार हाराहारी हो । आज एक लाख ८२ हजारको रेसियोमा प्रतिव्यक्ति आय छ । खानेपानीको सन्दर्भमा ०४६ सालअगाडि ३० प्रतिशत मानिसको घरमा पुगेको थियो, ०६२÷०६३ मा ८३ प्रतिशतमा पुगेको थियो । अहिले ९७ प्रतिशतमा खानेपानी पुग्यो । बिजुली पुगेको घर २०४६ अगाडि केवल नौ प्रतिशत थियो, आज ९५ प्रतिशत पुगेको छ । बिजुलीको उत्पादन पञ्चायतकालमा २२७ मेगावाट थियो, आज नेपालमा दुई हजार ६६६ मेगावाट पुग्यो । आज नेपालले १० हजार मेगावाट बिजुली भारतलाई दिन सक्छौँ भनेर प्रधानमन्त्रीले गर्वका साथ भारतका प्रधानमन्त्रीलाई भन्ने अवस्थामा आएको छ । १० वर्षअगाडि निर्यात ७० अर्ब थियो । आज दोब्बर भएर १ अर्ब ५७ अर्ब निर्यात भयो । यसरी सकारात्मक सूचक राख्दा सबै सकारात्मक देखिन्छ । नकारात्मक सूचक पनि छन् । आयात दोब्बर भएको छ । सात खर्ब ८१ अर्ब आयातबाट अहिले १६ खर्बभन्दा बढी पुगेको छ । हामीले सोमालिया र भुटानसँग पनि व्यापारको घाटामा छौँ । अब आन्तरिक र बाह्य ऋण बढेको छ । प्रत्येक व्यक्तिको टाउकोमा अहिले ७६ हजार १७७ रुपैयाँ हो ।

हामी केही सकारात्मक सूचकका साथ सम्भावनाको ठाउँमा पनि छौँ र केही नकारात्मक सूचकका साथ खस्कने अवस्थामा पनि छौँ । कुनै पनि देश बन्नका लागि निकै धेरै मेहनत र संयोजनको जरुरी छ । मान्छेले उठ्नका लागि मेहनत गर्नुपर्छ, खस्कनका लागि खासै मेहनत पर्दैन । त्यसकारण नेपाल चुनौतीको ठाउँमा छ, तर संकटमा छैन । कतिपयले देश संकटमा छ भनेका छन्, तर संकट र समस्याको व्याख्या राजनीतिज्ञले बुझेन भने समस्या हुन्छ । संकट हिंसात्मक विद्रोह हुँदा थियो । संकट पहिलो संविधानसभा विघटनपछि थियो । अहिले कुनै संकट छैन, तर समस्या छन् । 

बितेका दशकमा हामी सबैभन्दा बढी अस्थिरताको सिकार भयौँ । हामीले थुप्रै प्रधानमन्त्री बनायौँ । बितेको ७० वर्षमा कोही एकजना पनि प्रधानमन्त्रीले पाँच वर्ष निरन्तर काम गर्न पाउनुभएन । पञ्चायतको सबैभन्दा बलियो प्रधानमन्त्री सूर्यबहादुर थापा, ०४६ पछिको बलियो प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला ५–५ पटक प्रधानमन्त्री बन्नुभयो, तर एकैपटक पाँच वर्ष चलाउन सक्नुभएन । गणतन्त्रपछि माओवादी अध्यक्ष प्रचण्डले पनि पाँच वर्ष चलाउन सक्नुभएन । कम्युनिस्ट एकतापछि बनेको केपी ओली नेतृत्वको सरकार पनि पाँच वर्ष टिक्न सकेन । त्यसबेला नवीन आशा थियो । त्यसैले अहिलेको चुनौती भनेको स्थिरताको खोजी हो । कुनै देशले राजनीतिक स्थिरता तत्काल कायम गर्न सक्दैन भने आर्थिक र नीतिगत स्थिरताको बाटोचाहिँ खोज्नुपर्छ । सरकार बदलिन दिनुस् । पाँच वर्षमा पाँचवटा सरकार बनाउनुस्, तर नीतिगत स्थिरता दिनुपर्छ । अबको १० वर्षमा के गर्ने भन्ने नीतिगत स्थिरता कायम गर्नुपर्छ । 

अहिले तपाईंहरू सुन्दै हुनुहुन्छ, अबको सदनले प्रि–बजेटरी छलफल गर्छ । जेठको १५ गते आउने बजेटका लागि वैशाखमा आएर पेस गर्ने, हामी सांसदले उभिएर अर्थमन्त्रीले ल्याएको कुरालाई पास गर्ने, राष्ट्रपतिबाट जे आउँछ त्यसलाई पास गर्ने ? बजेट जे आउँछ त्यो पास गर्ने भन्ने अब त्यो हुँदैन । पहिले छलफल हुनुपर्छ । सांसदहरूको हस्तक्षेप र विचार गाँसिनुप¥यो । अब परिमार्जनको दिशातिर लाग्नुपर्छ । त्यसकारण नीतिगत स्थिरताको जरुरी छ । 

हामी आफू कुन पार्टीको भन्ने छाडिदिनुस् न, भारत र चीनलाई हेर्ने दृष्टिकोण समान हुनुपर्दैन ? बीपी कोइरालाले बेइजिङ र दिल्लीभन्दा माथि रहेर इजरायललाई मान्यता दिनुभयो । आज त्यो उचाइको नेता नहुनु होला, तर नेपाल छैन र ? गणेशमान सिंह, पुष्पलाल, मनमोहनहरू हुनुहुन्न होला तर नेपाल छैन र ? उहाँहरूबाटै दीक्षित हाम्रा पार्टी र हामी राजनीतिज्ञहरू छैनौँ र ? अब नेपाललाई अगाडि बढाउनैपर्छ । आगामी चुनावबाट कुनै पार्टीले बहुमत ल्याउन नसके पनि नेपाललाई समृद्ध बनाउनका लागि १० वर्षमा के गर्ने भन्ने समान धारणा बनाउनुपर्छ । 

मैले संसद्मा बोल्दै गर्दा भनेको छु– दक्षिणको राष्ट्रसँग हामीसँग सम्बन्ध राम्रै छ, तर कुनै दिन इजरायल र प्यालेस्टाइनको जस्तो अवस्था आयो भने हामीसँग खाने तरकारी र चामल छ कि छैन ? यस्तो विषयमा दलहरू एकताबद्ध हुनुपर्दैन ? त्यसकारण कृषि उत्पादनको नीति चाहियो । विश्वविद्यालयको अनुहार बदल्नुपर्छ । विश्वविद्यालयमा कांग्रेस, एमाले र माओवादीको भीसी, यो पनि एउटा मोडल भयो । अब यो मोडल छान्ने कि अर्को छान्ने ? आजका लागि दलहरूले सोच्नुपर्ने विषय होइन ? कुनै दलगत अनुहारको व्यक्ति आएर त्रिभुवन विश्वविद्यालयको अनुहार बदलियो त ? कसैको आस्थामाथि प्रश्न होइन । तर अब विधिमा मुलुक जानुपर्छ । बल्ल कुरा बुझ्ने अवस्थामा आइपुगिएको छ । संसद्को हस्तक्षेप पनि सुरु भएको छ । विश्वविद्यालयको भीसी नियुक्तिको विषय र प्रक्रियामा पनि नयाँ बहस सुरु भएको छ । 

तपाईं हामी स्कुल पढ्दै गर्दा घन्टी बजाउने दाइको मृत्यु भइसक्यो, तर स्कुलमा दरबन्दी छैन । अवकाश भएर जाँदा एकजना शिक्षक खादा माला र पेन्सनपट्टा लिएर जानुहुन्छ, तर घन्टी बजाउने दाइहरूसँग केही पनि हातमा हुँदैन । उहाँहरूको मुहारमा मुस्कुराहट ल्याउन नसक्ने देश कसरी समुन्नत बन्न सक्छ ? विराटनगरको बजारमा रिक्सा कुदाइरहेका दाइले दिनभरि कसैको गाली सहलान्, चना र चिउरा खाएर रिक्सा कुदाउलान्, तर साँझ उनी तरकारी, चामल र ढुंग्री, कुकिज किनेर रिक्सा कुदाएर झुपडपट्टी एरियामा पुग्छन्, उनकी सानी छोरी बाबा भन्दै उनको अँगालोमा आउँछिन्, यतिबेला ती छोरीका लागि संसारकै शक्तिशाली व्यक्ति रिक्सावाला बुवा होइनन् र ? हामीले उनको जीवनको कुराको सन्दर्भमा सोच्यौँ भने यो राजनीतिक प्रणालीले काम गरेर जान्छ, अन्यथा प्रणालीले काम गर्दैन । शिक्षा नीति, कृषि उत्पादन, परराष्ट्र नीति, सामाजिक विसंगतिको कुरा साझा विषय हुन् । नेपाल बनाउनका लागि दलगत आस्था नै चाहिँदैन ।

दलगत हिसाबले भन्ने हो भने कांग्रेस, एमाले, माओवादी सरकारमा बराबर गएका छन् । नयाँ दल पनि सरकारमा १५ दिनपछि पुगेकै छन् । हामी रूपान्तरण हुन जरुरी छ । मेरो एउटा नीति छ– १, २, ३, ४ (वान टु फोर) । त्यो भनेको राष्ट्रपतिको शपथ एकजनाले एकपटक, प्रधानमन्त्रीको शपथ एकजनाले दुईपटक, मन्त्रीको शपथ एकजनाले तीनपटक र सांसदको शपथ एक जनाले चारपटकसम्म लिने व्यवस्था हुनुपर्छ  । पाँचपटक होइन । त्यसो ग¥यो भने कोही पनि मानिसलाई तपाईं छाड्नुस् भन्नुपर्दैन । त्यो नीतिलाई कार्यान्वयन गर्दा विश्वप्रकाश र गुरु घिमिरेले त्यसलाई पालना गर्छन् । शेरबहादुरजी, केपी कमरेड र प्रचण्ड कमरेडले भन्नुप¥यो— दुई–दुईपटक नाघिसक्यो, अब प्रधानमन्त्रीको शपथग्रहण गर्दैनौँ भनेर । देशको समुन्नतिका लागि यो दुःखद होइन, सुखद नै हुन्छ । उहाँहरू पनि उदाहरणीय बन्नुहुन्छ । अमेरिकामा ५६ वर्षको उमेरमा बाराक ओबामाले घरमा गएर बर्थ–डे मनाए । उनलाई राष्ट्रपति बनिरहन मन थियो होला, तर विधिले चलेको देशमा असम्भव भयो । हाम्रो देश पनि विधिले चल्नुपर्छ । राजनीतिक रूपान्तरणको विषय पनि विधि पालनाबाटै सम्भव छ । समुन्नति पनि विधि पालना गरेर मात्रै आउँछ । 

(विराटनगरमा बुधबार एलिट क्लबद्वारा आयोजित ‘राजनीति र समुन्नति, चुनौती र बाटो’ विषयक अन्तर्किया कार्यक्रममा कांग्रेस महामन्त्री शर्माले व्यक्त गरेको विचारको सम्पादित अंश ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्मा
लेखकबाट थप