बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कर्णालीको निजामती नियमावली

कर्णालीका कर्मचारीलाई १० प्रकारका बिदा

विवाह र पर्यटन बिदा ७/७ दिन
शनिबार, १३ माघ २०८०, १२ : ३८
शनिबार, १३ माघ २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको निजामती सेवा नियमावली गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरी प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ । प्रदेश सरकारले यसलाई ठुलो उपलब्धि मानेको छ ।

संविधानको धारा २८५ को उपधारा (३) मा प्रदेश मन्त्रिपरिषद्ले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाहरुको गठन र सञ्चालन गर्न सक्ने व्यवस्था छ । सोही अनुसार प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामुलक र उत्तरदायी बनाउन कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेकाले उक्त नियमावली बनाइएको सरकारको धारणा छ । राजपत्रमा प्रकाशित भएसँगै यो नियमावली कार्यान्वयनमा गएको छ ।

नियमावलीमा कर्मचारीलाई १० प्रकारका बिदाको सुविधा दिइएको छ । जसमा भइपरी आउने बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, विवाह बिदा, पर्यटन बिदा, असाधारण बिदा र बेतलवी बिदा छन् ।

कर्णालीका कर्मचारीलाई विवाह गर्न ७ दिन बिदाको व्यवस्था नियमावलीमा गरिएको छ । यस्तै पर्यटन बिदा पनि ७ दिन पाउने व्यवस्था गरिएको छ ।

हाजिरी र बिदाको व्यवस्थासहित नियमावलीको परिच्छेद–१४ मा भनिएको छ, ‘कुनै पनि कर्मचारीको विवाह हुने भए त्यस्तो कर्मचारीले सात दिन बिदा पाउने र विवाह बस्दाको पूरा तलब पाउने छ ।’ तर, विवाह बिदा लिने कर्मचारीले कार्यालयमा हाजिर भएको १५ दिनभित्र विवाह दर्ताको प्रमाणपत्र भने पेस गर्नुपर्ने छ । विवाह दर्ताको प्रमाणपत्र पेस नगर्ने कर्मचारीले त्यो बिदाको अवधि उसले पाउने अन्य बिदाबाट कट्टा गरिने नियमावलीमा उल्लेख छ ।

प्रदेशको कुनै पनि कर्मचारीले देशका विभिन्न भू–भागको भ्रमण गर्न ७ दिन बिदा पाउने भएको छ । तर, पर्यटन बिदा स्वीकृत गर्ने अधिकारीले पर्यटकीय स्थलको भौगोलिक अवस्थितिको आधारमा अवधि तोकी भ्रमण आदेश स्वीकृत गर्नुपर्ने छ । पर्यटन बिदा लिएको कर्मचारीले पनि १५ दिनभित्र भ्रमणको विस्तृत विवरण र भ्रमणका क्रममा लिइएको तस्बिर तथा भिडिओ समावेश गरेको प्रतिवेदन पेस गर्नुपर्ने छ ।

कर्मचारीलाई भ्रमण खर्चको पनि व्यवस्था गरिएको छ । अध्ययन बिदामा निजामती कर्मचारीले सेवा अवधिभर एकै पटक वा पटकपटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था छ । त्यसमा पनि आवश्यक ठानेमा दुई वर्ष थप गर्न सकिने उल्लेख छ । यस्तै किरिया बिदा १५ दिन, प्रसूति स्याहार बिदा १५ दिन पाउने उल्लेख छ । ‘कुनै पनि पुरुष निजामती कर्मचारीले पत्नी सुत्केरी भएमा सुत्केरीको अघि वा पछि गरी १५ दिन बिदा लिन पाउने नियमावलीमा उल्लेख छ । तर, बिदा लिएको कर्मचारीले तीस दिनभित्र बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पत्नी प्रसूति भएको प्रमाण कार्यालयमा पेस गर्नुपर्ने छ ।  

महिला कर्मचारीले भने प्रसूति बिदा ९८ दिन पाउनेछन् । यस्तै बिरामी बिदा १२ दिन पाउने छन् भने घर बिदा १२ दिन पाउने उल्लेख छ ।

  • तोकिएको स्थानमा काम गर्नुपर्ने, शिष्ट हुनुपर्ने

नियमावलीको परिच्छेद–१२ मा आचरण सम्बन्धी व्यवस्था गरिएको छ । उक्त नियममा कर्मचारीले खटाइएको कार्यालय वा स्थानमा काम गर्नुपर्ने उल्लेख छ । कार्यालयको समयमा कार्यालय बाहेक अन्य व्यक्तिगत काम गर्न नपाइने नियमावलीमा उल्लेख छ । कार्यालय समयमा सामाजिक सञ्जालको समेत प्रयोग गर्न नपाइने व्यवस्था नियमावलीमा छ ।

साथै कर्मचारीले कार्यालयमा सबैप्रति शिष्ट व्यवहार गर्नुपर्ने र त्यसो नगरेमा बढुवा रोक्कादेखि तलबवृद्धि रोक्कासम्मका सजायको व्यवस्था नियमावलीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप