बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मैयादेवी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट : बागमतीले सजिलै हरायो लुम्बिनी प्रदेशलाई

सोमबार, १५ माघ २०८०, १७ : ०६
सोमबार, १५ माघ २०८०

काठमाडौँ । चितवनको भरतपुरमा जारी मैयादेबी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ८७ रनले हराएको छ । टस जित पहिले ब्याटिङ रोजेको बागमती प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ३१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने १७.५ ओभरमा अलआउट हुनुअघि ४४ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको बागमती प्रदेशका लागि बिपिसा शाहीले ४० रनको योगदान गरिन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी बिपिसाले केवल ३५ बलको सामना गरी सात चौका पनि हिर्काइन् । एली यादवले पनि २१ रन बनाइन् । उनले ३० बलमा दुई चौका प्रहार गरिन् ।

ओपनर एलिसा खड्काले १७ रन जोडिन् । उनले २४ बलमा दुई चौका प्रहार गरिन् । ओपनर सविका यादव एक रनमै पेभेलियन फर्किइन् । कप्तान सोनी पाख्रिनले आठ रन जोडिन् । मनिष उपाध्याय पाँच रनमा अविजित रहिन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि ३९ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर सुष्मिता भसाल, रितिषा मानन्धर, दिपा कुँवर र सरु तिवारीले एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेशका कुनै पनि ब्याट्र लामो समय क्रिजमा टिक्न सकेनन् ।

ओपनर आसमा पुलामी मगरले सर्वाधिक २७ रन बनाइन् । कप्तानसमेत रहेकी उनले ५५ बलमा दुई चौका पनि प्रहार गरिन् । लुम्बिनीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा १४ रन पाएको थियो ।

बागमती प्रदेशका बलर बिपिसा शाही, मनिष उपाध्याय र सोनी पाख्रिनले तीन–तीन विकेट लिए । पूजा साउदले पनि एक विकेट हात पारिन् । सोनी पाख्रिनले एकै ओभरमा तीन विकेट लिएकी हुन् । उनले १७.२ ओभरमा कविता खड्कालाई, १७.४ ओभरमा दिपा कुँवरलाई र १७.५ ओभरमा रितिसा मानन्धरलाई पेभेलियन फर्काएकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप