बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

मैयादेवी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट : गण्डकीले लुम्बिनीलाई सात विकेटले हरायो

बुधबार, १७ माघ २०८०, १३ : ०९
बुधबार, १७ माघ २०८०

काठमाडौँ । चितवनको भरतपुरमा जारी मैयादेवी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई सात विकेटले हराएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ८२ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले १४.१ ओभरमा तीन विकेट गुमाएर ८५ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।

गण्डकीको जितमा ज्योत्सनिका मरासिनीले अविजित ३६ रनको योगदान गरिन् । चौथो नम्बरमा क्रिज समाल्न आएकी ज्योत्सनिकाले ३६ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काइन् । सिमाना केसीले पनि टोलीका लागि १९ रनको योगदान गरिन् । तेस्रो नम्बरकी ब्याट्र सिमानाले ३९ बलको सामना गरी एक चौका हिर्काइन् । कप्तान कुशुम गोदार सात रनमा अविजित रहिन् ।

गण्डकी प्रदेशले अतिरिक्त रुपमा २२ रन पायो । लुम्बिनीका बलर सुस्मिता भुषाल, सरु तिवारी र दिपा कुँवरले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि ओपनर आसमा पुलामी मगरले अविजित ४२ रन बनाएकी थिइन् ।

कप्तानसमेत रहेकी आसमाले ४५ बलको सामना गरी चार चौका पनि हिर्काएकी थिइन् । लुम्बिनीका अन्य ब्याट्रले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीले अतिरिक्त रुपमा २३ रन पायो । गण्डकीका बलर कुशुम गोदारले दुई र सिमाना केसीले एक विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप