शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले सुर्खेत विवाद : अध्यक्ष भर्सेस पदाधिकारी

अधिवेशन अन्योल, अध्यक्षको निर्णयलाई चुनौती
बिहीबार, १८ माघ २०८०, २२ : २२
बिहीबार, १८ माघ २०८०

सुर्खेत । नेकपा एमालेका सुर्खेत जिल्ला अध्यक्ष अमृतबहादुर बिसीले बुधवार पत्रकार सम्मेलन गर्दै एक्कासि जिल्ला अधिवेशन स्थगित भएको जानकारी गराएपछि पार्टीमा हलचल मच्चिएको छ । 

बिसीले एक्लै पत्रकार सम्मेलन गरी आफूमाथि अपमान भएको, गुटबन्दी मौलाएको लगायतका आरोप लगाउँदै अधिवेशन स्थगित भएको बताएका थिए । गत पुस २१ र २२ गते उनै बिसीको अध्यक्षतामा बसेको बैठकले फाल्गुन ४, ५ र ६ गते नवौँ जिल्ला अधिवेशन तोकेको थियो । तर, अध्यक्ष बिसीले एक्कासि अधिवेशन स्थगित भएको विज्ञप्तिसमेत जारी गरेपछि एमाले सुर्खेतभित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । 

विवादको प्रमुख कारक अध्यक्ष बिसीले अहिले गुट परिवर्तन गरेका छन् भने उनी दोहोरिन चाहन्छन् । आठौँ अधिवेशन हुँदा यामलाल कँडेलको गुटबाट उनी अध्यक्ष बनेका थिए । 

विसीकाे पत्र

सुर्खेतमा यामलाल कँडेल र नवराज रावतबिच आन्तरिक प्रतिस्पर्धा हुने गरेको छ । एमालेको कर्णाली प्रदेशको प्रथम अधिवेशनपछि भने बिसी रावत खेमामा उभिएका छन् । तर, कँडेल नवौँ अधिवेशनपछि बिसीलाई पुनः अध्यक्ष बनाउन चाहन्नन् । कँडेलको खेमाबाट अहिले उपाध्यक्ष रहेका कुलमणि देवकोटालाई अघि सारिएको छ । 

अध्यक्ष बिसीले आठौँ जिल्ला अधिवेशनबाट आजका मितिसम्म आइपुग्दा जसरी पार्टी साझा तरिकाले चल्नु पर्ने हो त्यसरी चल्न नसकेको बताएका छन् भने अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भइरहेको आरोप लगाएका छन् । उनले भनेका व्यक्ति अरू कोही नभई स्थायी कमिटी सदस्य यामलाल कँडेल नै हुन् । 

जिल्लामा कँडेलको दबदबा हुने गरेको छ । अहिले पनि अध्यक्ष बिसी बाहेक अन्य सम्पूर्ण पदाधिकारीहरू कँडेल पक्षधर छन् । 

एमाले सुर्खेतका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिना बिसीकै अध्यक्षतामा बसेको बैठकले अधिवेशन तोकेको तर, एक्कासि अरू कसैलाई पनि जानकारी नगराई अधिवेशन स्थगित गरेको विषयले नेताहरू आश्चर्यमा परेको बताउँछन् ।

‘त्यो उहाँको एकल, व्यक्तिगत निर्णय हो अधिवेशन तोकिएकै मितिमा हुन्छ,’ उनी भन्छन् । कँडेल पक्षधरका नेताहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै अधिवेशन तोकिएकै मितिमा हुने जानकारी गराएका छन् । बिहीबार उपाध्यक्ष कुलमणि देवकोटाको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष बिसीले आफ्नै अध्यक्षतामा बसेको बैठकको सर्वसम्मत निर्णय विरुद्ध आफैले प्रेस विज्ञप्ति जारी गर्ने काम नितान्त व्यक्तिगत भएको ठहर गरेको छ ।

इत्तर पक्षकाे पत्र

सचिव कविन्द्रकुमार केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ,‘तोकिएकै मितिमा नै जिल्ला अधिवेशन आयोजना गर्ने जानकारी मातहत कमिटी, माथिल्लो कमिटी र सरोकारवाला सबैमा जानकारी गराउने निर्णय भएको हुँदा अधिवेशनको सन्दर्भमा भ्रममा नरहन सम्बन्धित सबैमा जानकारी गराउँदछौँ ।’

अध्यक्ष बिसी भने आफ्नो उपस्थिति बिना अधिवेशन हुने कुरा सम्भव नरहेको बताउँछन् । नवीकरणको समय हुँदाहुँदै दूर दराजका पार्टी सदस्यहरू नवीकरणबाट वञ्चित भएको बताउँदै थुप्रै कामहरू बाँकी रहेको उनको भनाइ छ । साथै बिसीले आफूलाई पार्टी केन्द्रको साथ मिल्ने आशा पनि व्यक्त गरे । ‘उहाँहरूले जे गरे पनि अध्यक्षबिना त पार्टी केन्द्रले मान्दैन नि,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप