सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

२०औँ वार्षिकोत्सव मनाउँदै नेपाल टेलिकम : तथ्याङ्कमा यस्तो छ कम्पनी

सोमबार, २२ माघ २०८०, १० : ४९
सोमबार, २२ माघ २०८०

काठमाडौँ । आजदेखि नेपाल टेलिकम २१औँ वर्षमा लागेको छ । सन् २००४ देखि कम्पनीमा परिणत भएको टेलिकम आज २०औँ वार्षिकोत्सव मनाउँदै छ । नेपाल टेलिकम सुरुमा नेपाल दूरसञ्चार संस्थानकारुपमा रहेपनि कम्पनीमा परिणत भएपछि २१औँ वर्षमा लागेको हो ।

कम्पनीकारुपमा सेवा दिन थालेको दुई दशक पुग्दा कम्पनीको भ्वाइस सेवातर्फ ग्राहकको सङ्ख्या २०८० मङ्सिर मसान्तसम्ममा २ करोड १२ लाख ४२ हजार ५०० छ । यस्तै, इन्टरनेट डाटातर्फ सोही अवधिमा २ करोड १५ लाख ४४ हजार ३०० जनाभन्दा बढी ग्राहक रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा कूल आम्दानी ४४ अर्ब ४२ करोड रुपैयाँ थियो । यसमध्ये ७ अर्ब ९२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको टेलिकमले जनाएको छ । कूल आम्दानीमध्ये ३२ अर्ब ५८ करोड रुपैयाँभन्दा धेरै खर्च गरेको थियो । यस्तै, कर तिरेपछिको खुद नाफा भने ११ अर्ब ८४ करोड रुपैयाँ आसपास रहेको बताइएको छ ।

टेलिकमले आर्थिक वर्ष २०७८/७९ मा अग्रिम आयकर ४ अर्ब ६२ करोड रुपैयाँ बुझाएको थियो । यस्तै, मूल्य अभिवृद्धि करबापत ३ अर्ब ४६ करोड बुझाउँदा दूरसञ्चार सेवा शुल्कबापत ३ अर्ब ४८ करोड रुपैयाँ बुझाएको थियो ।

यसबाहेक, स्वामित्व शुल्कबापत राज्यकोषमा सोही आर्थिक वर्षमा ६९ करोड ८४ लाख रुपैयाँ बुझाउँदा भन्सार शुल्कबापत २८ करोड ९९ लाख बुझाएको कम्पनीले जनाएको छ । यसबाहेक, रोयल्टीबापत २ अर्ब २४ करोड रुपैयाँ र फ्रिक्वेन्सी दस्तुरबापत राज्यकोषमा १ अर्ब ६२ करोड रुपैयाँ राज्यकोषमा जम्मा गरेको थियो ।

कम्पनीकारुपमा परिणत भएको २० वर्ष पुग्नुअघि सन् १९१६ मा दूरसञ्चार संस्थाकारुपमा काठमाडौँ उपत्यकामा पहिलो टेलिफोन लाइनको स्थापना गरेको थियो । यस्तै, सन् १९१७ मा काठमाडौँदेखि भारतको रक्सौलसम्म ओपनवायर ट्रंक लाइन स्थापना गरेको थियो ।

यसपछि, कम्पनीले तत्कालीन संस्थानकारुपमा सन् १९५५ मा सर्वसाधारण नेपालीलाई टेलिफोन सेवा वितरण गरेको थियो । यस्तै, पछिल्लो समय सन् २०२३ मा कम्पनीले नेपालमा फाइभजी इन्टरनेटको परीक्षण सुरु गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप