शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एकजना फूल मन्त्री दलित समुदायको नहुनुले लोकतान्त्रिक अभ्यासलाई छर्लङ्ग पार्छ : प्रमुख सचेतक परियार

मङ्गलबार, २३ माघ २०८०, १६ : ५१
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपालमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रमुख सचेतक परियारले देशमा हालसम्म लोकतान्त्रिक अभ्यास हुन नसकेको बताएका हुन् । 

उनले संसद्मा दलित समुदायका सांसदहरूको प्रतिनिधित्व भए पनि मन्त्रिपरिषद्मा एकजना पनि फूल मन्त्री दलित समुदायको नहुनुले देशको लोकतान्त्रिक अभ्यासलाई छर्लङ्ग पार्ने बताए । उनले अझै पनि महिला तथा दलितहरूको सहभागिताको सवालमा राज्य लोकतान्त्रिक हुन नसकेको बताए । उनले देशमा संघीयता पनि अभ्यासमा आउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले गणतन्त्र पनि राजतन्त्र भन्दा धेरै फरक नदेखिएको बताए ।

उनले भने – ‘हाम्रो अभ्यासमा संघीयता छैन । हाम्रो राजनीतिको अभ्यासमा संघीयता छैन । संविधानमा संघीय शासन प्रणालीको परिकल्पना ग¥यौँ तर त्यो हाम्रो जीवनमा अवलम्बन गर्न सकेका छैनौँ । लोकतान्त्रिक अभ्यासको कुरा गर्ने हो भने आज सदनमा सबै राजनीतिक पार्टीबाट दलित समुदायको प्रतिनिधित्व छ । तर मन्त्रिपरिषद्मा एकजना दलित फुल मन्त्री हुँदैन । यो हुँदा खेरी हामी लोकतान्त्रिक छौँ भन्नु भनेको आफैँले आफैँलाई ढाँट्नु हुन्छ । त्यस अर्थ हामी लोकतान्त्रिक पनि छैनौँ । गणतन्त्र काम गराइको हिसाबमा हेर्दा खेरी हामी भन्नलाई चाहिँ गणतन्त्र भन्यौँ तर परम्परा र अभ्यासले पनि ज–जसले गणतन्त्र भनिरहेका छन्, त्यो राजतन्त्रभन्दा धेरै पर छ जस्तो मलाई लाग्दैन । जुन किसिमको सम्मान त्यसले खोज्छ, जुन किसिमको शक्ति त्यसले खोज्छ, अभ्यास गरिरहेको छ त्यो त्यति पर छैन ।’ 

उनले राजनीतिक दलहरूका कारण संसद्को सार्वभौमिकता नरहेको पनि बताए । उनले संसद्को बैठक अझै पनि परम्परागत शैलीमा गर्ने गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप