उपत्यका लगायत विभिन्न ठाउँमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो पटक काठमाडौँ, ललितपुर, तनहुँ, लमजुङ, कास्की लगायतका क्षेत्रमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि भएको छ । पशु स्वास्थ्य सेवा विभागका अनुसार ‘अफ्रिकन स्वाइन फिभर’ रोग रोग बङ्गुर, सुँगुर र बँदेल लगायतका जनावरमा भाइरसबाट लाग्ने महामारी रोग हो । यो रोग हाल ५ जिल्लामा एकै पटक पुष्टि भएको छ ।
नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ गते पुष्टि भए पश्चात् दुई वर्षको अवधिमा देशका २८ जिल्लाका विभिन्न स्थानमा संक्रमण देखा परिसकेको छ । जैविक सुरक्षाको विधि अवलम्बन, सीमा तथा आन्तरिक क्वारेन्टाइनबाट ओसारपसारमा निगरानी, सर्भिलेन्स, सचेतना कार्यक्रम सञ्चालन गरी यसअघि रोग नियन्त्रण गरिएको थियो । रोगको सर्भिलेन्सको निरन्तरताकै क्रममा हाल तनहुँ, लमजुङ, कास्की, काठमाडौँ र ललितपुर जिल्लामा यो रोग पुष्टि भएको हो ।
रोग अन्वेषणका लागि पशु सेवा विभागबाट प्रदेश सरकार र स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायको सहकार्यमा रोग प्रभावित क्षेत्रमा स्थलगत अध्ययन र थप सर्भिलेन्सको कार्य सञ्चालन भइरहेको विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले बताए ।
अफ्रिकन स्वाइन फिभर रोगको लक्षण
अफ्रिकन स्वाइन फिभर रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने (१०४ देखि १०७ डिग्री फरेनहाइट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छट्पटाउने, लड्खडाउने, तुहिने जस्ता लक्षण सहित सुँगुर, बङ्गुर तथा बँदेल मर्ने गर्दछन् । यो रोग विशेष गरी रोगी बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीहरूको लसपस वा ओसार–पसारबाट फैलने डा. ढकालले बताए ।
अफ्रिकन स्वाइन फिभर रोगको उपचार छ ?
अफ्रिकन स्वाइन फिभर रोगको हालसम्म कुनै प्रभावकारी उपचार नभएको डा. ढकालले बताए । विश्व पशु स्वास्थ्य संगठनले यो रोग नियन्त्रण गर्न सङ्क्रमित क्षेत्रबाट ओसारपसार नियन्त्रण सहित जैविक सुरक्षामा विशेष ध्यान पुयाउन सिफारिस गरेको छ ।
मुलुकमा यो रोगको सङ्क्रमण देखा परेको सन्दर्भमा देशको कुनै पनि स्थानमा ठुलो संख्यामा बङ्गुर मरेमा वा यो रोगसँग मिल्दोजुल्दो लक्षण देखा परेमा तत्काल संघ, प्रदेश र स्थानीय तहमा रहेका पशु सेवासँग सम्बन्धित निकायमा जानकारी गराउन उनको आग्रह छ ।
रोग लाग्नबाट जोगाउन के गर्ने ?
अफ्रिकन स्वाइन फिभर रोगको हालसम्म कुनै प्रभावकारी उपचार उपलब्ध नभएकाले पशुमा रोग लाग्न नदिनु नै उत्तम उपाय रहको डा. ढकालले बताए । फार्ममा जैविक सुरक्षाका विधिहरूको अवलम्बन गर्ने, बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ्ग पाउडर, फर्मालिन लगायतका निःसङ्क्रमणका औषधिहरू प्रयोग गरी निःसङ्क्रमण गर्न पनि उनले सुझाएका छन् ।
यस्तै, रोगको शंका लागेका पशुहरूलाई बथानबाट छुट्याएर अलग्गै राख्ने, मरेको पशुलाई राम्रोसँग खाडलमा गाड्ने वा जलाउने, घरपालुवा सुँगुर, बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने लगायत उपाय अपनाउन आग्रह गरिएको छ ।
रोग देखा परेको क्षेत्रबाट सुँगुर प्रजाति वा पाठापाठी, सङ्क्रमित मासु र दानाको ओसारपसार नगर्ने वा नगराउन विभागले आग्रह गरेको छ । अनिवार्य रूपमा स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुर, बङ्गुर वा मासुको ओसारपसार गर्न तथा गराउन विभागले सूचित गरेको छ ।
सुँगुर, बङ्गुर तथा बँदेललाई होटेल रेष्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउने र तयारी दाना बाहेक अन्य आहारा खुवाउनु परेमा राम्ररी पकाएरमात्र खुवाउन डा. ढकालले सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौसको शतक र दिनेशको अर्धशतकसँगै लुम्बिनी लायन्समाथि पोखरा एभेन्जर्सको कीर्तिमानी जित
-
नेपाल प्रिमियर लिगको पहिलो शतक आन्द्रेस गौसको नाममा
-
आन्द्रेस गौसपछि पोखरा एभेन्जर्सका लागि दिनेश खरेलले पनि बनाए अर्धशतक
-
विशाल बजार एक्लैले २९ अंक बढाइदिँदा पनि घट्यो साताको सेयर बजार
-
बीआरआईमा ऋण नलिने गरी सम्झौता गरिएको छ : सभापति देउवा
-
भारतविरुद्धको टेस्ट क्रिकेटमा अस्ट्रेलियाका खेलाडी किन कालो पट्टी बाँधेर खेल्दैछन् ?