बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
ठगी

कनेक्ट आईपीएस ह्याक गरेर १० लाख चोरी

सानिमा र एनआईसी एसिया बैंकले लापरबाही गरेको पीडितको आरोप
आइतबार, २८ माघ २०८०, १३ : ०८
आइतबार, २८ माघ २०८०

काठमाडौँ । कनेक्ट आईपीएस ह्याक गरेर एक व्यक्तिको खाताबाट १० लाख १० हजार रुपैयाँ चोरी भएको छ । सुनसरीका शिवनन्दन मेहताको कनेक्ट आईपीएस ह्याक गरी गिरोहले १० लाख १० हजार रुपैयाँ ठगी गरेको हो । 

आफूले सानिमा बैंकमा खोलेको खाताबाट गिरोहले कनेक्ट आईपीएस प्रयोग गरी एकैपटक ९ लाख रुपैयाँ ट्रान्सफर गरेको र आफ्नो आमाको नाममा रहेको बैंक खाताबाट समेत पटकपटक गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेको पीडित मेहताको भनाई छ । आफ्नो बैंक खाताबाट कुनै व्यक्तिले अनधिकृत रूपमा रकम निकालेको जानकारी आएलगत्तै ५ मिनेटभित्रै बैंकमा पुगेर खबर गरी अर्को बैंकमा पुगेको रकम रोक्न अनुरोध गरेको भएपनि आफ्नो खाता रहेको सानिमा बैंकले वास्ता नगरेको उनको आरोप छ । 

आफ्नो खाता रहेको सानिमा बैंकको लापरबाहीका कारण आफ्नो खाताबाट ९ लाख रुपैयाँ चोरी भएको भन्दै मेहताले सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकमा समेत उजुरी गरेका छन् । 

  • भएको के हो ?

गत माघ ९ गते बिहान १०ः१५ बजे इनरुवा सुनसरीका शिव नन्दन मेहताको मोबाइल नम्बर ९८५११३७xxx मा कनेक्ट आईपीएसको एउटा म्यासेज आयो । कनेक्ट आईपीएसको प्रयोग गरी अर्को कुनै व्यक्तिको खातामा रकम ट्रान्सफर गर्न लागिएको म्यासेज आएको केही समयमा रकम काटिएको म्यासेज पनि आयो । 

सानिमा बैंक, इनरुवा शाखामा खोलेको खाता नम्बर ०१००१११७xxx१३२७ बाट उक्त रकम ट्रान्सफर भएको थियो । तर अचम्मको कुरा, न त्यो कारोबार मेहताले गरेका थिए, कसैलाई रकम दिनुपर्ने नै थियो । 

बजारमै रहेका मेहता आफूलाई म्यासेज आएको ५ मिनेटभित्रै बैंकको शाखा कार्यालयमा पुगे । सानिमा बैंकको इनरुवा शाखामै उनी बिहान १०ः२० बजे नै पुगेर उक्त कारोबार आफूले नगरेको र कुन बैंक खातामा ट्रान्सफर भएको हो, तत्काल रोक्न गरिदिनका लागि आग्रह गरे ।

सानिमा बैंकले मेहताको खाताबाट कनेक्ट आईपीएसमार्फत् ट्रान्सफर गरिएको रकम एनआईसी एसिया बैंक, बुद्ध चोक शाखा, रुपन्देहीमा खोलिएको पारश्वर थापा क्षेत्रीको खातामा ट्रान्सफर गरिएको जानकारी गरायो । मेहताले एनआईसी एसिया बैंकलाई खबर गरी उक्त रकम तत्कालै रोक्का राखिदिन आग्रह गरे । तर सानिमा बैंकले आफूहरूले रोक्का राख्न नमिल्ने भन्दै खाता ट्रान्सफर गरिएको एनआईसी एसिया बैंकमै जान भन्दै आफ्नो खाताबाट रकम काटिएको भौचर मात्रै प्रिन्ट गरेर दियो ।

त्यसपछि मेहता तुरुन्तै एनआईसी एसिया बैंकको शाखा कार्यालयमा पुगेर ट्रान्सफर गरिएको बैंक खाता रोक्का राखिदिन आग्रह गरे । तर एनआइसी एसिया बैंकले पनि मेहताको कुरा सुनेन । खाता बन्द गर्न बैंकको चिठी चाहिने र तेस्रो व्यक्तिको खाता बन्द गर्न नसकिने बतायो । 

एनआईसी एसिया बैंकले खाता बन्द गर्न नमिल्ने बताएलगत्तै मेहताले कनेक्ट आईपीएसको कार्यालयमा फोन गरी उक्त रकम होल्ड गरिदिन आग्रह गरे । तर कनेक्ट आईपीएसले ‘तपाईंको रकम बिहान १०ः३० बजे नै चेकमार्फत भुक्तानी भइसकेको’ जानकारी दियो । 

रातोपाटीलाई प्राप्त सिसिटिभी फुटेजको एक दृश्यमा करिब ४० वर्षका एक व्यक्ति एनआईसी एसिया बैंकको काउन्टरमा प्रवेश गर्छन् । बैंककी टेलरलाई चेक दिन्छन् । त्यसपछि बैंकबाट ९ लाख रुपैयाँ दिइन्छ र ती व्यक्ति उक्त सबै रकम बोकेर बैंकबाट बाहिरिन्छन् । बैंक खाता खोल्दा पेश गरिएको फोटो र रकम झिक्ने व्यक्ति एउटै व्यक्ति जस्तो देखिन्छन् । यद्यपि बैंक खातामा प्रयोग गरिएको नाम र रकम झिक्ने व्यक्ति एकै हुन् कि होइनन् भन्ने खुलेको छैन । 

शिवनन्दको मात्रै होइन, उनकी आमा रुशनी देवी मेहताको बैंक खाताबाट समेत ठगले १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरेर चोरी गरेको पत्ता लागेको छ । माघ ९ गते नै ठगको समूहले रुशनी देवी मेहताको लुम्बिनी विकास बैंकको इनरुवा शाखामा खोलिएको ०१००१११७xxx१३२७ को खाताबाट समेत २२ पटक रकमान्तर गरी १ लाख १० हजार रुपैयाँ ट्रान्सफर गरिएको पाइएको छ । माघ ९ गते दिउँसो १३ः१५ बजेदेखि १३ः३६ बजेको समयमा सिद्धार्थ बैंक कुमारीपाटी, ललितपुर शाखामा रहेको अफसोर टेक प्रालिको खातामा प्रत्येक पटक ५ हजार रुपैयाँका दरले २२ पटक रकम ट्रान्सफर गरिएको हो ।

तर उक्त ट्रान्सफर पनि आफूले नगरेको कारण ती व्यक्तिहरूको खोजी गरी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, सुनसरी, सम्बन्धित बैंक र नेपाल राष्ट्र बैंकमा समेत जानकारी र उजुरी गराए पनि आफूहरूको समस्या सुनुवाइ नभएको पीडित शिव नन्दन मेहताले रातोपाटीलाई बताए । 

  • मेहता भन्छन्, बैंकको लापरबाहीले नै पैसा चोरियो

पीडित शिवनन्दन मेहताले रातोपाटीसँगको कुराकानीमा बैंकको लापरबाहीको कारण आफूहरूको रकम चोरी भएको आरोप लगाए । आफूलाई म्यासेज आएको ५ मिनेटमै बैंकमा पुगेको र रकम रोक्का राखिदिन आग्रह गर्दा सानिमा बैंक र एनआइसी बैंकले नजरअन्दाज गर्दा रकम चोरी भएको जिकिर गरे । 

मेहताले रातोपाटीसँग भने, ‘मेरो खाताबाट रकम ट्रान्सफर भएको ५ मिनेटमै म बैंकमा पुगेको छु । सानिमा बैंकमा पुगेको अर्को ५ मिनेटपछि नै म एनआइसी एसिया बैंकमा पनि पुगेर रकम रोक्का राखिदिन आग्रह गरेको छु । तर दुवै बैंकले वास्ता गरिदिएनन् । जतिबेला म सानिमा र एनआइसी एसिया बैंकमा पुगेको थिएँ, त्यतिबेलासम्म मेरो रकम ट्रान्सफर भएको खातामा नै थियो । तर एनआईसी एसिया बैंक र सानिमा बैंकको लापरबाहीले गर्दा भन्दाभन्दै मेरो पैसा कुनै व्यक्तिले झिकेर लग्यो । यो बैंकको गम्भीर लापरबाही हो ।’

  • रोक्काका लागि भन्दै गर्दा रकम झिकिसकिएको थियोः सानिमा बैंक

सानिमा बैंकका कोशी प्रदेश प्रमुख रहेका फणिन्द्र दाहालले भने बैंकले सक्दो प्रयास गरेपनि ढिलो भइसकेको कारण रोक्का राख्न नसकिएको बताए । ठगी गर्नेले ट्रान्सफर गरेको रकम रोक्का राखिदिन आग्रह गर्दागर्दै रकम झिकियो भन्ने पीडितको गुनासो छ नि भन्ने रातोपाटीको प्रश्नमा दाहालले त्यसमा सत्यता नभएको बताए । 

दाहालले भने, ‘जतिबेला पीडित हाम्रो बैंकमा आउनुभयो, त्यसलगत्तै हाम्रो अपरेसन म्यानेजरले एनआईसी एसिया बैंकमा फोन गरेर रकम रोक्का राखिदिन आग्रह गर्नुभएको रहेछ । तर त्यतिबेलासम्म ढिला भइसकेको थियो । रकम चोरी गर्नेले रकम निकालिसकेको भन्ने जवाफ आएपछि केही गर्न नसकिएको हो ।’

सानिमा बैंकका कोशी प्रदेश प्रमुख दाहालका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको र रकम ट्रान्सफर गर्ने व्यक्तिको खोजी भइरहेको उनले जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप