सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बैठकमा नगएकोबारे शुकबहादुरको प्रतिप्रश्न– अभियानमा नगएको मान्छे कुन नैतिकताले बैठकमा जानु ?

सोमबार, २९ माघ २०८०, १९ : ४४
सोमबार, २९ माघ २०८०

काठमाडौँ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति जारी बैठकमा आधुनिक माओवादी पार्टी बनाउने विषयमा बहस भएको छ । आइतबारदेखि जारी बैठकमा चार महिने रुपान्तरण विशेष अभियानको समीक्षात्मक रिपोर्टमाथि गम्भीर बहस भएकाे थियाे  ।

तर केन्द्रीय समितिलाई चुनौती दिँदै एक केन्द्रीय सदस्य बैठकमा गएनन् । रोल्पा निवासी शुकबहादुर पुन काठमाडौँ मै भए पनि बैठकमा नगएका हुन् ।

पार्टी बनाउने विशेष अभियानमा पदाधिकारीसहित नेता तथा कार्यकर्ता वडा–वडामा केन्द्रित भएका थिए । पार्टीको निर्णयलाई चुनौती दिँदै केन्द्रीय सदस्य पुन अभियानमा एक दिन पनि गएनन् । लुम्बिनीबाट पुनमात्र नभई ५ जना केन्द्रीय सदस्य अभियानमा नगएको बैठकमा रिपोर्टिङ भएको छ ।

जनमुक्ति सेनाका पूर्वडिभिजन कमाण्डरसमेत रहेका उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको स्वकीय सचिव थिए । केन्द्रीय समिति बैठकमा नगएको विषयमा उनले भने, ‘अभियानमा नजाने मान्छे कुन नैतिकताले केन्द्रीय समिति बैठकमा जानु ?’

तपाईँ अभियानमा मात्र नगएको हो कि पार्टी नै छाडेको हो भन्ने प्रश्नमा उनले आफू अभियानमा मात्र नगएको तर पार्टी नछोडेको प्रस्ट पारे । ‘पार्टी छोडेको छैन । अभियानमा नगएको मात्र हो । जिन्दगीभर पार्टीको काम गरेको हो । कहिलेकाहीँ बिदामा पनि बस्नुपर्यो नि ! अरूले जस्तो पार्टी फोरेर प्रचण्डको टाउकोमा बम हानेर पार्टीमा फर्किएको मान्छे  होइन म । पद ओगटेको छैन । म पार्टीमै छु ।  कहिलेकाहीँ बिदा माग्न पाइयो क्यारे’, उनले भने । 

अभियानमा नगएको विषयमा पार्टीले कारबाही गरे आफू भोग्न तयार भएको पुनले बताए । नेताहरूले आफूलाई झोलामात्र बोकाउन खोजेकाले पार्टीमा सक्रिय नभएको उनको भनाइ थियो । 

‘मलाई एक दिन जोखबहादुर महराले रोल्पा बिग्रियो, जा भन्नुभयो । म अर्काको झोला बोक्दिनँ, आफ्नै झोला बोक्न पाए जान्छु भनेँ । उपराष्ट्रपतिको झोला मज्जाले बोकेँ, तपाईंको झोला किन बोक्नु छ र भन्दिएँ’, उनले भने । 

अब जे गरे पनि रोल्पामा आफ्ना लागि ठाउँ नभएको भन्दै अन्य जिल्लामा टुरिष्ट भएर नजाने उनले बताए । आफू युद्धकालमा पनि इमानदार भएर लागेको र अहिले पनि पार्टीभन्दा दायाँबायाँ नभएको उनको जिकिर छ । 

उनले विगतमा टाउको फोरेर लाग्दा त पार्टी नबनेको स्मरण गर्दै अहिलेको अभियानले केही नहुने दाबीसमेत गरे ।

पार्टीमा पदका लागि तँछाडमछाड गरिरहेका बेला एक सिट खाली गर्दा राम्रै होला भनेर ठाउँ छाडेको पुनले बताए । केन्द्रीय समिति बैठकमा इन्चार्जहरूले ७५ प्रतिशतमात्र नेता कार्यकर्ताहरू सक्रिय भएको रिपोर्टिङ गरेका छन् । मंगलबारदेखि तीन दिनसम्म मस्यौदा विधानमाथि छलफल गरी नयाँ विधान अनुमोदन गर्ने बैठकको कार्यसूची छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप