शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका प्रदेश प्रमुखको पारिश्रमिक ६४ हजार, के-के पाउँछन् सेवा सुविधा ?

मङ्गलबार, ०१ फागुन २०८०, ०७ : २६
मङ्गलबार, ०१ फागुन २०८०

सुर्खेत । कर्णाली प्रदेशको प्रदेश प्रमुखका रूपमा अहिले तिलक परियार छन् । उनी ०७८ कार्तिकमा नियुक्त भएका थिए ।  प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ अनुसार उनको मासिक तलब ६४ हजार रहेकाे छ । पारिश्रमिक बाहेक प्रदेश प्रमुखले पाउने सेवा सुविधा भने ०७४ ऐन अनुसार नै छ । 

परियारले प्रति वर्ष १८ हजार रुपैयाँ पोसाक सुविधा पाउँछन् भने प्रति महिना ४० हजार रुपैयाँ अतिथि सत्कार तथा भइपरी खर्च पाउँछन् । दैनिक सुविधामा स्वदेशमा भ्रमण गर्दा दैनिक तीन हजार, विदेशमा गर्दा दैनिक २५० अमेरिकी डलर पाउँछन् भने १५ लाखको बीमा पनि पाउँछन् । विदेश भ्रमणमा युरोपियन मुलुकहरू, अस्ट्रेलिया, न्यूजिल्याण्ड, अमेरिका, क्यानडा, कुवेत, कोरिया, जापान, रुस, कतार, लगायतका देशहरुमा भ्रमणमा जाँदा थप ३३ प्रतिशत रकम दिइने उल्लेख छ भने भारतको चेन्नाइ, हैदरावाद, बैङ्लोर, मुम्बई, दिल्ली, कोलकाता, बंगलादेशको ढाका, चटगाउँ बाहेक अन्य स्थानमा रात बिताउनु पर्दा उल्लेखित दरको ५० प्रतिशत मात्रै रकम दिइने उल्लेख छ । ऐन अनुसार प्रदेश प्रमुखको निजी सचिवालय १२ जनाको हुन्छ । कर्णालीमा १२ जनानै कार्यरत रहेको प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले बताए ।

निजी सचिवालयमा एक जना प्रमुख स्वकीय सचिव, एक जना सहस्वकीय, उपस्वकीय, स्वकीय अधिकृत, फोटोग्राफ अधिकृत, एक कम्प्युटर सहायक, एक प्रशासन सहायक, एक लेखा सहायक रहेका छन् भने कार्यालय सहयोगी र सवारी चालक २-२ जना रहन्छन् ।

यस्तै प्रदेश प्रमुखले चाडपर्वमा आफ्नो एक महिनाको पारिश्रमिक बराबरको सुविधा पनि पाउँछन् । यस्तै एक जना निजी चिकित्सकको पनि व्यवस्था गरिन्छ भने उपचारखर्च सबै सरकारले नै बेहोर्छ ।

यस्तै सवारी साधन, त्यसमा लाग्ने सम्पूर्ण खर्चदेखि इन्धनसम्म सबै सरकारले नै बेहोर्छ । यस्तै सञ्चारको सबै खर्च पनि सरकारले बेहोर्छ भने आवासको लागि राजधानीमै सरकारले नै व्यवस्था गरिदिन्छ ।

संघ सरकारको प्रतिनिधिका रुपमा रहेका प्रदेश प्रमुखहरुको सेवा सुविधा पनि संघ सरकारले नै निर्धारण गर्ने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप