मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

तिम्रो जनयुद्ध र मेरो जनयुद्ध

मङ्गलबार, ०१ फागुन २०८०, १८ : ०१
मङ्गलबार, ०१ फागुन २०८०

म अस्पतालको बेडमा औषधी नपाई छटपटाउँछु
गरिबी, भोक र अभावमा रुँदै दिन कटाउँछु
तिमी माला लगाउँदै, चौरासी व्यञ्जन खाँदै
चिल्ला गाडीमा हात हल्लाएर हिँड्छौ 

त्यसैले लाग्छ, तिम्रो र मेरो जनयुद्ध अलग हो
म एक जोर सर्ट पाइन्टमा पुषमाघको जाडो काट्छु
वैशाख र जेठको गर्मीमा पनि त्यसैले आङ ढाक्छु
तिमी हप्तामै १० जोर कपडा फेर्छौ


टिनका सस्ता छाप्रामा हामी कोठा खोज्दै गर्दा

तिमी महलहरूमा पकवान खाँदै हुन्छौ

टाउको दुख्दा अमेरिका धाउँछौ तिमी 

जबकि ज्यानभित्रका जनयुद्धका छर्रा मलाई दुख्छ


जमिनदारको खेत र घरमा काम गरेर

मलाई जसोतसो पाल्न समर्थ छिन् मेरी जहान

कमरेड हजुरका पत्नी र प्रेमीहरू पार्लर जान्छन्

खानै खानसमेत क्याफे र रिसोर्ट जान्छन्


मेरो जुत्ताको पिँध फुटेका छन् पटपटी

त्यसकै सिर्जना हो यो छटपटी

यसरी हेर्दा तिम्रो चार वर्षे यात्रा 

मेरो जुत्ताले एक याममै तय गर्छ


मलाई गाह्रो भयो एक मुठी सास जोगाउन

तिमीलाई गाह्रो होला कतै सम्पत्ति लुकाउन

तिम्रो जनयुद्ध अर्कै खेतीमा बदलियो 

मेरो जनयुद्धको घाउ निरन्तर बल्झी रह्यो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरविर दमाई
नरविर दमाई
लेखकबाट थप