मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
आत्मीयता

जन्मदिनमा शिक्षकलाई सर्प्राइज उपहार दिन  ‘ग्याङ फाइट’, त्यसपछि बन्यो भावुक माहोल

बुधबार, ०२ फागुन २०८०, २२ : २८
बुधबार, ०२ फागुन २०८०

पोखरा । कक्षा सुरु भैसकेको थिएन । केही विद्यार्थी आएर कक्षामा ग्याङ फाइट भइरहेको खबर शिक्षकलाई सुनाउँछन् । शिक्षक आत्तिँदै कक्षातिर जान्छन् । सबैभन्दा पछाडि केही विद्यार्थीहरू झुम्मिएको देख्छन् । हतार हतार झुम्मिएका विद्यार्थी हटाउँछन् । जब सबैलाई हटाइसक्छन्, एक जना विद्यार्थी उठेर फूलको बुकी उनको हातमा थमाउँछन् । अनि गुन्जिन्छ, ‘ह्याप्पी बर्थडे टू यू ।’ शिक्षक भावुक हुन्छन् र विद्यार्थीलाई अंगालो हाल्न थाल्छन् ।

अहिले यो भिडियो सामाजिक सञ्जालमा भाइरल छ । नेपाल, भारत लगायत विभिन्न देशका सेलिब्रिटीहरुले उक्त भिडियो आफ्नो सञ्जालमा पोस्ट गरेका छन् । भिडियो हो, पोखराको लामाचौर स्थित गण्डकी बोर्डिङ स्कुल, कक्षा १२ को । विद्यार्थीहरूले गत शुक्रवार आफ्नो गुरुको जन्मदिन भव्य रूपमा मनाए । त्यसैलाई खिचे र सञ्जालमा पोस्ट गरिदिए ।

गत शनिवार जन्मदिन भएका फिजिक्स शिक्षक सुजन लम्साललाई शुक्रवार उनीहरूले फरक शैलीबाट जन्मदिनको शुभकामना दिए । तर जन्मदिन मनाउने र भिडियो बनाउनेमा मात्रै यो घटना सकिँदैन । यसमा शिक्षक–विद्यार्थीबिचको गाढा प्रेम छचल्किएको छ । भिडियोपछि धेरैले शिक्षक विद्यार्थीको सम्बन्धबारे खुलेर प्रशंसा गरेका छन् । विद्यार्थीहरूले आफ्नो मन पर्ने गुरुको जन्मदिन विशेष बनाउन पूर्व योजनाका साथ कार्यक्रम गरेको बताए ।

शिक्षककै प्रेरणाले रचनात्मक रूपमा शिक्षकको जन्मदिन मनाएको एक विद्यार्थी समन गुरुङ बताउँछन् । ‘सरले हाम्रो जन्मदिन र अरू विशेष दिनहरू पनि विशेष रूपमा मनाइदिनुहुन्छ । ट्रेन्ड चाहिँ सञ्जालहरूबाट लिएका हौँ । तर ट्रेन्ड फलो गर्नका लागि मात्रै यो इभेन्ट गरेका होइनौँ,’ उनले भने, ‘सुजन सर हाम्रो प्रेरणा हुनुहुन्छ । उहाँको पढाउने तरिका फरक छ । आजका दिनसम्म उहाँसँग हामीलाई कहिल्यै डर लागेन, साथीजस्तो बनेर सिकाउनुभयो ।’

१२ कक्षाको अन्तिम परीक्षा आउन धेरै समय छैन । त्यसैले बढीमा १ महिना मात्रै यो ब्याचका विद्यार्थी त्यहाँ रहन्छन् । त्यसैले पनि आफ्नो विद्यालय जीवनलाई सधैँभरि सम्झनायोग्य बनाउन केही भिडियोहरू बनाइरहेको उनले सुनाए ।

 ‘गण्डकी बोर्डिङ स्कुलमा रहने यो अन्तिम महिना हो । यसअघिका पनि रिलहरू बनाएर पोस्ट गरिरहेका छौँ । पछिसम्मलाई मेमोरी होस् भन्ने हाम्रो सोच हो,’ उनी भन्छन्, ‘तर यो मोमेन्ट त नसोचेको भयो । हामीले यस्तो होला भन्ने सोचेका थिएनौँ ।’

भिडियो बनाउने योजना बुन्दा चाहिँ केही डर महसुस भएको उनले बताए । ‘रिस्क लिएर गरेको हो । कतै गाली गर्नुहुन्छ कि भन्ने डर लागेको थियो,’ उनी भन्छन्, ‘तर उहाँलाई के मन पर्छ भन्ने थाहा थियो । हाम्रो लिमिट पनि थाहा छ । लिमिटमै बसेर सरलाई सर्प्राइज दियौँ ।’ लम्साल विद्यार्थीहरूका प्रिय सर हुन् । ‘फिजिक्स पढाउनुहुन्छ । यो साह्रै गाह्रो विषय हो, तर उहाँले पढाएपछि गाह्रो लाग्दैन,’ समनले थपे, ‘कमजोर र टाठो भनेर कहिल्यै विभेद गर्नुभएन । केही नबुझेको कुरा सोध्न १२ बजे फोन गर्दा पनि उठाउनुहुन्छ र भनिदिनुहुन्छ ।’

शनिवार जन्मदिन भएका उनलाई विद्यार्थीले शुक्रवार नै जन्मदिन मनाउन लागेको पत्तो हुने कुरै भएन । ‘शनिवार जन्मदिन थियो । त्यो इभेन्ट मैले कता सोच्न सक्नु ?,’ उनले भने, ‘मेरा विद्यार्थीहरू गज्जबका छन् । रचनात्मक छन् । एउटा शिक्षकका लागि त्यति सरप्राजफूल गिफ्ट भन्दा ठुलो के हुन्छ र ?’ उनीहरूले भिडियो शुक्रवार नै बनाए पनि सामाजिक सञ्जालमा भने शनिवार पोस्ट गरेका थिए । ‘उनीहरूले झगडा प¥यो भनेर बोलाए । दौडिँदै गएँ । भित्र जाँदा बित्तिकै कसैले कसैलाई पिटेजस्तो देखेँ । केही बच्चालाई तानेँ,’ उनले भने, ‘सबै तानिसकेपछि सम्पन्न (विद्यार्थी सम्पन्न श्रेष्ठ) ले फूल दिए । मैले आँसु रोक्न सकिनँ । इमोसनल भएँ ।’

१२ कक्षामा ३७ जना छन् । सबैले केही न केही रचनात्मक काम गरिरहन्छन् । त्यसको प्रेरणा उनै सुजन हुन् । ‘उनीहरू मलाई प्रेम गर्छन्, म पनि प्रेम गर्छु । कक्षाकोठामा शिक्षकहरूले एकोहोरो दिने मात्रै होइन भन्ने मैले बुझेको छु,’ भन्छन्, ‘मैले धेरै कुराहरू बच्चासँग सिक्छु । म उनीहरूलाई पनि एक्स्प्लोर गर्छु । बच्चाहरू इन्जोय गर्छन् ।’ कोरा किताबी ज्ञानबाट मात्रै विद्यार्थीहरूलाई सिकाउन नसकिने उनको अनुभव छ ।

‘बच्चासँग कसरी डिल गर्ने हो भन्नेमा भर पर्छ । सबैभन्दा पहिला उनीहरूलाई आफ्नै लागि पढिरहेका छौ भन्ने बुझाउनुपर्छ,’ अघि थपे, ‘समय बित्दै जाँदा हामी (शिक्षक) पनि अपडेट हुनुपर्छ । पढाइसँगै सीप सिकाउनुपर्छ ।’ विद्यार्थीलाई शिक्षकसँग डराउने भन्दा साथीको जस्तो व्यवहार गरे छिटो सिक्ने उनले सुनाए । ‘हामी विद्यार्थीले नटेरेपछि लाठी हान्छौँ । टेर्नका लागि थर्काउनु पर्दैन, कुट्नु पर्दैन । सम्झाउनुपर्छ,’ उनले भने, ‘त्रसित हुँदा राम्रो कि काखमा बस्नु राम्रो हो ? शिक्षकको आँखा अगाडी मात्रै डराउने बनाएर विद्यार्थीको भविष्य बन्दैन । बरु ‘ग्याप क्रियट’ हुन्छ ।’ दायराभित्र रहेर मैत्रीपूर्ण वातावरण निर्माण गर्न सके शिक्षण सिकाई राम्रो हुने सुजनले बताए । गण्डकी बोर्डिङ स्कुल २०२३ मा स्थापना भएको हो ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by 12DRams (@class12drams)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप