बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीराम सुगर मिल्स पुनः सञ्चालन गर्न सकिने समितिको निष्कर्ष

शनिबार, ०५ फागुन २०८०, ११ : ४६
शनिबार, ०५ फागुन २०८०

रौतहट ।  गरुडास्थित  श्रीराम सुगर चिनी मिल्स पुनः सञ्चालन हुने भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको चिनी उद्योग तथा उखु किसानहरूका समस्या समाधान र सुझाव उपसमितिले मिलको स्थलगत निरीक्षण गर्दै मिल पुनः सञ्चालन हुने निष्कर्ष निकालेको हो ।

समितिका संयोजक किसान श्रेष्ठ नेतृत्वको टोलीले  श्रीराम सुगर मिल्सको शुक्रबार स्थलगत अनुगमन निरीक्षण गरेको थियो।  निरीक्षण पश्चात संघीय सांसद श्रेष्ठले मिलको सम्पूर्ण उपकरण, साधन स्रोत हुँदा पनि मिल बन्द गर्नु दुःखद भएको बताउँदै पुनः सञ्चालनका लागि प्रतिबद्दता जनाए  ।

७ सयभन्दा बढी मजदुर र कर्मचारीलाई प्रत्यक्ष रोजगारी , २० हजार बढी किसान लाभान्वित हुने  श्रीराम सुगर मिल्स जिल्लाको लागि धरोहर भएको श्रेष्ठको भनाई छ। मिल बन्द हुँदा सयौं मजदुर र कर्मचारीले रोजगारी गुमाउनुपरेको र हजारौ किसानले आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था भएकाले मिल पुनः सञ्चालनको विकल्प नरहेको उनको भनाई छ ।

उनले मिल सञ्चालनका निमित समितिमा ब्यापक छलफल गरी सरकारलाई सुझाव दिने बताए । श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन संघर्ष समितिले  उद्योग सञ्चालन गराउन संसदीय समितिको टोलीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।

अनुगमनका क्रममा टोली संयोजक किसान श्रेष्ठ, उपसमितिका सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुली, पूर्वमन्त्री डाक्टर वंशीधर मिश्र, नेकपा एसकी नेत्री सरला यादव, गरुडा नगरपालिकाका मेयर कन्थमनिप्रसाद जयसवाल, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठ, ससस्त्र प्रहरीका एसपी माधव रेग्मी, एसका नेता रेवन्त झा, समाजवादीका राजकुमार दास, मेयरका प्रत्याशी बृज किशोर यादव, उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव लगायतको सहभागिता रहेको थियो।

तत्कालीन उद्योगी दिवाकर गोल्छाको नेतृत्वमा २०५१ साल पुस २४ गतेदेखि उखु क्रसिङ सुरु गरेको श्रीराम सुगर मिल्स लगातार २० वर्ष सम्म नाफामा रहेको थियो। संस्थापक उद्योगी गोल्छाको निधनपछि उनको छोरा दिवाकर गोल्छाले नेतृत्व लिएपछि मिल घाटामा गएको भन्दै केही वर्षअघि अर्का उद्योगी विशाल अग्रवाललाई मिलमा साझेदार बनाएका थिए ।

वर्षेनी घाटा देखाउँदै आएका उद्योगीले २०७७ साउन ११ गते एउटा सूचना जारी गर्दै श्रीराम सुगर मिल्स सदाका लागि बन्दको घोषणा गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप