मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

भोलेनाथ र मार्क्सवादीहरू

मङ्गलबार, ०८ फागुन २०८०, १३ : ४३
मङ्गलबार, ०८ फागुन २०८०

भोलेनाथ ! 
आजभोलि तिमी पनि हाम्रा मार्क्सवादीजस्तै भएका रहेछौ
हाम्रा ती मार्क्सवादीहरू झुपडीमा बस्दैनन्
सर्वहाराको हितका लागि लड्दैनन्
गरिब देख्यो कि घीन मान्छन्
असहाय भट्यो कि नजिक जान हिच्किचाउँछन्
गाउँतिर जाँदा दिक्क मान्छन्
कोट–पाइन्टसँग टाई नलगाउनेलाई मान्छे मान्दैनन् ।

भोलेनाथ ! साह्रै सुटबुटमा सजिएका आजभोलिका मार्क्सवादीहरू
आजभोलि मलाई अजीव लाग्छन्
गाउँको ढिँडो, फाँडो र मख्खन बिनाका चर्केका रोटीहरू
तल्लाघरे काइँला दाइले खाने फापर, कोदो र जौका मिष्ठान्नहरू
स्वादहीन मानिदिन्छन्
ढिँकी, ओखल र घट्ट पिस्नेलाई जंगली नै मानिदिन्छन्
हो भोलेनाथ ! 
मेरा मार्क्सवादीहरू यस्तै छन् आधुनिक छन्
तिमीजस्तै छन् नक्कली छन् ।

उहिलेको जमानामा भोलेनाथ प्रभु पनि यस्तो हुनुहुन्नथ्यो
हाम्रा मार्क्सवादीहरू पनि यस्ता थिएनन्
विश्व ब्रह्माण्डका पूर्ण कम्युनिस्ट मानिने मेरा भोलेनाथ 
हाम्रा मुलुकका कम्युनिस्ट मानिने तिमी
आज दुवै बदलियौ है
गरिबहरू
सर्वहाराहरू
दीन–दुःखीहरू
प्रकृतिले ठगेका असहायहरू
तिमीहरूका लागि माया, सान्त्वना र संरक्षणका पात्र हुन छाडे है
प्यारो भोलेनाथ ! तिमी पनि यस्तै बन्यौ
मेरा मार्क्सवादीहरू जस्तै ।

भोलेनाथ ! मार्क्सवादीहरू बदलिँदैमा
पल्लागाउँका सर्वहाराहरूको विश्वास बदलिएको छैन
नुनबिनाको मकैको ढिँडो खाएर रात काट्ने तल्ला घरका
काकाको समाजवादको सिद्धान्त मरेको छैन
हो भोलेनाथ !
जसरी तिमीले 
मसानघाटमा बस्न छाड्यौ
हामीले प्रेमले चढाएको बोलपत्र स्वीकार गर्न छाड्यौ
हामीले मागेको प्रेमको भिक्षा दिनै छाड्यौ
हो भोलेनाथ !
आजभोलि सबै बदलिए
तिमी पनि बदलियौ है !

तिमी बदलिँदैमा
मबाट टाढा हुँदैमा
पल्लागाउँका सर्वहारा 
मेरा दाजुको समाजवादप्रति गरेको विश्वासजस्तै
मैले तिमीलाई गरेको प्रेम कम भएको छैन
मैले तिमीलाई गरेको समर्पण कम भएको छैन
मैले तिमीमाथि गरेको विश्वास कम भएको छैन
मैले तिम्रा लागि गरेको भक्ति कम भएको छैन

मेरो प्रिय भोलेनाथ !
मार्क्सवादीहरू बदलिए पनि 
उनी केवल नाशवान थिए
नाश हुने र फर्कने चक्रमा रहेका उनीहरू
जेसुकै गरून् भोलेनाथ
तिमी नबदलिनु
हाम्रो हृदयमा विराजमान भई
हाम्रो प्रेम, समर्पण, भक्ति 
सधैँ स्वीकार गर्नू
हामीलाई चरणमा स्थान दिनू
जगत्को कल्याण गर्नु
मेरो प्यारो भोलेनाथ !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जगदीशप्रशाद जाेशी
जगदीशप्रशाद जाेशी
लेखकबाट थप