शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीका साढे २ लाखभन्दा बढी बालबालिकालाई दादुरा रुवेलाको खोप दिइने

बिहीबार, १० फागुन २०८०, २१ : १९
बिहीबार, १० फागुन २०८०

पोखरा । गण्डकी प्रदेशका २ लाखभन्दा बढी बालबालिकालाई दादुरा र रुवेला विरुद्धको खोप दिइने भएको छ । प्रदेशका सबै जिल्लामा २ लाख ५३ हजार ३६ बालबालिकालाई यसपालिको अभियानमा खोप लगाउने तयारी गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सबैभन्दा बढी नवलपुरका मात्रै १ लाख २२ हजार बालबालिकालाई खोप दिइनेछ । ९ महिना पूरा गरेका र ५ वर्ष उमेर समूहका सबै बालबालिकालाई दादुरा रुबेलाको खोप दिने निमित्त स्वास्थ्य निर्देशक हेमन्त शर्माले जानकारी दिए । नियमित खोप लगाउन छुट भएका ५ वर्षमुनिका बालबालिकालाई छुटेको खोपको मात्रा समेत दिइने उनले बताए  ।

नवलपुरमा भने ९ महिना पूरा भएका र १५ वर्षमुनिका सबै बालबालिकालाई खोप दिने योजना छ । प्रदेशभरि २ हजार ८ सय ८९ खोप सेसन चल्नेछ । त्यतिकै संख्यामा स्वास्थ्यकर्मी खटिनेछन् । ५ हजार ७ सय ७८ स्वास्थ्य स्वयंसेविका परिचालित हुने शर्माले जानकारी दिए । ‘अरु प्रदेशमा ५ वर्ष मुनिका र नवलपुरमा १५ वर्ष मुनिका बालबालिकालाई खोप दिने कार्यक्रम छ,’ उनले भने, ‘कुनै पनि बालबालिकाहरु खोप कार्यक्रमबाट वञ्चित हुन नपरोस् भनेर सजगता अपनाएका छौँ ।’

मनाङ र मुस्ताङमा भने अर्को चरणमा छुट्टै अभियान चल्नेछ । नेपालमा सन् २००४ देखि हरेक ४ वर्षको अन्तरालमा दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुँदै आइरहेको छ । गण्डकीबाटै दादुरा रुवेला घोषणा गरिएको थियो । तर अहिले तनहुँको शुक्लागण्डकीमा यस्ता बिरामी भेटिएका छन् । यो वर्षमात्रै देशभरका १८ जिल्लामा दादुरा रुबेलाको महामहरी फैलिएको थियो । १ हजार ३ सय भन्दा बढी प्रभावित भएका थिए । गण्डकी प्रदेशमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रकोप देखिएको थियो ।

शुक्लागण्डकीका ३ जना दादुरा रुबेलाबाट संक्रमित भएको पालिकाले जनाएको छ । तीनैजना निको भैसकेका छन् । विश्व स्वास्थ्य संगठन गण्डकीका मेडिकल अफिसर डा। रामु शर्माले दादुरा रुबेलाको खोपको अभियान नियमित चलाएपनि १६ प्रतिशत छुटेका बताए । ‘नियमित खोप अभियानमा ८४ प्रतिशतले मात्रै लगाएका छन् । १६ प्रतिशत छुटेका छन्,’ उनले भने, ‘अहिलेको अभियानमा ९५ प्रतिशत पु¥याउने लक्ष्य छ ।’ फागुन १३ गतेदेखि अभियान सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप