सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखको आठबिस नगरपालिकामा कांग्रेसद्वारा तालाबन्दी

आइतबार, १३ फागुन २०८०, २१ : १८
आइतबार, १३ फागुन २०८०

सुर्खेत । पश्चिम दैलेखको आठबिस नगरपालिकामा नेपाली कांग्रेसले तालाबन्दी गरेको छ । आर्थिक वर्ष सुरु भएदेखि पटक–पटक प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइरहने, पालिकामा व्याप्त भ्रष्टाचार लगायतका विभिन्न आरोप र मागहरु राख्दै आइतबार सो पार्टीले नगरपालिकामा  तालाबन्दी गरेको हो ।

यो पालिकामा पटक–पटक प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइरहनाले त्यसको असर प्रत्यक्ष रुपमा काम कारबाहीमा पर्ने गरेको छ । अर्का प्रमुख प्रशासकीय अधिकृत नतोक्दासम्म दिलबहादुर शाहीलाई अहिले त्यसको जिम्मेवारी दिइएको छ ।

तर पनि नगरप्रमुख तर्क बडुवाल एकलौटी रुपमा चल्न थालेको, जनताले पाउने सेवा सुविधातर्फ ध्यान नदिएको, नगरपालिकामा भ्रष्टाचार मौलाएको, सेवाग्राहीलाई सास्ती दिइरहेको लगायतका आरोप कांग्रेसले लगाएको छ । 

यस्तै शिक्षक कर्मचारीलाई तलब नदिइएको, सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको, विद्यालयमा दिवा खाजा कार्यक्रम तथा मसलन्द खर्च व्यवस्थापन नगरिएको आरोप पनि कांग्रेसले लगाएको छ ।  कांग्रेसका नगर सभापति अर्जुनबहादुर शाहीले मागहरु सम्बोधन नगरेसम्म तालाबन्दी कायमै रहने बताए । आइतबार कांग्रेसले तालाबन्दीसहित नगरपालिकामा धर्ना समेत दिएको छ । 

सो नगरपालिकाका प्रमुख र उपप्रमुख नेकपा एमालेबाट निर्वाचिन भएका हुन् । यस्तै सो नगरपलिकामा चारवटा वडा कांग्रेसले जितेको छ भने बाँकी सबै एमालेले जितेको छ । कांग्रेसले विगत देखिनै विभिन्न मागहरु राख्दै आएको तर, नगरप्रमुखले सुनुवाई नै नगरी एकलौटी तरिकाले चल्न खोजेको आरोप उनको छ ।

नगरपालिकामा तालाबन्दी भइरहँदा नगर प्रमुख तर्क बडुवाल भने सुर्खेतमा छन् । नगर उपप्रमुख कल्पना थापाले मागहरु राख्नु स्वभाविक भएको र उक्त मागहरु वार्ताका माध्यमबाट हल गरिने प्रयास भइरहेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप