सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली चलचित्रलाई गैरनेपालीहरुले पनि हेर्ने स्तरको बनाउन आवश्यक : अध्यक्ष तिमिल्सिना

बिहीबार, १७ फागुन २०८०, १८ : २२
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली चलचित्रलाई गैरनेपालीहरुले पनि हेर्ने स्तरको बनाउन आवश्यक रहेको बताएका छन् ।  

बिहीबार ईन्टरनेशनल नेटवर्क अफ नेपालीज फिल्ममेकर्स (आईएनएनएफ) अर्थात नेपाली चलचित्रकर्मीहरुको अन्तर्राष्ट्रिय सञ्जालको प्रथम साधारणसभाको सन्दर्भमा आयोजित ‘सीमानाभन्दा परः नेपाली चलचित्र’ विषयक अन्तरक्रिया तथा चलचित्र स्वर्णिम सम्मान—०८० कार्यक्रमको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली सिने क्षेत्रलाई अब सिमाना पारी पनि बिस्तार गर्न सक्नुपर्ने बताए । उनले सिमाना पारी पुगेका नेपालीहरु समक्ष र गैर नेपालीहरुले हेर्नसक्ने गरी नेपाली चलचित्रको स्तर वृद्धि गर्न जरुरी रहेको बताए । उनले अब नेपाली सिने जगत अरुसँग पनि प्रतिष्पर्धा गर्नसक्ने किसिमले अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले भने, ‘नेपाली सिने क्षेत्रलाई अब सिमाना पारी अहिलेको विज्ञान प्रविधिको कारणले पनि हामीले नयाँ पन लिएर जानुपर्ने होला । बाहिर सिमाना पारी भनेर नेपाली जहाँ जहाँ पुगेका छन्, त्यहाँ मात्रै होइन, गैर नेपालीले पनि हेर्न रुचाउने सिनेमा बनाउनुपर्छ । त्यो स्तरको चाहिन्छ । अब नेपाली सिने जगत अरुसँग पनि प्रतिष्पर्धा गर्नसक्ने किसिमले अघि बढ्नुपर्छ ।’

कार्यक्रममा बोल्दै कलाकार नीर शाहले चलचित्र क्षेत्रको यो अवस्था हुनुमा चलचित्रकर्मीहरु नै दोषी रहेको बताए । उनले निकृष्टताको सीमा नाघ्न तयार हुने तर उत्कृष्टताको सीमा नाघ्न कन्जुस्याँई गर्ने काम चलचित्रकर्मीहरुबाटै भएको दाबी गरे । उनले चलचित्रकर्मीहरुले राम्रो नीति त्यागेर नराम्रा नीतिहरु अवलम्बन गरिरहेको बताए ।

उनले चलचित्रकर्मीहरुले आत्मआलोचना र स्वविश्लेषण गर्न आवश्यक रहेको बताए । कार्यक्रममा नीर शाह, उद्वव पौडेल, भुवन चन्द, मुकुन्द किशोर भट्टराई र नरेन्द्र खड्कालाई सम्मान गरिएको थियो । साथै चलचित्र क्षेत्रमा योगदान दिने रमेश बुढाथोकी, राजकुमार राई, गौरी मल्ल, रवीन्द्र खड्का र करिष्मा मानन्धरलाई सम्मान गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप