बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा सांसदको अनुभव : देश तथा जनताको पक्षमा काम गर्न सकियो

शुक्रबार, १८ फागुन २०८०, १४ : ५२
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदहरुले आफ्नो कार्यकालको अनुभव सुनाउँदै सभाको गरिमा बढाउनका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराए ।

सांसद अनिता देवकोटाले राष्ट्रियसभा विज्ञ र स्थायी सभा भएकाले देश तथा जनताको पक्षमा काम गर्न सकेको धारणा राखिन् । उनले कुन सांसदले कति वटा पुल बनाए ? कति किलोमिटर सडक निर्माण गरे ? भन्ने आधारमा मूल्याङ्कन गर्न नहुने बताइन् । “के कस्ता राम्रा कानुन निर्माण गरे र त्यसमा के कस्तो भूमिका निर्वाह गरे भन्ने आधारमा मूल्याङ्कन गरिनु राम्रो हुन्छ”, उनले भनिन् ।

सांसद भैरवसुन्दर श्रेष्ठले संविधानले प्रदत्त गरेका मौलिक हक कार्यान्वयनमा जान नसकेको तथा आवश्यक कानुन निर्माण हुन नसकेकामा गुनासो गरे । उनले कर्णाली प्रदेशको विकास र समृद्धिको अभियानलाई थप व्यवस्थित बनाउन र यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।

सांसद जीतेन्द्रनारायण देवले संविधान निर्माणका क्रममा राष्ट्रियसभाका सन्दर्भमा उठेको विषयलाई स्मरण गराउँदै पार्टीका शीर्ष नेताहरुको धारणा स्पष्ट हुन नसकेको गुनासो गरे । उनले राष्ट्रियसभाको काम कारबाहीबारे सञ्चारमाध्यमले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै प्रतिनिधिसभाको बैठक चलेका दिन आफूहरुको काम कारबाहीको समाचार कम आउने गरेको बताए ।

सांसद रमेशजङ्ग रायमाझीले राष्ट्रियसभाले सहजरुपमा कानुन निर्माण गरेको, समितिले पनि प्रभावकारी काम गरेको जानकारी दिँदै आफूले सदनमा जनताको पक्षमा नै उभिने प्रयास गरेको बताए । संविधान र सङ्घीय शासन प्रणालीलाई कार्यान्वयन गराउनका लागि आफूले सकेसम्म भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

सांसद रामचन्द्र राईले जनसरोकारका विषयमा आफूले इमान्दार भएर आफ्ना कुरा राखे पनि सरकारको तर्फबाट सम्बोधन हुन नसकेको बताए । 

सांसद बिना पोखरेलले आफ्नो कार्यकालमा देश र जनताको पक्षमा सकेसम्म भूमिका निर्वाह गर्ने प्रयास गरेको बताइन् । 

सांसद डा विमला राई पौड्यालले राष्ट्रियसभालाई सिकाइको एउटा विश्वविद्यालयको संज्ञा दिँदै आफूले धेरै कुरा सिक्न पाएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप