शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पर्साको सखुवा प्रसौनीमा बाघ मृत भेटियो

शनिबार, १९ फागुन २०८०, १४ : १७
शनिबार, १९ फागुन २०८०

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा पाटे बाघ मृत भेटिएको छ । सखुवा प्रसौनी गाउँपालिकाको वडा नम्बर २ रामभौरीस्थित एउटा बाघ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

श्री दिपनारायण आदर्श स्कुलको ३०० मिटर पूर्व खाली खेतमा बाघ मृत भेटिएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जनाए । 

उनका अनुसार आज बिहानको खेतमा बाघ मृत अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । घटनाबारे जानकारी प्राप्त भए लगत्तै प्रहरी चौकी रङ्गपुर टाँडी र इलाका प्रहरी कार्यालय एकटाङ्गको टोली र वन कार्यालयको टोली घटनास्थल पुगेको प्रहरीले बताएको छ ।

‘के कारणले बाघको मृत्यु भएको हो, त्यसबारे आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ’ इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले भनेको छ । 

यसैबिच आज बिहान बाघको आक्रमणबाट पटेर्वा सुगौलीमा एकजना वृद्ध घाइते भएका छन् । पटेर्वा सुगौली २ रङ्गपुर निवासी ६५ वर्षीय रामेश्वर राउत कुर्मी घाइते भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।

बाघको आक्रमणबाट कुर्मीको छाती, घुँडासहित शरीरका विभिन्न भागमा चोट लागेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप