सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरको सिद्धिपुरबाट दुई करोड मूल्य बराबरको बेसार बिक्री

सोमबार, २१ फागुन २०८०, ०७ : ०१
सोमबार, २१ फागुन २०८०

उदयपुर । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् ।  

सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै ५० घर परिवारमध्ये ३० घरले व्यावसायिकरुपमा नै बेसार खेती गर्दै आएका बताए । स्थानीयवासी देवबहादुर मगरले भने, “२०५० सालतिर देखिनै गाउँमा बेसार खेती सुरु भएको हो । २०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रूपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँ नै बेसार खेतीमय भएको छ ।”

 उनका अनुसार अहिले गाउँबाट वार्षिक दुई करोडभन्दा बढीको बेसार बिक्री हुने गरेको छ । अर्का कृषक इन्द्रबहादुर मगरले अनुसार नयाँ आधुनिक प्रजातिको सुगन्धा बेसार उत्पादन हुन थालेपछि खेती र उत्पादनमा वृद्धि भएको छ । उनले एक घरले वार्षिक झण्डै तीन लाखभन्दा माथि बेसार उत्पादन गरेर बिक्री गर्ने गरेको बताए । 

किसान सन्तबहादुर मगरले २०७३ सालदेखि यस क्षेत्रको बेसार मङ्सिर पुस महिनातिरनै विराटनगरका व्यापारीले खरिद गर्न आउने गरेको जानकारी दिए । पछिल्लो समय सिद्धिपुरवासीको आर्थिक आम्दानीको स्रोत नै बेसार भएको चौदण्डी–६ का वडासदस्य देवी मगरले बताए । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार अहिले उदयपुर जिल्लामा ५५९ हेक्टर क्षेत्रफलमा बेसार उत्पादन हुँदै आएको छ ।

केन्द्रका सूचना अधिकारी तथा अधिकृत फूलमाया शेर्पाले सबैभन्दा बढी बेसार उत्पादन पाकेट क्षेत्रको रूपमा सिद्धिपुर क्षेत्र रहेको बताइन् । यसैगरी त्रियुगा नगरपालिकाको साउने, खाँबु, रौतामाई गाउँपालिकाको आँपटार, उदयपुगढी गाउँपालिकाको भलायाडाँडा, डुम्रेसहित कटारी नगरपालिकाको रिस्कु सोमबारे र बेलका नगरपालिकाको मैनामैनी महत्त्वपूर्ण बेसार उत्पादन क्षेत्र रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप