बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

शबनिमले फालेको बलले महिला क्रिकेटमा विश्व कीर्तिमान बनायो

बुधबार, २३ फागुन २०८०, ०९ : ५९
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकी खेलाडी शबनिम ईस्माइलले विश्व कीर्तिमान बनाएकी छन् । उनले महिला क्रिकेटमा सबैभन्दा तीव्र गतिको बलिङ गर्ने कीर्तिमान बनाएकी हुन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार राति खेलिएको खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिचको खेलमा उनले उक्त कीर्तिमान बनाएकी हुन् । उनी मुम्बई इन्डियन्सबाट खेल्छिन् । उनले खेलका क्रममा एक सय ३२.१ किलोमिटर प्रति घण्टाको गतिमा बल फालेकी थिइन् ।

उनले महिला क्रिकेटमा विश्व कीर्तिमानी गतिमा फालेको बल दिल्ली क्यापिटल्सकी कप्तान मेग लानिङको प्याडमा ठोक्किएको थियो । त्यसपछि शबनिमले एलबीडब्लूको अपिल गरेकी थिइन् । तर, अम्पायरले उनको अपिललाई वास्ता गरेनन् ।

लानिङ अस्ट्रेलियन क्रिकेटर हुन् । विश्व महिला क्रिकेटको इतिहासमा कुनै पनि बलरले एक सय ३० किलोमिटर प्रतिघण्टाभन्दा तेज गतिमा बलिङ गरेको यो पहिलो पटक हो । ३५ बर्सिया शबनिमले तेस्रो ओभरको दोस्रो बलमा कीर्तिमानी बलिङ गरेकी हुन् ।

यसअघि पनि उक्त कीर्तिमान शबनिमकै नाममा रहेको थियो । उनले सन् २०१६ मा वेस्ट इन्डिजविरुद्धको खेलमा एक सय २८ किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेकी थिइन् । उनले सन् २०२२ मा सम्पन्न महिला विश्वकपमा पनि दुई पटक एक सय २७ किलोमिटर प्रतिघण्टाको गतिलमा बलिङ गरेकी थिइन् ।

दिल्ली क्यापिटल्सविरुद्धको खेलमा शबनिमले एक विकेट पनि लिएकी थिइन् । यद्यपि, उक्त खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २९ रनले हरायो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप