आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लगातार दोस्रो जितसँगै इलाम र मोरङ फाइनलमा

बुधबार, २३ फागुन २०८०, १७ : ०८
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । इलाम र मोरङ विराटनगरमा जारी ‘तेस्रो इक्वालिटि कप महिला क्रिकेट प्रतियोगिता’ को फाइनलमा पुगेका छन् । प्रतियोगिता नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा आयोजना गरेको हो ।

इलाम र मोरङ लगातार दुई खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका हुन् । विराटनगर–६ स्थित ज्वाला क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा इलामले सिरहालाई चार विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित ग¥यो ।

इलामले आफ्नो पहिलो खेलमा सप्तरीलाई पराजित गरेको थियो । हारपछि सिरहा अन्तिम खेल खेल्नुअघि नै उपाधि होडबाट बाहिरिएको छ । टस जितेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० मध्ये १५ ओभरमै अलआउट हुनुअघि ५३ रनमात्र बनाउन सकेको थियो ।

सिरहाका कुनै पनि ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् । इलामकी यमुना राईले चार विकेट लिइन् । उनी प्लेयर अफ दी म्याच पनि घोषित भइन् । इलामका लागि मुना राई र पुस्मिता मुखियाले पनि दुई–दुई विकेट हात पारे ।

जवाफी ब्याटिङमा ओर्लिएको इलामले १०.१ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । इलामकी प्रियंका राईले सर्वाधिक अविजित २१ रनको योगदान गरिन् । सिरहाकी अपेक्षा यादव र साक्षी यादव तीन–तीन विकेट लिए । 

बुधबार नै खेलिएको दोस्रो खेलमा मोरङले सप्तरीलाई आठ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनायो । आफ्नो पहिलो खेलमा मोरङले सिरहालाई हराएको थियो । हारपछि सप्तरी एक खेलअघि नै उपाधि होडबाट बाहिरिएको छ ।

टस जिेतर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा सात विकेट गमाएर ७३ रन बनाएको थियो । सप्तरीका कुनै पनि ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् । मोरङकी प्लेयर अफ दी म्याच सानु राजवंशीले दुई विकेट लिइन् । कृतिसा धामी र चाँदनी यादवले पनि दुई–दुई विकेट हात पारे । 

जवाफी ब्याटिङ गरेको मोरङले ८.१ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । मोरङका लागि सानु राजवंशीले २५ रन बनाइन् । नमिता श्रेष्ठले पनि अविजित २० रनको योगदान गरिन् । सप्तरीका बलर मीना महतो र अजमेरी खातुनले एक–एक विकेट लिए । बिहीबारको पहिलो खेल मोरङ र इलाम तथा दोस्रो खेल सप्तरी र सिरहाबिच हुने जानकारी प्रतियोगिताका संयोजक विशाल साहले दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप