बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरले पुनः सुरु गर्‍यो स्रोतमै फोहर वर्गीकरण

बिहीबार, २४ फागुन २०८०, १५ : ०६
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा)ले स्रोतमा नै फोहर वर्गीकरणको काम पुनः सुरु गरेको छ । कामपा–१० मा बिहीबारदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो । 

करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाने काम सुरु गरे पनि प्रभावकारी नभएपछि बिहीबारदेखि पुनः सुरु गरेको हो ।  

लामो समयदेखि कामपा वडा नं १० को फोहर सङ्कलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।  

उनका अनुसार स्रोतमा वर्गीकरण गरिएका फोहर सङ्कलन गर्ने सवारीसाधनमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । “स्रोतमा फोहर छुट्याएर कुहिने फोहरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौँ”, प्रमुख श्रेष्ठले जानकारी दिए ।  

कामपाले यस वडामा मात्रै नभई ३२ वटै वडामा क्रमिकरुपमा स्रोतमा नै फोहरको वर्गीकरण र व्यवस्थापनको तयारी गरेको छ । अब चाँडै २९ वडामा उक्त कार्य सुरु गरिने उनको भनाइ छ 

घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं २७ मा माघ २१ देखि थालिएको हो । वडामा घरघरबाट वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै सङ्कलन गर्ने गरिएको छ । कुहिने फोहरलाई टेकु ट्रान्सफर स्टेशनमा ल्याएर जैविक मल बनाउने कार्य कामपाले सुरु गरिसकेको छ ।  

के हो, फोहर वर्गीकरण ?

“भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहर निस्कन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहर आफैँले पनि मल बनाउन सकिन्छ”, विभागका प्रमुख श्रेष्ठले भने । उनका अनुसार मल बनाउन सकिएन भने कामपाको फोहर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ । 

तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहर हुन् । 

त्यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतलहरु, फलामलगायत वस्तु नकुहिने फोहर हुन् । 

यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपिइ), पञ्जा, फुटेका सिसा, घर आँगन बढार्दा आएको धुलो तथा माटो पनि फोहरका रुपमा सङ्कलन हुन्छ । हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहरको मात्रा बढ्दै गएको छ । यस्तो फोहर कुहिने र नकुहिने फोहर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्ने कामपा वातावरण व्यवस्थापन विभागको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप