बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सचिवालय बैठक

एमालेले बोलायो महाधिवेशन प्रतिनिधि परिषद् बैठक

शुक्रबार, २५ फागुन २०८०, ११ : २७
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । प्रमुख सत्ता घटक नेकपा एमालेले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको छ । शुक्रवार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले वैशाख ८ र ९ गतेका लागि महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बोलाएको बताए ।  ‘महाधिवेशन प्रतिनिधि परिषद्को वैशाख ८ र ९ गते बैठक आयोजना गर्ने र वैशाख १० मा पार्टीको ७५ औँ स्थापना दिवसको विशेष समारोह आयोजना गर्ने निर्णय गरेका छौँ ,’ उनले भने ।

बैठकमा मुलुकको सत्ता समीकरणमा आएको परिवर्तनका सन्दर्भमा बैठकमा छलफल भएको महासचिव पोखरेलले बताए । फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससहितको गठबन्धन भत्काएर एमालेसहितको नयाँ गठबन्धन बनाएका छन् ।

‘त्यसलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको छ । मुलुकमा सिर्जना भएको संकटलाई सकारात्मक दिशामा अगाडि बढाउन, जनतामा आशा र विश्वास जगाउन, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले हामीले सकारात्मक योगदान गर्नुपर्दछ भन्ने निष्कर्षमा छ,’ उनी भन्छन् ।

जनताको निराशालाई आशमा बदलेर विकास र समृद्धिका कामलाई तीव्रता दिन नयाँ सहकार्य फलदायी हुने एमालेको भनाइ छ । ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादी सामेल भएर सरकार निर्माण गर्ने प्रक्रियामा अगाडि बढेका छौँ,’ उनले भने, ‘यो नयाँ प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीतिक दलहरूलाई पनि अनुरोध गरेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप