सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवले सुरु गरे जुम्लामा कृषि क्रान्ति : १० हजार स्याउका बिरुवा रोप्दै

शुक्रबार, २५ फागुन २०८०, २० : ०४
शुक्रबार, २५ फागुन २०८०

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले जुम्लामा कृषि क्रान्तिको सुरुवात गरेका छन् । किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाइ आत्मनिर्भर हुने उद्देश्यसहित जुम्लामा स्याउ खेतीको सुरुवात गरिएको विप्लवले बताए ।

हिमा गाउँपालिका–६, हडुल्यास्थित पार्टीका केन्द्रीय सदस्य विर्खबहादुर शाहीको बाँझो जग्गामा उक्त टोलीले बृहत् स्याउ खेती सुरुवात गरेको हो । बिहीबार आफ्नै नेतृत्वमा पार्टीका ५५ जना नेता, कार्यकर्ताको टोलीसहित विप्लव जुम्ला पुगेका थिए ।

विप्लवको नेतृत्वमा उत्तर कर्णाली व्यूरो हुम्ला, मुगु, जुम्ला, अछाम, कालिकोट बाजुरासहितका नेकपा नेता कार्यकर्ताको टोली जुम्ला पुगेको हो ।

नेकपाका नेता भरत बमका अनुसार हडुल्याको २२ हजार वर्गमिटर क्षेत्रफलमा १० हजार स्याउका बिरुवा रोप्ने अभियान सुरु गरिएको छ । पहिलो चरणमा एक हजार पाँच सय स्याउका बिरुवा रोपिने उनले रातोपाटीलाई जानकारी दिए ।

उत्पादन वृद्धि नभइ मुलुक र जनताको समृद्धि सम्भव नहुने कुरामा विश्वास राख्दै विप्लवले कृषि क्रान्तिको यात्रालाई कर्णालीको जुम्लामा पुर्याएको बताए ।

‘उर्बर बाँझो जग्गालाई उपभोग गरिने छ,’ जुम्ला पुगेका विप्लवले भने, ‘यसले किसानहरुमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने छ । उत्पादन वृद्धिबाट मात्रै समाज र राष्ट्रको उन्नति सम्भव छ । त्यसैलाई मध्यनजर गरी उर्वर जुम्लाको बाँझो भूमिलाई उपभोग गर्न र स्याउमार्फत समृद्धि हासिल गर्न खेती गर्न लागिएको हो ।’

तीनै तहका सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकेको बमको ठम्याइ छ । ‘अब सबै पार्टीले गाउँगाउँमा उत्पादन वृद्धिका लागि जाँगर चलाउने अभियान ल्याउन जरुरी छ,’ उनले भने, ‘हाम्रो पार्टी अब उत्पादन वृद्धिका क्षेत्रमा बढी केन्द्रित हुन्छ ।’

नेताहरुमा काम गर्ने, श्रम गर्ने पद्धतिको विकास हुन सकेमात्र जनता उत्साहित हुनाका साथै आत्मनिर्भर खेतीतर्फ उन्मुख हुने बमको बुझाइ छ । उनका अनुसार अन्य ठाउँमा पनि स्याउ खेती गरिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप