शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
मानव तस्करी

भिजिट भिसामार्फत् मानव तस्करीमा एअर अरेबियाको संलग्नता, नक्कली टिकटलाई सक्कली भन्दै दिइन्थ्यो अनुमति

एअर अरेबियाले कर्मचारीमार्फत् नै गरेको थियो तस्करीको सेटिङ
शनिबार, २६ फागुन २०८०, ०९ : ५९
शनिबार, २६ फागुन २०८०

काठमाडाैँ । भिजिट भिसामार्फत् काठमाडौँबाट दुबई हुँदै रसिया लगायतका देशमा हुने मानव तस्करीमा एअर अरेबियाको संलग्नता पाइएको तथ्य खुलेको छ ।

काठमाडौँबाट दुबई हुँदै गत असोज १ गते मानव तस्करको समूहले रसिया पु¥याएका कपिलवस्तुका इमानसिंह सुनार भागेर नेपाल फर्किएपछि मानव तस्करीमा एअर अरेबियाको समेत संलग्नता खुलेको हो । एअर अरेबियाले कस्टमर सर्भिस एजेण्ट भनेर राखिएका व्यक्तिसँग मिलेमतो गरी कम्पनीसमेतको संलग्नतामा मानव तस्करी हुने गरेको खुलेको हो ।

नेपाल सरकारले भिजिट भिसामा बाहिर जानका लागि दुईतर्फी हवाई टिकट अनिवार्य गरेको थियो । तर मानव तस्करको समूहले प्रतिव्यक्ति २० हजार रुपैयाँ एअरलाइन्स र त्यहाँका कर्मचारीलाई दिएर दुईतर्फको नक्कली टिकट बनाइ पठाउने गरेको पाइएको हो । सेटिङमा हुने मानव तस्करीमा अधिकांश नक्कली टिकट एअर अरेबियाबाट काटेको पाइएको र त्यहाँ संस्थागत संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

एअर अरेबियाका कर्मचारीहरु त्रिभुवन विमानस्थलको बोर्डिङ पास दिने स्थानमा बसेर एकतर्फीको सक्कली र अर्कोतर्फीको नक्कली टिकट भए पनि उनीहरुलाई बोर्डिङ पास दिने गरेका थिए । त्यसरी बोर्डिङ पास दिँदा प्रतिव्यक्ति २० हजार रुपैयाँ लिने गरेको समेत पाइएको छ । उक्त रकम विमानस्थलमा काम गर्ने कर्मचारी र एअरलाइन्सकै कर्मचारीले बाँडेर लिने गरेको प्रहरीको दाबी छ ।

यसरी खुल्यो एअर अरेबियाको संलग्नता

भिजिट भिसामार्फत् हुने मानव तस्करी प्रकरणमा एअर अरेबियाको संलग्नता गत कात्तिक महिनाबाट सतहमा आएको हो । कात्तिकमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमनका अधिकृत नरवीर खड्का लगायतका व्यक्तिहरुलाई पक्राउ गरेलगत्तै मानव तस्करीमा एअरलाइन्स कम्पनी र त्यसका कर्मचारीहरु पनि संलग्न रहेको खुलेको थियो । यद्यपि पहिलो चरणमा प्रहरीले दर्ता गरेको सरकारी कागजात किर्तेको कसुरमा एअरलाइन्स कम्पनीको संलग्नताबारे कुनै कुरा उल्लेख गरिएको थिएन । त्यतिबेला ट्राभल एजेन्सीहरुलाई मात्रै प्रतिवादी बनाइए पनि अहिले मानव तस्करी प्रकरणमा एअरलाइन्स कम्पनीहरुको समेत संलग्नता रहेको तथ्य बाहिरिएको हो ।

इमानसिंह सुनारले जिल्ला प्रहरी परिसर काठमाडौँमा आफूलाई तेह्रथुमका शंकर लिम्बुले झुटो आश्वासन देखाइ रसियन सेनामा पठाएको भनेर जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान हुँदा मानव तस्करी प्रकरणमा एअरलाइन्स कम्पनीहरुको पनि संलग्नता खुलेको हो ।

गत असोज १ गते काठमाडौँबाट एअर अरेबियाको उडानमार्फत् दुबई हुँदै रसिया पुगेका इमानसिंह सुनारले आफू मानव तस्करको फन्दामा परी भागेर नेपाल आएको भन्दै प्रहरीमा जाहेरी दिएपछि मानव तस्करी प्रकरणमा एअरलाइन्स कम्पनीको समेत संलग्नताको विषय बाहिर आएको हो ।

इमानसिंह सुनारले जिल्ला प्रहरी परिसर काठमाडौँमा आफूलाई तेह्रथुमका शंकर लिम्बुले झुटो आश्वासन देखाइ रसियन सेनामा पठाएको भनेर जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा अनुसन्धान हुँदा मानव तस्करी प्रकरणमा एअरलाइन्स कम्पनीहरुको पनि संलग्नता खुलेको हो ।

के थियो प्रकरण ?

प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान इमानसिंह सुनुवारको भेट हुन्छ शंकर लिम्बुसँग । लिम्बुले सुनुवारलाई रसिया गएर फ्याक्ट्रीमा काम गरे मासिक ३ लाख रुपैयाँसम्म पाइन्छ भन्छन् । त्यसका लागि कुल करिब ४ लाख रुपैयाँ लाग्ने भनिन्छ । त्यसपछि प्रहरी जवान सुनुवार पनि रसिया जान तयार हुन्छन् । सहमति अनुसार पहिलो चरणमा सुनुवारले शंकर लिम्बुलाई २० हजार रुपैयाँ दिन्छन् । त्यसपछि सुर हुन्छ रसिया जाने प्रक्रिया ।

पहिलो चरणमा २० हजार रुपैयाँ दिएर कागजात निर्माण लगायतको काम हुन्छ । त्यसपछि टिकट काट्न भन्दै १ लाख १० हजार रुपैयाँ लिम्बुले लिन्छन् । त्यसपछि दुबईको भिसाका लागि भन्दै इमानसिंहले शंकर लिम्बुलाई १ लाख रुपैयाँ दिन्छन् । त्यसपछि एअरपोर्ट र अध्यागमनमा मिलाउन भन्दै इमानसिंहसँग १ लाख ४० हजार रुपैयाँ लिइन्छ । यसरी कुल ३ लाख ७० हजार रुपैयाँ इमानसिंहसँग लिइन्छ र रुसको मस्कोमा एक जना मान्छे लिन आउने र उसलाई ४ सय अमेरिकी डलर दिनुपर्ने भनिन्छ ।

सबै प्रक्रिया पूरा गरी २०८० साल असोज १ गते इमानसिंह रसिया पुग्छन् । तर रसियामा भनेकोजस्तो काम थिएन । फ्याक्ट्रीमा काम गर्ने भनिए पनि रसियन सेनामा भर्ना भइ युक्रेनसँग युद्ध लड्ने प्रयोजनका लागि उनलाई लगिएको थियो ।

इमानसिंहले सुरुमै भाग्ने कोशिस गरे पनि रसियन सेनाको क्याम्पभित्र भएका कारण भाग्न पाएनन् । १५ दिनको सैन्य तालिम र हतियारको प्रयोगसम्बन्धी तालिम लिएपछि इमानसिंह युक्रेनमा युद्ध लड्न पुगे । त्यही समयमा युक्रेनी सेनाले गरेको ड्रोन हमलामा उनी घाइते भए । रसियन सेनाले उनलाई उपचारका लागि अस्पताल पु¥यायो । केही समय अस्पतालमा उपचार गरेपछि उनी त्यहाँबाट भागेर मस्को आइपुगे र नेपाली दूतावासमा गएर कागजात तयार पारेपछि नेपाल फर्किए ।

नेपाल फर्किएपछि इमानसिंहले आफूलाई झुटो आश्वासन दिएको भन्दै शंकर लिम्बुविरुद्ध मानव बेचविखनमा उजुरी दिए । सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँले शंकर लिम्बुलाई पक्राउ गर्यो ।

लिम्बुले इमानसिंहलाई रसियासम्म जाने व्यवस्था गरिदिएको तर सेनामा काम नलगाइदिएको दाबी गरे पनि अनुसन्धानका क्रममा शंकर लिम्बु र गोविन्द रिमालको संलग्नता देखिएपछि प्रहरीले गोविन्द रिमाललाई समेत पक्राउ ग¥यो । गोविन्द रिमाल अध्यागमनका कर्मचारीसँग मिलेर मानव तस्करीको सेटिङ गर्ने व्यक्ति भएकाले शंकर लिम्बुले गोविन्द मार्फत् नै तस्करीको काम गर्दै आएका थिए । गोविन्दले अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्का र ट्राभल व्यवसायी रविन घिमिरेसँग मिलेर मानव तस्करी गरेको बयान दिए । सोही बयानको आधारमा रविन घिमिरे पनि पक्राउ परे ।

मुस्ताङ इमिरेट्स ट्राभल एण्ड टुर्सका सञ्चालकसमेत रहेका रविन घिमिरेले पनि आफ्नो बयानमा गोविन्द रिमालसँग आफ्नो चिनजान रहेको, पहिले मुस्ताङ इमिरेट्स ट्राभल्स एण्ड टुर्समा काम गर्ने क्रममा चिनजान भएको र उनले नै सेटिङका लागि भन्ने गरेको बताए । त्यसबापत आफूले टिकट बाहेकको ६१ हजार रुपैयाँ लिएर सेटिङ गरेको बयान उनले दिए । सेटिङका लागि लिएको ६१ हजार रुपैयाँमध्ये अध्यागमन विभागका कर्मचारी राम स्वर्णकारलाई प्रतिव्यक्ति २८ हजार रुपैयाँ दिनुपर्ने, एअर अरेबियाका कर्मचारी जीवन न्यौपानेलाई प्रतिव्यक्ति २० हजार रुपैयाँ दिनुपर्ने उनले बताएका थिए ।

नरवीर खड्का त्यसअगाडि नै पक्राउ परिसकेका व्यक्ति भएकाले उनलाई पनि सोधपुछ गरियो । उनले इमानसिंहको बारेमा अनभिज्ञता प्रकट गरे । तर अनुसन्धानका क्रममा गोविन्द रिमालले नरवीर खड्काको मोबाइलमा इमानसिंहको नाम तथा फोटो पठाएको र नरवीरको बहिनीको बैंक खातामा ५० हजार रुपैयाँ हालिदिएको पाइएको थियो ।

गोविन्द रिमालले आफ्नो मोबाइलमा नरवीर खड्काको नाम Gnsp immi भनी सेभ गरेका थिए । विदेश जाने र सेटिङ गर्नुपर्ने व्यक्तिको नाम त्यही ह्वाट्सएपमा फरवार्ड हुन्थ्यो । गोविन्दले इमानसिंहको फोटो सहितको विवरण पठाएको, आफूसँगै काम गर्ने राजीव चापागाईको नबिल बैंकको खाताबाट नरवीर खड्काको बहिनी भावना खड्काको नाउमा नेपाल बैंक लिमिटेडमा रहेको खाता नम्बर ०९११३००७४४०७२७XXXX१ मा १८ जुलाई २०२३ मा ५० हजार रुपैयाँ ट्रान्सफर समेत गरिएको थियो । यी तथ्य र प्रमाणले नरवीर खड्काको संलग्नता समेत पुष्टि भएको थियो ।

इमानसिंह सुनार जोडिएको मानव तस्करी प्रकरणमा स्पष्टरुपमा नाम जोडिएका दुई जनालाई भने प्रहरीले जोगाएको पाइएको छ । रविन घिमिरेले एअर अरेबियाका सीएसओ अर्थात् कस्टमर सर्भिस एजेण्ट जीवन न्यौपाने र अध्यागमन विभागका शाखा अधिकृत राम स्वर्णकारको नाम मुछेका थिए । यसअघि नै १४–१५ जनालाई पठाइसकेको र यी दुई जनाको सहयोगमा सेटिङ हुने गरेको बताए पनि प्रहरीले भने यी दुई जनाको यकिन नाम र ठेगाना नखुलेको भन्दै प्रतिवादी नै नबनाएको पाइएको छ ।

एअर अरेबियाले यसरी गर्थ्यो मानव तस्करीमा संस्थागत सहयोग

नेपाल सरकारले जारी गरेको एकीकृत निर्देशनमा भिजिट भिसामा जानका लागि निश्चित मापदण्ड तोकिएको थियो । कम्तीमा प्लस टु पास गरेको हुनुपर्ने, वार्षिक कम्तीमा ५ लाखको आम्दानी भई बैंक खातामा कम्तीमा २ लाख ५० हजार रुपैयाँ हुनुपर्ने, कन्फर्म भएको दुईतर्फी हवाई टिकट हुनुपर्ने लगायको व्यवस्था गरेको थियो । युएई लगायतका देशमा उडान हुने एअर अरेबिया बजेट एअरलाइन्स भएको र टिकट क्यान्सिल गर्न नमिल्ने भएपछि एअरलायन्सले यहीँ संस्थागत संलग्नता जनाउँथ्यो ।

सेटिङमार्फत् दुबई पुग्ने अधिकांश व्यक्तिको टिकट एअर अरेबियाबाट काटिन्थ्यो । त्यसका लागि एअरलाइन्स कम्पनीले पहिले नै एअर अरेबियाका कर्मचारीसँग मिलेर एकतर्फी मात्रै टिकट काट्थे तर टिकट भने दुईतर्फीको नै बनाएर दिइन्थ्यो । दुईतर्फीकै टिकट कन्फर्म हो कि होइन भन्ने कुरा सम्बन्धित एअरलायन्स कम्पनीलाई मात्रै थाहा हुन्थ्यो ।

तर सेटिङमै टिकट बिक्री गरी सेटिङमै बोर्डिङ पास दिने गरेकाले एअर अरेबियाले केही कर्मचारीलाई कष्टमर सर्भिस एजेण्ट अर्थात् सीएसओका नाममा विमानस्थलमा जिम्मेवारी दिन्थ्यो । उनीहरुको काम भनेको सेटिङमार्फत् आएका व्यक्तिहरुलाई एकतर्फी मात्रै टिकट काटेको भए पनि दुबई उड्न दिने । एअर अरेबियाले त्यसको मुख्य जिम्मेवारी दिएको थियो जीवन न्यौपानेलाई ।

न्यौपानेले विभिन्न ट्राभल एजेन्सी, दलाल आदिमार्फत् प्रतिव्यक्ति २० हजार रुपैयाँ लिने गर्दथे र नेपाल सरकारको १७ बुँदे निर्देशन विपरीत एकतर्फी मात्रै हवाई टिकट भएकाहरुलाई नक्कली हवाई टिकटको आधारमा दुबई लगायतका सहरमा उड्नका लागि बोर्डिङ पास दिन्थे । जबकि टिकट चेक गर्दा ती व्यक्तिको टिकट एकतर्फी मात्रै हो कि दुईतर्फी पनि हो भन्ने स्पष्ट हुन्छ ।

इमानसिंह सुनारको हकमा पनि यस्तै गरियो । एकतर्फी मात्रै कन्फर्म भएको टिकट दिएर पठाइएको प्रहरीको दाबी छ । यस विषयमा बुझ्नका लागि एअर अरेबियालाई पटकपटक सम्पर्क गर्दा यस विषयमा फोनमा कुरा गर्न नसकिने र भेटका लागि आइतबार मात्रै समय हुने भनेर पन्छिए ।

20240306_143136

ट्राभल एजेन्सीले दिएको अर्को नक्कली टिकट भने यहाँ उपलब्ध हुन सकेको छैन । 

जीवनबारे एअर अरेबियालाई सोधियोे, तर एअरलाइन्सले आरोपितलाई भगाइदियो

भिजिट भिसामार्फत् हुने मानव तस्करी प्रकरणमा एअर अरेबियाको संस्थागत संलग्नता देखिएपछि प्रहरीले सुरुमा एअर अरेबियालाई पत्र लेखेर जीवन न्यौपानेबारे सोधेको थियो । गत पुस १२ गते जिल्ला प्रहरी परिसरले एअर अरेबियालाई पत्र लेख्दै जीवन न्यौपाने त्यहाँको कर्मचारी हो कि होइन, निजको बाबु, बाजे आदिको नाम र ठेगाना तथा सम्पर्क नम्बरसमेत उपलब्ध गराइदिन भनेको थियो । प्रहरीको पत्र एअर अरेबियाले सोही दिन बुझेको थियो ।

20240306_142539

तर एअर अरेबियाले पत्र बुझेको दिन नै जीवन न्यौपाने फरार भए । एअर अरेबियाले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्र पाएको भोलिपल्ट अर्थात् पुस १३ गते नै जवाफ लेखी जीवन न्यौपाने कष्टमर सर्भिस एजेण्ट रहेको भन्दै मोबाइल नम्बरसमेत उपलब्ध गरायो ।

तर जिल्ला प्रहरी परिसर, काठमाडौँले जीवन न्यौपानेलाई प्रतिवादी बनाएन । काठमाडौँ जिल्ला अदालतमा पुस १६ गते मानव बेचबिखनको मुद्दा दर्ता हुँदा पुस १३ गते नै सबै कुरा खुली आए पनि जीवन न्यौपानेको यकिन ठेगाना नखुलेको भनी उनलाई प्रतिवादी नबनाई मुद्दा लगियो ।

प्रहरीले जीवन न्यौपानेलाई मात्रै प्रतिवादी बनाएन, अध्यागमन विभागका शाखा अधिकृत राम स्वर्णकारको पनि यकिन ठेगाना नखुलेको भन्दै मुद्दा दर्ता नै गरेन ।

विभिन्न व्यक्तिहरुको पोल बयानले एअर अरेबियाकै कर्मचारी जीवन न्यौपानेको संलग्नता रहेको भनी खुलाइदिएपछि एअरलाइन्सकै संलग्नतासमेत खुल्ने डरले एअर अरेबियाले नै जीवन न्यौपानेलाई नेपालबाट भगाइदियो । यतिबेला जीवन देशबाहिर छन् । प्रहरीले भने जीवनका सम्बन्धमा थप अनुसन्धान गरेको पाइएको छैन । यद्यपि जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले भने जीवन र राम स्वर्णकारको सम्बन्धमा अनुसन्धान र खोजी भइरहेको बताएका छन् ।

20240306_142249

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप