शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

उत्पादन बढाउने लोभले जथाभाबी बिउको प्रयोग, लोप हुँदै स्थानीय जात

नगरपालिकाले अनुदानमा मकैको बिउ दिँदैन, जहाँ उधारो पाइन्छ, त्यहीँ किन्ने हो : स्थानीय किसान
सोमबार, २८ फागुन २०८०, ०६ : ३०
सोमबार, २८ फागुन २०८०

बारा । जीतपुर सिमरा वडा नं २० की जमुना सापकोटाले यस वर्ष डेढ बिगाहामा ९०८१ जातको मकै लगाएकी छिन् । प्रतिकट्ठा ४ देखि ५ क्विन्टल फल्ने लोभले उनले भारतीय बजार रक्सोलबाट बिउ ल्याएर कार्तिकमा मकै लगाएकी हुन् । 

कृषि प्राविधिकको सिफारिस र सल्लाहबिना भारतीय बजारबाट ल्याएर लगाएको मकैमा अहिले अनेकन् रोग र किरा लागेपछि उनलाई मकै जोगाउनै मुस्किल भएको छ । मकैको पात पहेँलो हुने, बोट ढल्दै जाने, टुप्पोबाट तलतिर पात मर्दै जाने समस्या देखिएपछि पटक–पटक औषधि छर्दा पनि समस्या समाधान नभएको उनको भनाई छ । 

सापकोटाजस्तै जीतपुरसिमरा–२० का अर्का कृषक गोपाल खड्काले यस वर्ष एक/डेढ बिगाहामा मकै खेती गरेका छन् । उनले पनि स्थानीय तहले विगतमा अनुदानमा दिँदै आएको मकैको बिउ यस वर्ष नपाएपछि स्थानीय बजारबाट भारतीय कम्पनीको मकै लगाएका छन् । 

‘नगरपालिकाले अनुदानमा मकैको बिउ दिँदैन, हामीले जहाँ उधारो पाइन्छ, त्यहीँ किन्ने हो,’ खड्काले भने ‘गाउँको पसलमा प्रायः भारतीय मकैका बिउ पाइन्छ । हामीले पनि पसलमा जुन जातको मकै आउँछ त्यही किन्ने गरेको छौँ ।’ 

जीतपुरसिमरा उपमहानगर भित्रका २४ वटा वडामध्ये आधाभन्दा धेरै वडाहरू ग्रामीण भेगमा पर्दछन् । ती वडाका प्रायः कृषकले सीमावर्ती भारतीय बजारमा पुगेर मल र बिउ ल्याउने गर्दछन् । 

makai kheti (4)

कृषकहरूले आफूखुसी भारतीय बजारबाट ल्याएको बिउ माटो सुहाउँदो छ/छैन, मल, पानीको प्रयोग, विषादी कति मात्रामा प्रयोग गर्ने लगायत विषयमा उनीहरूलाई जानकारी हुँदैन । जसका कारण धेरै फल्ने लोभले महँगो मूल्य तिरेर ल्याएको बिउले खेतीको लागतसमेत डुब्ने गर्दछ । 

‘हाइब्रिड जातको मकै धेरै फल्छ भनेर व्यापारीहरूले किसानहरूलाई प्रभावमा पार्छन् । हामीले पनि बढी फल्ने लोभले कृषि प्राविधिकको सल्लाहबिना भारतीय कम्पनीको विकासे जातको मकै किनेर लगाएका हौँ,’ खड्काले भने । अहिले खेतमा घोगा हाल्दै गरेको मकै किसानले कार्तिक दोस्रो/तेस्रो साता लगाएका हुन्, जुन चैत पहिलो साताभित्र भित्र्याउने गरिन्छ । 

makai kheti (3)

जीतपुरसिमरा–१४ का अर्का कृषक यज्ञप्रसाद तिवारीले यस वर्ष ३३५५ जातको मकै लगाएका छन् । गत वर्ष उनले ९०८१ जातको मकै लगाएका थिए । यी दुवै पायोनियर नामक भारतीय कम्पनीका बिउ हुन् । ‘९०८१ जातको मकैले अलिकति पानी र चिसो सहन्थ्यो, तर ३३५५ जातको मकैले चिसो पटक्कै सहन नसक्ने रहेछ । यो जातको मकैमा अलिकति पानी बढी भएपछि मकै ढल्ने, पात पहेँलो हुने र मर्ने रहेछ । हामीलाई पनि पहिले थाहा भएन, अहिले मकै सबै मरेपछि पछुताउनुबाहेक केही छैन,’ तिवारीले भने, ‘गत वर्ष प्रतिकट्ठा ३ क्विन्टलभन्दा बढी मकै फलेको थियो, यो वर्ष ५ क्विन्टल कट्ठाको चक्करमा लागेर बर्बाद भयो ।’

makai kheti (5)

गाउँमा सबैले यही जातको मकै लगाएको देखेर तिवारीले पनि प्राविधिकको सिफारिस बिना ९०८१ जातको मकैको बिउ प्रतिकिलो एक हजार किनेर लगाएका हुन् । मकैमा सुरुमा लगाएको पानी धेरै भएपछि मकै ह्वातै अग्लो हुने र दोस्रो पटक लगाएको पानीले मकै पुरै ढल्ने, सुक्ने, पात पहेँलो हुने समस्या देखिएको तिवारीको भनाई छ । ‘प्राविधिक ल्याएर देखाए पनि  समस्या समाधान भएन,’ उनले भने ।

पछिल्लो समय ग्रामीण भेगका किसानहरूले धेरै उत्पादन लिने लोभले भारतीय कम्पनीका बिउहरू जथाभाबी किनेर लगाउँदा स्थानीय जातहरू लोप हुँदै गएका छन् । विकासे जातको मकै प्रतिकट्ठा ३ देखि ४  क्विन्टल फल्दा स्थानीय जातको मकै प्रतिकट्ठा एक क्विन्टल मात्रै फल्ने स्थानीय कृषकहरूको भनाई छ ।  

तर जीतपुरसिमरा–२० का विष्णु आचार्यले यस वर्ष १ बिगाहामा लगाएको मकै ८० प्रतिशत भन्दा धेरै मरेको छ । ‘डढुवा रोग जस्तो लागेको छ । औषधी छर्दा–छर्दा पात मर्ने, बिस्तारै बोटै मर्ने समस्या देखिएको छ,’ आचार्यले भने, ‘पोहोर साल प्रतिकट्ठा साढे ४ क्विन्टल फलाएको थिएँ । यो वर्ष सोचेको जति कहाँबाट आम्दानी हुनु ? अहिले २ क्विन्टल पनि निस्कन गाह्रो छ । यो पालि घाटा हुन्छ ।’

makai kheti (6)

कृषक आचार्यले मकै खेतीमा प्रतिकट्ठा ३ देखि ४ हजार खर्च लागेको बताउँछन् । उनले यो वर्ष एग्री केयर कम्पनीको ३१५५ जातको र निजीभुजी कम्पनीको १२५५ जातको मकै लगाएका थिए । ‘१ बिगाहा जग्गामा गत वर्ष ७१ क्विन्टल मकै भएको थियो, २ लाख ४७ हजारको बेचेँ । यसपालि लागत निस्कन पनि गाह्रो छ,’ आचार्यले भने, ‘हामीले कृषि प्राविधिकको सल्लाहबिना स्थानीय बजारमा बिउ आफूखुसी किनका थियौँ ।’ आचार्यले कार्त्तिक अन्तिम साता लगाएको मकैमा पुस १५ देखि रोग र किरा देखिन थालेपछि ३ पटकसम्म औषधि छरेका थिए । 

जीतपुर सिमरा उपमहानगरका कृषि प्राविधिक धिरज पौडेलले कृषकहरूमा बिउको छनोटमा सबैभन्दा धेरै समस्या देखिएको बताएका छन् । ‘स्थानीय व्यवसायीहरूलाई फाइदा धेरै हुने र पसलमै ल्याएर दिने भएकोले पनि भारतीय जातका मकैका बिउहरू स्थानीय बजारमा धेरै बिक्री भइरहेका छन् । हाम्रो ‘रामपुर कम्पोजिट’ जातको स्थानीय जातका बिउहरू उत्पादन भइरहेको छ तर प्रचारप्रसार छैन,’ पौडेलले भने, ‘हाम्रो अर्को ठुलो समस्या भनेको यूरिया, डीएपी र पोटासमात्रै प्रयोग गरेर खेती गर्ने प्रचलन छ जसले गर्दा माटोमा सबै प्रकारका पोषक तत्त्व नपुग्दा बाली फस्टाउन नसक्ने र नयाँ नयाँ जातका रोगहरू देखिएका छन् ।’

makai kheti (1)

उपमहानगरभित्र यस वर्ष करिब २ सय हेक्टरमा मकै खेती भएको प्राविधिक खड्काले जानकारी दिए । मकैमा फौजी किराको प्रकोप र ढुसी जातका रोगहरू बढी देखिएको पौडेलको भनाई छ । 

‘यसको नियन्त्रणको लागि हामीले ठाउँ–ठाउँका बाली शिविर सञ्चालन गरेर रोग, किरा नियन्त्रण छिटो होस् र कृषकहरूलाई चिन्न सजिलो होस् भन्नका लागि नमुना विषादी पनि वितरण गरेका छौँ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा हामीले मकैको बिउ वितरण गरेका छैनौँ । कृषकहरूले आफूखुसी किनेर लगाउनुभएको छ ।’

‘सीमावर्ती जिल्लाका कृषकहरूले बालीको छिटो उत्पादन लिने होडले जथाभाबी रासायनिक मल र विषादीहरूको प्रयोग गर्ने गरेका छन् । यसले गर्दा माटोमा अम्लीयपना बढ्दै गएको र रोग किरासँग लड्न सक्ने क्षमता कमजोर हुँदै गएको छ,’ उनले भने ।

यो वर्ष पालिकाभित्र कृषि तथ्याङ्क सङ्कलन गर्न उपमहानगरले कृषि सर्वेक्षण सुरु गरेको छ । सो सर्वेक्षणको नतिजा केही दिनभित्रका आउने उपमहानगरले जनाएको छ । सर्वेक्षणको प्रारम्भिक तथ्याङ्कमा गोबर मल प्रयोग कम भएको माटोमा रोग र किरा बढी देखिएको र माटोको सहन सक्ने क्षमता समेत कम भएको प्राविधिक पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप