सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेलाई सुदृढ बनाउनुको विकल्प छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

सोमबार, २८ फागुन २०८०, २० : ५१
सोमबार, २८ फागुन २०८०

बैतडी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताएका छन् । बैतडीको पाटनमा सोमबार एमाले बैतडीको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्ने उल्लेख गरे ।  

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, “एमालेलाई सुदृढ बनाउनुपर्छ, पार्टीलाई एकताबद्ध भएर लैजानुपर्छ । एमाले जनताको बलमा बाँचेको पार्टी भएकाले राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्छ । यही राष्ट्रिय शक्तिले भोलि राष्ट्रको नेतृत्व गर्नुपर्छ । जनताको स्वार्थसित सम्बन्धित रहेर पार्टी अगाडि बढ्नुपर्छ । पार्टी जनआधारित हुनुपर्छ, जनप्रिय पार्टी बनाउनुपर्छ ।”   

जनताको विश्वासको मत प्राप्त गर्न एमाले ‘मिसन–८४’ मा अघि बढेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले बहुमत ल्याए मात्रै देशमा समृद्धि आउने बताए । “एमालेले बहुमत ल्याएर सुशासन ल्याउनुपर्छ । मिसन–८४ मा अहिलेदेखि लागौँ । नयाँ गठबन्धनले मिसन–८४ लाई सहयोग पुग्छ”, उनले भने ।  

देशमा विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अघिल्लो गठबन्धन एमालेलाई सिध्याउने हिसाबले हिँडेकाले असफल भएको बताए । उनले भने, “अघिल्लो गठबन्धनको सरकारले देशमा सुशासन दिन सकेन, भ्रष्टाचार बढ्यो, युवा पलायन भए, अर्थतन्त्र धराशायी भयो ।” नयाँ गठबन्धनमाथि जनताको ठुलो भरोसा रहेकाले कृषिको आधुनिकीकरण तथा व्यावसायिकताका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए । युवालाई हरेक तहको नेतृत्वमा ल्याउनुपर्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप