बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभामा नयाँ नेतृत्व

को हुन् नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहाल ?

मङ्गलबार, २९ फागुन २०८०, १३ : २९
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका नारायण प्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेका दाहाल मंगलबार अध्यक्षमा निर्वाचित भएका हुन् । 

सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकामा दाहालको पक्षमा ३९ मत र विपक्षमा १७ मत खसेको भन्दै दाहाललाई निर्वाचित भएको घोषणा गरिन् । 

२०१२ साल चैत ६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका दाहाल पुराना वामपन्थी नेता हुन् । उनी बुबा स्व.कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालको पहिलो सन्तान हुन् । २०१९ सालमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका परिवारसँगै दाहालका परिवार चितवनको शिवनगरमा बसाइँ सरी आएका थिए । प्रचण्ड र नारायणका हजुरबा दाजुभाइ हुन् । 

 नारायणी माध्यमिक विद्यालयमा अध्ययन गर्दागर्दै उनी अनेरास्ववियुमा आकर्षित भए । प्रचण्डसँगै दाहाल २०२७ सालमा अनेरास्ववियुमा लागेका थिए । २०३१ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी २०३७ सालमा पूर्णकालीन सदस्य भए । दाहालले २०३६ सालमा भरतपुरस्थित वीरेन्द्र क्याम्पसबाट आइए पास गरेका थिए । यसैगरी उनले भक्तपुरस्थित सानोठिमी क्याम्पसबाट स्नातक गरेका थिए ।  लामो समय प्रवासमा रहेर काम गरेका उनी २०३८ सालमा अखिल भारत एकता समाजको केन्द्रीय महासचिव भए ।

२०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापित भएपछि नेपाल फर्किएका उनी २०५२ सालमा माओवादी जनयुद्धमा सपरिवार होमिएका थिए । दाहाल युद्धकालभर प्रवासमै रहेर राजनीतिमा सक्रिय थिए । दाहालका श्रीमती, जेठा छोरा समिर, कान्छा छोरा दिनेश र छोरी कल्पना पनि युद्धमा होमिएका थिए ।

२०६२ सालमा तत्कालीन संसदवादी सात दल र विद्रोही माओवादीबिच १२ बुँदे सहमति भयो । २०६२/३ सालको दोस्रो जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढल्यो । त्यसपछि बनेको अन्तरिम संसदमा उनी राष्ट्रपतिबाट मनोनित सदस्यका रुपमा सहभागी थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट निर्वाचित भए । २०७० सालमा सोही क्षेत्रबाट टिकट पाए पनि दाहाल पराजित भए । २०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदा उनी प्रशासनिक सल्लाहकारमा नियुक्त भएका थिए ।

दाहालले बागमतीका सचिव, अध्यक्ष र सह–इन्चार्ज भएर पार्टीको काम गरेका छन् । २०७८ मा राष्ट्रियसभा सदस्यमा मनोनीत बनेका उनी २०८४ सम्म अध्यक्षमा कायम रहनेछन् । राष्ट्रिय सभा अध्यक्ष संवैधानिक परिषदको सदस्यसमेत रहने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप