सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जीवन नै एक कला हो– केपी ओली

शुक्रबार, ०२ चैत २०८०, १३ : २६
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जीवन र जीवनमा आवश्यक पर्ने चिजहरूको सुन्दर प्रस्तुति नै कला भएको बताएका छन् । पशुपन्छीभन्दा मानव जीवन भिन्न रहेको र भिन्न तरिकाले जीवन बाँच्नका लागि कला चाहिने ओलीको धारणा थियो ।

सातौँ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को दोस्रो दिन शुक्रबार ‘सिनेमा संवाद शीर्षक’ मा अभिनेता राजेश हमालसँग कुरा गर्दै ओलीले जीवन नै कला भएको बताए । ‘वास्तवमा जीवन भनेकै कला र आर्टसँग सम्बन्धित छ । मानव सभ्यताले प्रगति गर्‍यो भन्नु एक किसिमले कला सिक्यो भन्नु हो’, उनले भने– ‘जीवनको विकासमा सिक्ने कलादेखि बाँच्नका लागि गर्ने सबै क्रियाकलाप कला हो ।’ मानिस जस्तो चेतनशील प्राणीका लागि कलाको एकदमै  महत्त्व रहेको उनको धारणा रहेको छ ।

‘हरेक जीवनसँग कलाको महत्त्व हुन्छ । जीवनसँग, जैविक प्रवृत्ति बाँच्ने प्रवृत्ति, इच्छाबाट कला सुरु हुन्छ’, उनले अगाडि भने, ‘जीवनको इच्छाअनुसार सुरु हुन्छ । त्यसलाई जीवनका सुखहरू, मनोरञ्जन र आनन्दसँग विकास गर्ने कुरोमा सम्बन्धित हुन्छ ।’ उनले कुनै पनि वस्तुलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नु पनि एउटा कला भएको बताए ।

‘मानिस सचेत प्राणी भएकोले कला र साहित्यको विकास गर्‍यो । यो एक अर्कोसँग जोडिएर विभिन्न विधामा आयो’ उनले अगाडि थपे– ‘यो मानव जीवनको विभिन्न पक्षहरूमा सुन्दर प्रस्तुति थियो ।’

कार्यक्रममा अभिनेता हमालले यहाँको जीवनमा कलाले कसरी प्रभाव पारेको छ ? भन्ने प्रश्न समेत गरेका थिए । जवाफमा ओलीले भने, ‘जो मानिस सक्रिय छ भन्छौ नि उसको अर्को पाटो पनि छ । त्यो अचेत भएर निस्किृय पनि हुन्छ । मानव जीवनका विभिन्न पक्षहरू छन् । अवस्था परिस्थिति हुन्छ । विभिन्न मौसम हुन्छ । मानिसले त्यो कसरी झेल्ने भन्ने कला पनि विकास गर्दै लगेको छ । यो गतिशील संसार छ । नहोस् भनेको कुरो हुन्छ यसलाई बुझ्नुपर्छ ।’ 

‘जीवन मृत्यु र कठिनाइसँग हिँडिरहेको हुन्छ । आराम र व्यायाम, जागरण र निन्द्रा, चेतना र अचेतनासंँगै हिँडेको हुन्छ । यसै गरेर जीवनका विभिन्न पक्षहरू मध्य कला एउटा महत्त्वपूर्ण पक्ष हो’, उनी भन्छन् ‘फेरि आधारभूत कुरो हो के हो भने पहिले जीवन चाहियो नि, बाँच्न पर्‍यो ।’ कला नबुझेका जीवहरूले पनि जीवन बाँचेको उल्लेख गर्दै ओलीले मानव जीवन फरक भएको र जीवन अर्थपूर्ण र खुसीयाली ढङ्गले बाँच्नुचाहिँ बचाई भएको धारणा राखे ।

‘मानिस अन्य जीवनभन्दा बाँच्ने कुरोमा पृथक राख्छ । कलाका विभिन्न पक्ष साहित्य, संस्कृति, नृत्य, वाद्यवादन, ताल, लय संगीत आदिको अर्थ हुन्छ’ उनी भन्छन्– ‘बाँच्न मात्र गाइभैंसी बाँचे जसरी मानिस बाच्न सक्छ होला । तर मानव जीवन बाँच्नका लागि कला चाहिन्छ ।’ त्यसले जीवन अन्यभन्दा पृथक ढंगबाट बाच्न सकिने ओलीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप